coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेतृत्वविहीन नेपाली क्रिकेट, खस्कँदो प्रदर्शनमा जिम्मेवार को ?

काठमाडौं - नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महŒवपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

यस हारसँगै टोली अक्टोबरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा पुग्नबाट वञ्चित मात्र भएन, दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा खेल्ने सपना पनि अधुरो भयो। नेपाललाई पराजित गरेको सिंगापुर समूहविजेता बन्दै  पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भयो। समूहका ४ खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको ब्याटबाट मात्र रन निस्कियो भने अन्य कुनै पनि खेलाडीले आशातीत प्रदर्शन गर्न सकेनन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली सफलताको सारथि बनेको थियो बलिङ अट्याक विशेष गरी स्पिन। तर यस पटक प्रतियोगितामा किफायती बलिङ गर्ने १० खेलाडीको सूचीमा समेत नेपाली बलरले उपस्थिति जनाउन सकेनन्। करण केसीले प्रतियोगिताका ४ खेलमा १३ ओभरमा ७.३८ को औसतमा रन खर्चिए। भरपर्दा स्पिनर सन्दीप लामिछानेले ८ को औसतमा रन खर्चिए। सोमपाल कामीले ७.५० को औसतमा रन खर्चिए। यद्यपि उनले ४ खेलमा मात्र १० ओभर गरेका थिए। यता यही सूचीको शीर्ष ५ मा सिंगापुरका खेलाडीको वर्चस्व रह्यो।

पारस र ज्ञानेन्द्रबाहेक नेपालका कुनै पनि खेलाडीले प्रतियोगितामा एक सय रन बनाउन सकेनन्। भरपर्दा ब्याटस्म्यान शरद भेषावकरले पनि प्रतियोगितको ४ इनिङमा ५६ बल खेल्दै ५५ रन जोडे भने सोमपाल दुई खेलमा रनआउटको सिकार बने। युवा खेलाडी दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको प्रदर्शन पनि सम्झनलायक बनेन भने प्रदीप ऐरी र विनोद भण्डारी पनि असफल भए। यस क्रममा प्रदीपले एक खेल खेल्दै १२ रन जोडे भने विनोदले ३ इनिङमा २५ रन जोडे।

क्यान निलम्बन
२०१६ अप्रिलमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन ग¥यो। चतुरबहादुर चन्द क्यान अध्यक्षमा निर्वाचित भए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसलाई मान्यता दिएन र रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो। सिलवाल हाल राखेपका सदस्यसचिव छन्। गत साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सिलवालले केही भाइरस नेपाली क्रिकेट अझै अन्योलमै रहोस् भन्ने चाहनामा रहेका र आवश्यक परे छिट्टै त्यस्ता मानिसहरुलाई सामाजिक बहिष्कार गर्ने उद्घोष गरे। सिलवालले आइसिसीसमक्ष क्यान निलम्बन फुकुवा नहोस् भन्दै आधिकारिक रूपमा पत्र पठाइएको समेत बताए। यद्यपि उनले त्यो पत्र कसले पठायो भन्ने खुलासा गरेनन्। उनले कसैलाई पनि नेपाली क्रिकेटलाई अन्योलमा धकेलिरहने अधिकार नभएको बताए। क्यान निलम्बनपछि नेपालले आइसिसीको नेतृत्वमा विभिन्न प्रतियोगिता खेल्दै आएको छ। यसले नेपाली क्रिकेटमा नेपालको सहभागिता नरोकिए पनि त्यसको प्रत्यग्क्ष असर खेलाडीको प्रदर्शनमा देखिँदै आएको छ।

हाल आइसिसीले गठन गरेको ५ सदस्यीय स्वतन्त्र कमिटीले क्यान निलम्बन फुकुवाका लागि काम गरिरहेको छ र कमिटीले काठमाडौं, बाँके र पर्साबाहेकका जिल्लामा निर्वाचन गराइसकेको छ। स्वतन्त्र कमिटीका एक सदस्य लेखबहादुर क्षत्रीले अगस्टसम्ममा प्रदेश निर्वाचन सकिने र सेप्टेम्बरको दोस्रो सातासम्ममा केन्द्रिय कमिटीको समेत चुनाव सक्ने बताए। ‘आइसीसीलाई पठाइएको त्यस्ता पत्रले हाम्रो निलम्बन फुकुवा पक्रियामा कुनै असर गर्दैन,’ क्षेत्रीले भने, ‘हामीले सबै चरणका निर्वाचन सकेसँगै हामी निलम्बन फुकुवाको पक्रियामा प्रवेश गर्नेछौ।’

