coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन सडक चार लेन बन्दै

पृथ्वी राजमार्गको तनहुँस्थित कोत्रे खण्ड। राजमार्गको यो खण्ड अझै पनि जीर्ण छ। फाइल तस्बिर : नागरिक

पोखरा – पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ। पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो।

पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ। पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए। उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन्। तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए। ती पुल कमजोर बन्दै गएका छन्। विजयपुरको पुल कमजोर भएर १० टनभन्दा बढी भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा यो राजमार्ग विस्तार हुनेछ। ‘एडिबीसँग ऋण सम्झौताको तयारी भएको छ, छिट्टै सम्झौता भएर ठेक्का प्रक्रिया अघि बढ्नेछ,’ सापकोटाले भने, ‘टेन्डरमा जानुअघिको धेरै प्रक्रिया पूरा भइसकेको छ।’ उनका अनुसार यो सडक विस्तार गर्दा करिब २५ अर्ब रुपैयाँ लाग्नेछ। त्यसमा २० प्रतिशत नेपाल सरकारको म्याचिङ फन्ड रहने उनले बताए।

‘पाँच वर्षभित्र सक्ने योजनासहित सडक विस्तारको तयारी भएको हो,’ सापकोटाले भने। यसअघि चीन सरकारको सहयोगमा बनेको यो राजमार्गको पोखरा–मुग्लिन ९० किलोमिटर खण्ड जीर्ण बन्दै गए पनि टालटुलमै सीमित थियो। सवारी चाप बढेसँगै साँघुरो बन्दै गएको राजमार्ग सञ्चालनमा आएदेखि बृहत्रूपमा विस्तार र मर्मतसम्भार भएको छैन। सडक जीर्ण बन्दा अहिले पोखरा–मुग्लिन दुरी पार गर्न ४–५ घन्टा लाग्छ। सडक विस्तारपछि यो दुरी पार गर्न दुई घन्टा लाग्ने प्राविधिकहरू बताउँछन्।

सापकोटाका अनुसार पहिलो चरणमा पोखरा–आँबुखैरेनी खण्ड विस्तार हुनेछ। आँबुखैरेनी–मुग्लिन दोस्रो चरणमा विस्तार हुने उनले बताए। मस्र्याङदी नदी किनारैकिनार सडक रहेको र त्यही खण्डमा मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह पनि रहेकोले दोस्रो खण्ड केही ढिला गरी विस्तार हुने उनले बताए। विद्युत्गृहलाई असर नपर्ने गरी मस्र्याङ्दीको पारिपट्टि (हाल वारि) बाट सडक विस्तार गर्ने योजना रहेको छ।

पहिलो चरणमा पोखरा–आँबुखैरेनी खण्ड विस्तार हुनेछ। आँबुखैरेनी–मुग्लिन खण्ड भने दोस्रो चरणमा विस्तार गरिनेछ।

चार लेनको यो सडक दुवैतर्फ सात मिटर फराकिलो हुनेछ। एउटा लेन साढे तीन मिटरका दरले फराकिलो हुनेछ। बस्ती भएको ठाउँमा भने सडक ६ लेनको बन्नेछ। त्यसबाहेक सडकमा दुईवटा सर्भिस लेन हुनेछन्। एडिबीले सहुलियत दरमा ऋण दिने भए पनि त्यसको ब्याजदर भने अझै निश्चित भइसकेको छैन। ऋण सम्झौता हुने तयारी भएकाले ब्याजदर पनि यकिन हुने उपमहाननिर्देशक सापकोटाले बताए।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेकाले यो राजमार्ग तत्काल विस्तार जरुरी रहेको उनले बताए। ‘विमानस्थलसँँगै राजमार्ग पनि फराकिलो हुँदा पोखरासम्मको आउजाउ सहज हुनेछ,’ उनले भने। अहिले यो राजमार्गमा सबैभन्दा बढी सास्ती तनुहँ र कास्की सिमाना कोत्रे खण्डमा छ। त्यसबाहेक कोत्रे–पोखरा खण्ड पनि समथर छैन। कोत्रेदेखि दुलेगौंडा खण्डको यात्रा निकै नै कष्टकर हुन्छ। 

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले मादी (तनहुँ), विजयपुर र सेती (पृथ्वीचोक)को पुललाई बाँकी राखेर सडकको मात्र टेन्डर निकाल्ने तयारी भएको बताए। पुल र राजमार्ग एकै कम्पनीलाई ठेक्का दिँदा काममा ढिलासुस्ती हुने भएकाले छुट्टाछुट्टै ठेकेदारमार्फत निमार्ण गराउने योजना रहेको उनले सुनाए। ‘तीनवटा ठूला पुललाई एउटा र बाँकी सडकलाई अर्काे गरी दुई प्याकेजमा बाँडेर ठेक्का दिने छलफल भएको हो,’ उनले भने, ‘टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढेको छ।’

राजमार्गमा पर्ने मादी र सेतीमाथिका पुलको लागत निकै नै बढी छ। राजमार्ग विस्तारबारे अध्ययन भइरहँदा विजयपुरमा ठूलो आकारको नयाँ पुल बनाउने योजना थिएन। अहिले विजयपुरको पुल कमजोर भएकाले त्यहाँ पनि नयाँ र फराकिलो पुल आवश्यक रहेको उनले बताए। राजमार्ग विस्तारको क्रममा मुआब्जा दिनुपर्ने अवस्था छैन। यसअघि नै राजमार्गको मापदण्डअनुसार जग्गा अधिग्रहण गरेकाले मुआब्जा आवश्यक नभए पनि सडक क्षेत्रभित्र बनेका संरचना भने हटाउनुपर्ने पोखरेलले बताए। यो राजमार्गमा साना–ठूला गरी झण्डै ४० वटा पुल बनाउनुपर्ने विभागको भनाइ छ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौंसहित पूर्वी तराईसँग जोड्ने मूल सडक यही हो। पृथ्वी राजमार्गमा पर्ने यो खण्ड हुँदै दैनिक करिब ६ हजार ठूला–साना सवारी आउजाउ हुने ट्राफिक प्रहरीको अनुमान छ। गण्डकी अञ्चलका कास्की र स्याङ्जासहित धैलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने मूल सडक यही हो। धौलागिरिका अन्य जिल्लाका लागि ढुवानी हुने निर्माण सामग्री र खाद्यान्न पनि यही नाका हुँदै भित्रिन्छ।

प्रकाशित: २० श्रावण २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App