८ वैशाख २०८१ शनिबार
अर्थ

निगमले ६१ अर्ब राजस्व बुझायो

काठमाडौं – नेपाल आयल निगमले भारतबाट इन्धन खरिद गरेर बिक्री गर्दा सरकारलाई गत वर्ष विभिन्न शीर्षकबाट करिब साढे ६१ अर्ब रुपैयाँ राजस्व बुझाएको छ।

पेट्रोलियम पदार्थको कारोबारबाट आर्थिक वर्ष ०७५/७६ मा ६१ अर्ब ६१ करोड ४८ लाख ७३ हजार रुपैयाँ सरकारी खातामा राजस्व जम्मा गरेको निगमले जनाएको छ।

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गरेर ल्याएपछि नेपाल भित्रिँदा भन्सार कार्यालयसहित विभिन्न शीर्षकमा तिर्नुपर्नेदेखि विभिन्न कर तथा शुल्कबापत वर्षभरीमा उक्त रकम बुझाएको हो।

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास आयात गर्दा सरकारले विभिन्न शीर्षकमा कर तथा शुल्क निर्धारण गरे बमोजिम निगमले तिर्दै आएको छ।

इन्धन आयात तथा कारोबार गर्दा भन्सार शुल्क, भन्सार सेवा शुल्क, सडक मर्मत कर, वातावरण प्रदूषण कर, बुढीगण्डकी जलविद्युत् परियोजनालाई पूर्वाधार कर, आय कर र मूल्य अभिवृद्धि करबापत ६१ अर्ब ६१ करोड ४८ लाख ७३ हजार रुपैयाँ सरकारका खाता जम्मा गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए। शाहका अनुसार आव ०७४/७५ को तुलनामा करिब साढे ६ अर्ब रुपैयाँ धेरै राजस्व निगमले सरकारलाई बुझाएको छ।

आर्थिक अघिल्लो आवमा ५५ अर्ब ८४ लाख रुपैयाँ राजस्व बुझाएको थियो। पछिल्लो चार वर्षको अवधिमा निगमले सरकारलाई बुझाउने राजस्व ह्वात्तै बढेको छ। आव ०७२/७३ मा इन्धन कारोबारमा २१ अर्ब ८५ करोड रुपैयाँ बुझाएको थियो।

निगमले गत वर्ष भन्सार शुल्कबापत १३ अर्ब अर्ब तीन करोड रुपैयाँ, सडक मर्मत शुल्क  पाँच अर्ब ४९ करोड, वातावरण प्रदूषण शुल्क एक अर्ब १० करोड, बुढीगण्डकीलाई पूर्वाधार कर ११ अर्ब ९९ करोड, आयकर तीन अर्ब, मूल्य अभिवृद्धि कर २६ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ बुझाएको छ।

खरिद मूल्य कम भए पनि सरकारले लिएका विभिन्न शीर्षकको करसहित निगमले मूल्य स्थिरीकरण कोष, ढुवानी भाडा, बिमा खर्च, निगमको प्रशासनिक र बिक्री खर्च, प्राविधिक नोक्सानी, निगमको पूर्वाधार विकासका लागि थप रकम लिएर उपभोक्तालाई बिक्री गर्ने गरेको छ।

निगमले गत आवमा एक खर्ब ९३ अर्ब ३३ करोड रुपैयाँको इन्धन भारतबाट ल्याएर बिक्री गरेको छ। २८ लाख ५० हजार सात सय ७१ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ। अघिल्लो आवमा एक खर्ब ५४ अर्ब रुपैयाँ बराबरको २६ लाख ६१ हजार नौ सय ८५ किलोलिटर इन्धन आयात भएको थियो। १६ लाख ६४ हजार ३८ किलोलिटर डिजेल, पाँच लाख ४२ हजार दुई सय ९९ पेट्रोल, एक लाख ९३ हजार दुई सय ५९ किलोलिटर हवाई इन्धन, २३ हजार आठ सय ३४ किलोलिटर मट्टीतेल र चार लाख २७ हजार तीन सय ४० मेट्रिक टन खाना पकाउने एलपी ग्यासको आयात भएको छ।

निगमका अनुसार मासिक पेट्रोल ४५ हजार एक सय ९१ किलोलिटर, एक लाख ३८ हजार ६ सय ६९ किलोलिटर  डिजेल, एक हजार नौ सय ८६ किलोलिटर मट्टीतेल र १६ हजार एक सय ४ किलोलिटर हवाई इन्धन आयात हुने गरेको छ। यस्तै, ३५ हजार ६ सय ११ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। हरेक वर्ष इन्धनको खपत वृद्धि हुँदै गएको छ। निगमका अनुसार गत वर्ष पेट्रोलको खपत १७ प्रतिशत, डिजेल सात प्रतिशत, हवाइ इन्धनको खपत तीन प्रतिशतले बढेको छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App