८ वैशाख २०८१ शनिबार
समाज

एकीकरण पदयात्रा मार्ग बनाइँदै

काठमाडौं - सरकारले नेपाल एकीकरण गर्दा प्रयोग भएका किल्ला, गढी, दरबारलाई समेटेर एकीकरण पदयात्रा मार्ग बनाउने भएको छ।  रक्षा मन्त्रालयले नेपाल एकीकरण भएका बेला कुन–कुन मार्ग, कुन किल्ला र गढी प्रयोग भएका थिए तिनको ऐतिहासिक संरक्षण गर्नका ती पदमार्ग पहिचान गर्ने जिम्मेवारी नेपाली सेनालाई दिँदै एकीकरण पदयात्रा (युनिफिकेसन ट्रेल) मार्ग बनाउने भएको हो।

पदयात्रा मार्ग विकास गर्न यसका लागि रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता पनि गरिसकेका छन्।  मन्त्रालयले यसै वर्षभित्र सो पदयात्रा मार्ग बनाउने लक्ष्य लिएको छ।  रक्षा मन्त्रालयका सहप्रवक्ता मनोज आचार्यका अनुसार पूर्व मेचीदेखि महाकालीसम्म नेपाल एकीकरण कसरी कुन बाटोबाट भएको हो त्यसको जानकारी राख्ने र त्यो बाटो चीरकालसम्म स्थायी संरक्षण गर्ने उद्देश्यले एकीकरण पदयात्रा मार्ग बनाउन लागिएको बताए।  उनका अनुसार यो कार्यका लागि पहिलो चौमासिकमा स्थान पहिचान गर्ने र दोस्रो चौमासिकदेखि कार्यान्वयनमा जानेछ। 

‘अहिले यसको प्रस्ताव बनाउन र स्थान पहिचान गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ,’ सहप्रवक्ता आचार्यले बताए।  उनका अनुसार सिन्धुली गढी, जीतगढी, जीतपुर गढी, मकवानपुर गढी, पाल्पा दरबार, गोरखा दरबार, नुवाकोट दरबारजस्ता ऐतिहासिक महत्वका क्षेत्रमा पदमार्ग तय गरिनेछ। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि विज्ञानदेव पाण्डेले पनि नेपाली सेनाले त्यसको अध्ययन अनुसन्धानका लागि एउटा टास्कफोर्स नै बनाएर काम सुरु गरेको बताए।  उनले स्थान पहिचान गर्ने कार्य सेनाले गरिरहेको जानकारी दिँदै नेपाली सेनासँग सम्बन्धित कार्य भएकाले यसलाई द्रुत गतिमा काम अघि बढिरहेको बताए।  ‘एकीकरण मार्गको चाहाना, राष्ट्रिय एकताको भावना’ नाम दिएर कार्ययोजना अघि बढिरहेको पनि उनको भनाई छ। 

‘मूख्य लडाईको जिम्मा कस्ले लिएका थिए कहाँबाट सुरु गरेका थिए, को को कमाण्डर थिए, अंग्रेजसँगको लडाईंका कुन–कुन किल्लामा नेपाली फौज थियो त्यसको संरक्षण हालको अवस्थामा जरुरी देखिएको त्यही संरक्षणको दायित्वलाई ध्यान राखेर यो पदयात्रा मार्ग बनाउन लागिएको हो,’ सहायक रथि पाण्डेले भने ‘यस्ता विषयहरु समेटिएको पदयात्रामार्ग इतिहासको संरक्षण र पुर्नजागरण हुन एउटा महत्वपूर्ण अवसर पनि हो। ’ उनका अनुसार यो पदयात्रा मार्ग बनाउँदै गर्दा सरकारले शैक्षिक भ्रमण, हाइकिङ, म्यराथुन दौड, लामो ट्रेकिङ पनि गर्न सकिनेछ।  यसअघि पनि सेनाले ऐतिहासिक स्थान पहिचान गरी पदमार्ग निर्माण गर्दै आएको थियो। 

यस पटक भने रक्षा मन्त्रालयबाटै कार्यक्रम स्वीकृत गराएर पदयात्रा मार्ग निर्माण थालिएको हो।  ‘ऐतिहासिक पदयात्रा मार्ग निर्माणको विषय नेपाली सेनाको इहिाससँग जोडिएकाले यसको संयोजको जिम्मा पनि सेनाले पाएको हो,’ सहायक रथि पाण्डेले भने।  नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्नेगरी कार्य आरम्भ हुने पनि उनको भनाइ छ।  सरकारले भ्रमण वर्ष मनाइरहँदा नेपाल एकीकरण भएको बेला प्रयोग गरिएका ऐतिहासिक स्थानहरु समेत देखाउन सके त्यसको महत्व र प्रचार प्रसार समेत हुने भएकाले यो कार्यक्रम यसै वर्ष टुंगिने पनि उनको दाबी छ।

सिन्धुलीको हरिहरपुर गढी र सिन्धुली गढी जोड्ने गरी स्थानीय संघ संस्थाहरुसँग मिलेर पदयात्रा मार्ग निर्माण कार्य नेपाली सेनाले सुरु गरिसकेको छ।  नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पद मार्गले जोड्ने योजनाअनुसार हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग स्थानीय संस्थासँगको सहकार्यमा निर्माण सुरु गरेको हो । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घण्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट सिन्धुली हरिहरपुर गढी पदयात्रा मार्ग निर्माण कार्य सुरु भइसकेको छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App