१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत

काठमाडौं – संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ।

९०० मेगावाट क्षमताको सो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ। आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी स्थापना गरिएको छ।

सोही कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी आयोजनाको भौतिक प्रगतिका बारेमा जानकारी गराएका हुन्।

मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण–३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकारले आवश्यक सहजीकरण गरिदिने बताए।

‘सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौं। तपाईहरुले समयसीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ,’ मन्त्री पुनले भने।

प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण–तेस्रो जलविद्युत् परियोजना समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनतालेसमेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए। उनले सुरुङ निर्माणमा १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए। भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्था लगायतका बारेमा चासो राखेको उनको सचिवालयले जनाएको छ।

जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीका बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे। उनले नेपालमा पछिल्लो समय लगानीको राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीका लागि इच्छुक रहेको बताए। 

सो आयोजनाबाट उत्पादित बिजुलीको २१.९ प्रतिशत नेपाललाई निःशुल्क उपलब्ध गराउने सहमति छ। सो आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा गरेका थिए। आयोजनाले उत्पादन थालेको २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनेछ।रासस

प्रकाशित: २० श्रावण २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App