coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मधेसमा मलको हाहाकार

लहानस्थित साल्ट ट्रेडिङमा डिएपी मलका लागि प्रतीक्षारत किसान। तस्बिरः मिथिलेश यादव/नागरिक

लहान– सिरहा र सप्तरीसँगै मधेसभर रासायनिक मलको अभाव छ। लगातारको वर्षा र डुबान छिचोल्दै जसोतसो धान रोपाइँ गरेका यस भेगका किसान रासायनिक मल अभावले पिरोलिएका छन्।

यस भेगका किसान खेतमा धान रोपाइँ गरेर डिएपी मलका लागि डेढ हप्तादेखि भौतारिँदै छन्। ‘डिएपी मल नहाली धान नै फल्दैन’, सिरहा बन्दिपुरका किसान मुक्तिलाल सिंहले भने, ‘बजार धाउँदा–धाउँदै थाकें तर मल पाइनँ।’ मधेसका किसानका लागि मल र जल सदावहार समस्या हो। मल र जलबिना खेती सम्भव छैन।

असार, साउन र भदौमा मुख्य रुपमा किसानलाई रासायनिक मल आवश्यक पर्छ। त्यही बेला अभाव हुने गरेको छ। ‘कृषि सामग्री लिमिटेडले सहकारीलाई मल दिन्छ। सहकारीले महँगोमा बेच्छ। अहिले त कृषि सहकारी कम्पनी लिमिटेडसँग डिएपी मल नै छैन। जसकारण किसान अत्यधिक पिरोलिएका छन्।

नेपाल सरकारले मल आपूर्ति गर्ने जिम्मा ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ। त्यसमध्ये यस वर्ष लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा ४३ सय बोरा डिएपी मल आएको छ। त्यही मल स्थानीयलाई कर्पोरेसनले वितरण गरिरहेको छ। तर, कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल आए पनि अहिलेसम्म एक बोरा पनि डिएपी मल नआएको कम्पनीका लहान प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए।

जेठ २८ गते मात्र नेपाल सरकारले १ अर्ब ५० करोड रुपैयाँको डिएपी मल किन्न स्वीकृत दिए पनि समय अभावले खरिद सम्भव नभएको चौलागार्इंले बताए। भारतबाट खरिद गरिनुपर्ने मल खरिद नभएका कारण अभाव चुलिएको उनको भनाइ छ।

‘सरकारबाट मलखाद पनि सहज रुपमा उपलब्ध हुँदैन,’ यस भेगका किसानले साझा पीडा पोखे, ‘वारि मलखाद नपाउँदा पारिबाट ल्याउँदा दोहोरो पीडा खेप्नुपर्छ, एसएसबी र एपिएफको।’

केन्द्र सरकार किसानको पीडाप्रति सोचेजस्तो गम्भीर नभएको किसान राजेन्द्र यादव बताउँछन्। ‘प्रदेश सरकारले किसानको पीडामा मलम लगाउला कि भन्ने सोचेको थिएँ तर प्रदेशको मुखिया मधेसी चेहराले पनि मधेसका किसानलाई सहुलियत मिल्ने भरोसा दिन सकेनन्’, उनले भने।

मधेसमा जमिन जोतेर अन्न उत्पादन गर्ने समुदायको पीडालाई सरकारले सम्बोधन गर्न नसक्दा अन्न निर्यात गर्ने मधेस अहिले अन्न किनेर खानुपर्ने अत्यासलाग्दो अवस्थामा पुगेको सिरहा बरियारपट्टीका किसान बिल्टु यादव बताउँछन्। ‘मधेसको भूमिमा अन्न उत्पादन गर्न चाहिने उत्पादन सामग्री जुटाइदिने प्रबन्ध गर्न संघ, प्रदेश र स्थानीय सरकार उदासीन रहेको उनको गुनासो छ।

मागको तुलनामा आपूर्ति न्यून
देशभर रासायनिक मलको माग करिब ८ लाख मेट्रिक टन अनुमान गरिएको छ। तर, प्रत्येक वर्ष तीन लाख मेट्रिक टन रासायनिक मल मात्र खरिद हुने गरेको चौलागाईं बताउँछन्। मागअनुरुप ५ लाख मेट्रिक टन रासायनिक मल अभावका कारण किसान जहिल्यै पिरोलिने गरेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका अनुसार सिरहाका लागि १० हजार मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी मल चाहिन्छ। तर, मागको तुलनामा गत वर्ष ४ हजार मेट्रिक टन मात्र  मल आपूर्ति भयो। जसका कारण यस भेगका किसान मल अभावमा पिरोलिए।

कृषि सामग्री कम्पनी लिमिटेडमा एक सय ८ वटा सहकारी र साल्ट ट्रेडिङमा ४० वटा सहकारीले मलखादको डिलर लिएका छन्।  साल्ट ट्रेडिङले ३२ हजार बोरा डिएपी र युरिया मल बिक्री गरेको प्रमुख जितेन्द्र साहले जानकारी दिए।

साउन अन्तिम साता लागिसके पनि सिरहामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भगीरथ यादवले जनाए। ‘यतिखेरसम्म रोपाइँ सकिसक्नुपथ्र्यो,’ उनले भने, ‘लगातारको वर्षा र डुबानले यस पटक धान रोपाइँ ढिला भएको छ।’ उनका अनुसार रोपाइँ ढिला हुँदा उत्पादन प्रभावित हुन्छ र किसान मर्कामा पर्छन्।

सिरहामा धानखेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा बर्सेनि ७२ हजार ३ सय टन धान उत्पादन हुँदै आएको तथ्यांकमा छ। सिरहाका किसानले स्थानीय जातको बासमती, सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा ११ तथा सावित्री जातका धान लगाउँदै आएका छन्।

प्रकाशित: २० श्रावण २०७६ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App