राप्ती नदी कटानले विस्थापित हुँदै स्थानीय

सोमबार, २० साउन २०७६, १३ : ३३ अर्जुन ओली

नेपालगन्ज– खेतीयोग्य जमिन कटान गर्दै राप्ती नदी बर्सेनि नजिक आइरहँदा बाँके, राप्तीसोनारी–२ कचनापुरका स्थानीय केशवराज पौडेलको परिवार आफ्नो वर्षौ पुरानो थाकथलो छाड्ने मनस्थितिमा पुगेका छन्। राप्ती नदीले गत वर्षदेखि उनको खेतीयोग्य जमिन तीव्ररूपले कटान गर्न थालेको हो। अहिलेसम्म पौडेलको मात्रै चार बिघा जमिन राप्तीले काटिसकेको छ। एक दशकअघिसम्म उनको घरदेखि राप्ती नदी करिब एक किलोमिटर टाढा थियो।

नदीले धार परिवर्तन गर्दै तीव्र कटान सुरु गरेपछि अहिले राप्ती र पौडेलको घर करिब १५ मिटरको दूरीमा छ। ‘नदीले अहिलेसम्म चार बिघा जमिन त काटिसक्यो, अब घर नै लैजाने अवस्था आएको छ,’ उनले नागरिकसँग दुखेसो पोख्दै भने, ‘नदी कटान हेर्न भनी धेरैपटक सांसदहरू आए, सिँचाइमन्त्रीले हवाई निरीक्षण गरे, इन्जिनियरहरू आएर अनुगमन गरे, तर पनि कटान नियन्त्रणका लागि ठोस काम गर्न सकेनन्।’

नदीमा बाढी आउँदा आफूहरू घर छाडेर भाग्नुपर्ने स्थिति आएको पौडेलले बताए। ‘नदीले तीव्ररूपमा कटान गरिरहेको छ। एक/दुईपटक नदी बढेर आउने हो भने हाम्रो घर पनि लैजाने निश्चित छ,’ उनले थपे। राप्ती नदीको जोखिमले वर्षौ पुरानो पैतृक घर छाड्नुपर्ने बाध्यता भएको पौडेलले सुनाए।

नदी नियन्त्रणका लागि दुवैतर्फ पक्की तटबन्ध बनाउन आफूहरूले मन्त्री, सांसद र कर्मचारीलाई बारम्बार सुझाव दिँदा पनि संघीय सरकारले असार महिनामा बजेट पठाएर सिध्याउने काम मात्रै गरेको पीडित किसान बताउँछन्।

कचनापुरकै स्थानीय एवम् पूर्वमन्त्री प्रेमबहादुर भण्डारीको पनि राप्ती नदीले अहिलेसम्म आठ बिघा जति खेतीयोग्य जमिन कटान गरिसकेको छ। ‘हाम्रो यहाँ राप्ती नदीले बिकराल समस्या निम्त्याइ रहेको छ। मेरो मात्रै आठ बिघा खेतीयोग्य जमिन काटेर लगिसक्यो, गाउँका अरु धेरैको जमिन काटेको छ। थुप्रै विस्थापित भइसके। अझै केही परिवार विस्थापित हुने अवस्थामा छन्,’ भण्डारीले भने।

जनताको तटबन्ध कार्यालयले राप्तीपारी बैजापुर क्षेत्रमा तटबन्ध निर्माण गरेपछि दुई वर्षयता नदीले धार परिवर्तन गरी आक्रामकरूपले कचनापुरलाई कटान गरिररहेको भण्डारीको तर्क छ। गतवर्ष पनि नदीले कटान तीव्र पारेपछि विभिन्न निकाय कहाँ धाएको स्मरण गराउँदै उनले भने, ‘तटबन्ध सिक्टा सिँचाइ आयोजनाले गर्ने की जनताको तटबन्ध कार्यालयले गर्ने भन्ने विषयमा छलफल भयो। पछि सिक्टाले नै तटबन्ध निर्माण गर्ने कुरा भयो र सिक्टाले ४२ करोडको टेण्डर आव्हान पनि ग-यो। तर, ठेक्का स्वीकृत गरेर काम गर्नुपर्ने बेला गुरुयोजना पास हुन नसकेको भन्दै जेठ महिनाको अन्तिमतिर टेण्डर रद्ध ग-यो ।’

