coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेटौंडा पशु बधशालाको चौथोपटक उद्घाटन

मकवानपुर - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा औद्योगिकक्षेत्रको बफेलो क्वालिटी फुड प्रालिस्थित पशु बधशालाको चौथोपटक उद्घाटन गरेका छन्।  आइतबार बधशालाको चौथोपटक उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले पशु बधशाला तथा मासु जाँच५५ कार्यान्वयन गर्ने हेटौंडा पहिलो नगरपालिका भएकाले पूर्ण कार्यान्वयन गर्नेमा पनि हेटौंडा पहिलो बन्नुपर्ने बताए।

‘निजी कम्पनीलाई सरकारले पैसा दिएको भनेर धेरैले चासो दिएका छन्,’ उनले भने, ‘सरकार व्यापार गर्न बसेको होइन, जनताको स्वास्थ्यका लागि अनुदान दिएका हौं। ’ सरकारको नीति, नियम, कानुन मान्दैनौं भन्न नपाइने बताउँदै उनले पशु बधशालाको प्रभावकारी उपयोग गर्न सबैलाई आग्रहसमेत गरे।

पशु बधशाला तथा मासु जाँच ऐन पहिलोपटक २०५५ मा लागू गर्दा तत्कालीन हेटौंडा नगरपालिकाका मेयर रहेका उनले २० वर्षपछि अन्तर्मनदेखि लागे ऐन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।  ‘हामी अहिले २१औं शताब्दीमा छौं,’ उनले भने, ‘हिजैको सोचाइमा बसे जंगली युगमा पुग्नेछौं। ’

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनमा एउटा र ललितपुरमा तीन वटा बधशाला सञ्चालन गरिएको बताउँदै धादिङमा एउटा बधशाला निर्माणाधीन रहेको बताए।  ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन उत्पादनमुखी नयाँ र बन्द उद्योगहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले कृषि क्षेत्रको विकासले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।

पशु बधशाला व्यवसायी महासंघका महासचिव कृष्णहरि भट्टले नेपालमा आठ–नौवटा बधशाला रहे पनि सबै बन्द रहनु दुःखद रहेको भन्दै बधशालाले पशुपालक कृषक पनि लाभान्वित हुने बताए।  ‘बधशाला सञ्चालनले किसानको घरमै प्रत्यक्ष पैसा पुग्ने माध्यम बन्छ,’ उनले भने, ‘राँगा–भैंसीको मासु नेपालमा दैनिक करिब एक सय २५ टन र काठमाडौंमै करिब ६० टन खपत हुने भएकाले बधशालाको भविष्य राम्रो छ। ’

कार्यक्रममा राष्ट्रियसभाका सांसद रामचन्द्र राई, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, प्रदेशको नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीलगायतले सफा र स्वस्थकर मासु खरिद र बिक्री गर्न मासु व्यवसायी र उपभोक्ता सचेत तथा जिम्मेवार हुनुपर्नेमा जोड दिए।

दैनिक दुई सय ५० राँगाको मासु प्रशोधन
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ६१ लाख ५० हजार रुपैयाँ अनुदान सहयोगमा पुनःनिर्माण गरी पशु बधशाला सञ्चालनमा ल्याइएको हो।  २०२८ सालमा डेनिस सरकारको १८ करोड लागतमा स्थापना भएको बफेलो क्वालिटी फुड प्रालिमा रहेको बधशाला यसअघि तीनपटकसम्म उद्घाटन, अल्पकालीन सञ्चालन र बन्द हुँदै आएको थियो।  बधशाला पछिल्लो पटक २०७३ सालदेखि बन्द थियो।

करिब ५५ रोपनी जग्गामा रहेको सो आधुनिक बधशालाको दैनिक दुई सय ५० वटा राँगा–भैंसी बधगरी मासु प्रशोधन गर्नसक्ने क्षमता रहेकोे कम्पनीका निर्देशक सैयद रियाज उद्दिनले बताए।  ‘तत्काललाई दैनिक २० वटा राँगा–भैसीको मासु काठमाडौं पठाउने योजना छ,’ उनले भने, ‘प्रशोधित मासुलाई २५–२५ किलोको प्याकेज गरी बिक्री गर्नेछौं। ’
१५ दिनपछि बधशालामार्फत खसी र कुखुराको प्रशोधित मासु पनि उत्पादन, बिक्री गर्ने कम्पनीले जनाएको छ।  निर्देशक उद्दिनका अनुसार आधुनिक प्रविधिको उपकरण रहेको बधशालामा मासु प्रशोधन गर्न माइनस ३५ डिग्री सेल्सियस तापक्रममा कम्तीमा १६ घण्टा राख्नुपर्छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App