८ वैशाख २०८१ शनिबार
खेल

सागका लागि संसद्को उपसमिति

काठमाडौं – संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

आइतबार बसेको बैठकले जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय अनुगमन तथा निरीक्षण उपसमिति गठन भएको शिक्षा, स्वास्थ्य तथा खेलकुद समितिको सचिवालयका पुष्पप्रकाश खनालले जानकारी दिए। श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत हुन्। सागको आयोजक राष्ट्रले नै दक्षिण एसियाली ओलम्पिक काउन्सिलको नेतृत्व गर्ने प्रावधानअनुरूप श्रेष्ठ अध्यक्ष छन्। आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै हुने १३औं सागको तयारी ढिलाइ भएपछि संसदीय समितिले आइतबार उपसमिति गठन गरेको थियो। उक्त उपसमितिमा नारायणप्रसाद मरासिनी, गजेन्द्रबहादुर महत, नमिता चौधरी र नवीना लामा सदस्य छन्। यसअघि शिक्षा तथा स्वास्थ्य समितिले नै १३औं सागको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग प्रगति विवरण माग गर्दै आएको थियो।

सोही दौरान १३औं सागमै केन्द्रित निरीक्षण र अनुगमन गर्न आवश्यकता रहेको छलफल भएपछि  श्रेष्ठको नेतृृत्वमा उपसमिति गठन भएको हो। उक्त उपसमितिका संयोजक श्रेष्ठले छिट्टै बैठक बसेर १३औं सागको विषयमा युवा तथा खेलकुद मन्त्रालय र साग आयोजनाको सरोकारवालासँग छलफल गर्ने बताए। श्रेष्ठका अनुसार छिट्टै उपसमितिले निरीक्षण र अनुगमन थाल्नेछ।

‘पछिल्ला समय आवश्यक मात्रामा हाम्रो तयारी सन्तोषजनक छैन,’ श्रेष्ठले भने,‘अब उपसमितिले सबै पक्षलाई झकझकाउनेछ। साथै अफ्ठ्यारो परिस्थितिमा मार्ग खुलाउन पनि मद्दत गर्नेछ।’ सन् १९९९ पछि पहिलो पटक घरेलु मैदानमा फर्किन लागेको सागका लागि आवश्यक संरचना समयमा बन्न सकिरहेको छैन। जसका कारण १३औं साग आयोजनाको मिति आउन चार महिना मात्र बाँकी छँदा निर्धारित समयमै प्रतियोगिता हुनेमा द्विविधा सिर्जना भएका छन्।

 

 

प्रकाशित: २० श्रावण २०७६ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App