खस्किँदो प्रदर्शन
नेपालले २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकपको प्रारम्भिक चरणमा सहभागिता जनायो। हङकङ र अफगानिस्तानलाई पराजित गरे पनि अन्तिम खेलमा बंगलादेशलाई नतिजा सुम्पिएसँगै नेपाल समूहचरणमा प्रतिस्पर्धा गर्नबाट भने वञ्चित भयो।त्यस समय टोलीमा रहेका कप्तान पारससँग उपकप्तान ज्ञानेन्द्र, शरद, वसन्त रेग्मी, सोमपाल र शरद् गरी ७ खेलाडी अहिले पनि राष्ट्रिय टोलीका नियमित सदस्य छन्।
नेपाल २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डम सम्पन्न ग्लोबल क्वालिफायरबाट माथि उठ्न असफल भयो। सो टोलीमा पनि यिनै ७ खेलाडी थिए। तर नेपाल समूह ‘ए’ को पुछारमा रह्यो।

२०१५ देखि २०१७ को बिचमा नेपालले आइसीसी विश्व क्रिकेट लिगमा सातौं स्थानमा रहेसँगै नेपाल घटुवा भयो। छनोट चरणको शीर्ष ४ मा अटाउन नसकेपछि आइसिसी विश्वकप क्रिकेट क्वालिफायर २०१९ खेल्न पाएन। त्यस क्रममा पनि यिनै खेलाडी टोलीका महŒवपूर्ण सदस्य थिए। प्रदीप र विनोदलाई टोलीबाहिर राखिएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा केही युवा खेलाडीको उदय भयो।

नेपालले २०१८ मा ए दिवसीय राष्ट्रको मान्यता पायो। यसबीचमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, दिलीप नाथ, अनिल शाह र दीपेन्द्रसिहंजस्ता खेलाडी नेपाली क्रिकेटमा भित्रिएका थिए। समूह ‘बी’ मा रहेको नेपालले ५ राष्ट्र सम्मिलित प्रतियोगितमा चौथो स्थानमा बस्दै प्लेअफमा छनोट भयो। प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै नेपालले एकदिवसीय राष्ट्रको मान्यता पायो।

सोही वर्ष नेपालले एसिया कप क्वालिफायर खेल्यो। तर ६ राष्ट्र सम्मिलित छनोट चरणको चौथो स्थानमा बसेसँगै नेपालको एसिया कप खेल्ने लक्ष्यले पूर्णता पाउन सकेन। सो छनोटको फाइनलमा युएईलाई हराउँदै हङकङ एसिया कपमा छनोट भयो।

२०१३ र २०१५ मा ग्लोबल क्वालिफारमा प्रवेश गरेको नेपाल २०१९ मा भने एसियाली छनोट नै पार गर्न सकेन। यद्यपि टोलीमा अहिले पनि २०१३ र २०१५ को ग्लोबल क्वालिफायर खेलेका ७ देखि ९ खेलाडीको दरिलो उपस्थिति छ।

कप्तानको भनाइ
नेपाली क्रिकेटमा घरेलु संरचनालाई सधंै कमजोर मानिएको छ। सरोकार निकायले त्यसमा ध्यान नदिँदा नेपालले एकरूपको प्रदर्शन गर्न नसकेको कप्तान पारस बताउँछन्।

‘मैले कयांै पटक भनिसकें, तर पनि १० वर्षअघि हाम्रो घरेलु क्रिकेट संरचना जस्तो थियो अहिले पनि त्यो त्यस्तै छ। कहीं कसैले पनि क्रिकेट खेलको विकासका लागि गम्भीर रूपमा लागिपरेको देखिएन। नेपाली क्रिकेटमा यतिका वर्षमा पनि केही गरांै भनेर लागिपरेको एक जना पनि देखिएन।’ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली सफलताको सारथि बनेको थियो बलिङ अट्याक, विशेष गरी स्पिन। तर यस पटक प्रतियोगितामा किफायती बलिङ गर्ने १० खेलाडीको सूचीमा समेत नेपाली बलरले उपस्थिति जनाउन सकेनन्।

प्रकाशित: २० श्रावण २०७६ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App