coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोमा बेपत्ता दुईजना अझै भेटिएनन्

दोलखा – गौरीशंकर गाउँपालिकाको जुँगुमा गएको पहिरोमा परी बेपत्ता भएका दुईजना आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्।  शुक्रबार मध्यरातमा गएको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन्।  बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का छन्।  उनीहरूको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल बताएका छन्।

खत्री र खड्काको खोजीका लागि नेपाली सेनाको तारादल गण चरिकोट ब्यारेकका गणपति निखिल कुँवरको कमान्डमा टोली खटिएको प्रजिअ रिजालको भनाइ छ।  सो टोलीले दुई दिनदेखि खोजीकार्य जारी राखेको बताइएको छ।  ‘सेनाको टोलीले प्रहरी र स्थानीयको सहयोगमा दुईवटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउँदै निरन्तर खोजी जारी राखेको छ,’ प्रजिअ रिजालले भने, ‘आइतबार दिनभरि पनि उनीहरू भेटिएनन्, खोजी कार्य जारी राखिनेछ। ’

जुँगु गाउँस्थित च्वाँसेघारीको भीरबाट खसेको पहिरोका कारण ८० घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  प्रजिअ रिजालका अनुसार विस्थापित १ सय ८७ जनालाई स्थानीय नीलकण्ठेश्वर मावि, जनउपकार सहकारी र यार्सा प्राविको भवनमा व्यवस्थापन गरिएको छ।  ‘१ सय ५ जनालाई नीलकण्ठेश्वर, ४७ जनालाई जनउपकार र ३५ जनालाई यार्साका भवनमा राखिएको छ,’ उनले भने।  पीडितहरूलाई शनिबार वैत्येश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाले खाद्यान्न व्यवस्थापन गरेका छन् भने आइतबार जिरी नगरपालिकाले ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न पठाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App