coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु–१८ को प्रशिक्षण प्रारम्भ

काठमाडौं – असोज दोस्रो साता नेपालमा आयोजना हुने साफ यु–१८ प्रतियोगिताका लागि नेपाली युवा टोलीले आइतबारबाट तयारी थालेको छ। ललितपुरस्थित जावलाखेल युथ क्लबको मैदानमा प्रशिक्षक चेतनारायण श्रेष्ठले ४६ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्। असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका लागि पहिलो दिन ३० खेलाडी उपस्थित थिए भने बाँकी खेलाडी सहभागिता जनाउन काठमाडौं आउँदै गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। अघिल्लो साता एन्फा मुख्यालयमा सम्पन्न पाँचौं संस्करणको ललित मेमोरियल यु–१८ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रशिक्षक श्रेष्ठले ४६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा समावेश गराएका हुन्। युवा टोलीले मैदान अभावका कारण जावलाखेल युथ क्लबको मैदानमा अभ्यास थालेको हो।

दक्षिण एसियाका सात टोलीले सहभागिता जनाउने प्रतियोगिताका खेल स्वयम्भूस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा तय भए पनि निश्चित हुन बाँकी छ। सहभागिता जनाउने सबै टोलीको टुङ्गो एक सातापछि लाग्ने प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले जानकारी दिए।  तेस्रो संस्करणको रूपमा आयोजना हुने लागेको प्रतियोगितामा नेपाल अघिल्ला दुई संस्करणको उपाधि विजेता हो। पहिलो पटक सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको संस्करणमा नेपालले भारतलाई पराजित गर्दै पहिलो उपाधि उचालेको थियो भने भुटानमा भएको दोस्रो संस्कणमा पनि भारतलाई नै पराजित गर्दै नेपालले दोस्रो पटक उपाधिमा बाजी मार्न सफल भएको थियो।

पहिलो संस्करणमा नेपालले भारतलाई टाइब्रेकमा ५–४ ले हराउँदै उपाधि उचालेको थियो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि छिनोफानोका टाइब्रेकमा लगिएको खेलमा नेपालले बाजी मारेको थियो। दोस्रो संस्करण भुटानमा आयोजना हुँदा फाइलनमा भारतलाई २–० ले पराजित गर्दै दोस्रो उपाधि उचाल्न सफल भएको थियो। तेस्रो संस्करणको रूपमा दोस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा पनि जित निकाल्दै आयोजक नेपाल उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ। दुई महिनापछि आयोजना हुने लागेको प्रतियोगितामा उपाधि ह्याट्रिक गर्ने लक्ष्यका साथ नेपालले तयारी थालेको टोलीका प्रशिक्षक  श्रेष्ठले बताए। ‘अघिल्ला संस्करणका हामी विजेता हौं। राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि उचाली ह्याट्रिक गर्ने लक्ष्य छ। त्यसैले हामीले अभ्यास थालेका हौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘सुरुआतमा ४६ खेलाडीलाई यु–१८ ललित मेमोरियल प्रतियोगितामा प्रदर्शनलाई आधार मानेर प्रारम्भिक चरणमा बोलाएका छौं। १० देखि १२ दिनको प्रशिक्षणपछि ३० खेलाडी छनोट गर्नेछौं। त्यसको दुई हप्तापछि अन्तिम २३ को नाम सार्वजनिक गर्नेछौं।’

एन्फाको मैदानमा दोस्रो चरणको विश्वकप छनोट र साग टोली प्रशिक्षणरत रहेकाले युवा टोलीको प्रशिक्षण जावलाखेलस्थित जावलाखेल युथ क्लबको मैदानमा तयारी थालेको श्रेष्ठले जानकारी दिए। ‘व्यस्त मैदानका कारण युवा टोलीले जावलाखेल युथ क्लबमा तयार थालेका हौं,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘आइतबार पहिलो दिन भएकाले ३० खेलाडी उपस्थित भएका थिए। पहिलो दिन सामान्य फिजिकल फिटनेस भयो। सोमबारबाट पूर्ण रूपमा अभ्यास थाल्नेछौं।’ विश्वकप दोस्रो चरण र साग तयारीमा रहेको नेपाली टोलीमा केही खेलाडी उक्त प्रतियोगितामा पनि समावेश भएकाले उनीहरु सोही प्रतियोगितामा अभ्यास गर्नेछन् भने बाँकीलाई प्रशिक्षक श्रेष्ठले अभ्यास गराउनेछन्।

प्रकाशित: २० श्रावण २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App