सिक्टाले टेण्डर रद्ध गरेपछि जनताको तटबन्ध कार्यालयले गत असारमा तटबन्ध निर्माणमा हात हाले पनि राप्तीमा बाढी आउन थालेपछि काम प्रभावित भएको पूर्वमन्त्री भण्डारीले सुनाए। ‘सिक्टाको टेण्डर रद्ध भएपछि एउटा निराशताको अवस्था आयो। नदीले पनि आक्रामकरूपले कटान तीव्र पार्न थाल्यो,’ उनले भने ‘जनताको तटबन्ध कार्यालयलाई फेरि अनुरोध ग-यौं। उसले आपतकालीन राहतको निम्ति अहिले दुई दिनयता बाँसको जाल बुनेर ढुंगा र बालुवा भरिएको बोरा राखेर नदी नियन्त्रणको प्रयास गरिरहेको छ।’

नदीको दुवै किनारमा तटबन्ध गर्नुपर्नेमा एकतर्फीरूपमा पारीतिर गरिँदा धार परिवर्तन गरी नदी वारीतिर आएको उनको बुझाई छ। नदी नियन्त्रणका लागि दुवैतर्फ पक्की तटबन्ध बनाउन आफूहरूले मन्त्री, सांसद र कर्मचारीलाई बाम्बार सुझाव दिँदा पनि संघीय सरकारले असार महिनामा बजेट पठाएर सिध्याउने काम मात्रै गरेको यहाँका पीडित किसान बताउँछन्। सरकारले राप्ती कटान नियन्त्रणका लागि पक्की संरचना निर्माण गर्नुपर्ने र बहुबर्से आयोजना लागू गर्नुपर्ने उनीहरूको सुझाव छ।

राप्ती नदीले कटान तीव्र पारेपछि अहिलेसम्म कचनापुर गाउँका करिब १६ घरपरिवार विस्थापित भइसकेको वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली बताउँछन्। विस्थापित परिवारले स्थानीय सामुदायीक वन क्षेत्रमा आश्रय लिएका छन्। ‘कटान गर्दै राप्ती नदी गाउँ नजिक आएपछि गतवर्ष पाँच घरघरधुरी विस्थापित भएका थिए। यसवर्ष १०÷११ जति परिवार विस्थापित भएका छन्,’ ओलीले भने, ‘जोसँग जग्गाजमिन कम थियो उनीहरू सुकुम्वासी भइसके। धेरै जग्गाजमिन हुने व्यक्तिहरू पनि सुकुम्वासी हुने स्थिति आउँदैछ।’

राप्तीले अहिलेसम्म कचनापुर गाउँमा मात्रै २० बिघा जति जमिन कटान गरिसकेको वडाध्यक्ष ओलीले जानकारी दिए। राप्ती नदीको कटान नियन्त्रणमा राज्यका निकायले पक्षपात गरेको उनको आरोप छ। ‘राप्तीपारीको क्षेत्रमा पुरै तटबन्ध गरिएको छ। नदीवारी हाम्रो वडामा तटबन्ध गरिएन। नदी नियन्त्रणमा पक्षपात गरिँदा आज कचनापुर गाउँ नै नरहने स्थिती आयो।’ नदी नियन्त्रणका लागि संघीय सरकारले दिर्घकालीन योजना बनाउनुपर्ने वडाध्यक्ष ओलीको सुझाव छ।

धार परिवर्तन गरेको राप्तीले वडा नम्बर २ अन्तर्गत पर्ने कचनापुरसहित माथेवास, खोरिया, मदुइ, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, सम्शेरगन्ज, राजपुर, अगैया र गोबारपुर गाउँमा अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन कटान गरिसकेको उनले बताए। सरकारले कटान नियन्त्रणका लागि वडा नम्बर २ को अगैयादेखि राजपुरसम्मको करिब २७/२८ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने वडाध्यक्ष ओलीको भनाइ छ।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad