८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकामा भएका दुई बन्दुक आक्रमणमा ३० जनाको मृत्यु

वासिङ्टन – संयुक्त राज्य अमेरिकामा २४ घण्टाभित्र भएका दुई भिन्न बन्दुक आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । पहिलो बन्दुक आक्रमण स्थानीय समयअनुसार शनिबार बिहान टेक्सास राज्यको एल पासोस्थित वालमार्ट सुपरमार्केटमा भएको थियो । सो आक्रमणमा परेर २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएको थिए ।

त्यसैगरी अर्को आक्रमण स्थानीय समयअनुसार आइतबार बिहान ओहियो राज्यको डेटनमा भएको थियो जहाँ नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा २६ जना घाइते भएका थिए ।टेक्सास बन्दुक हमलाका आक्रमणकारीले प्रहरीसामु आत्मसमर्पण गरेका थिए भने ओहियोमा प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको थियो ।

टेक्सास आक्रमण, २० को मृत्यु, २६ घाइते
टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा आक्रमणकारीले अन्धाधुन्ध बन्दुक चलाउँदा सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावक मलमा जम्मा भएका बेला बन्दुक आक्रमण भएको थियो ।
प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको उल्लेख गरेका थिए ।

एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् । मेक्सिको सीमाबाट करिब आठ किलोमिटरभित्र पर्ने वाल्मार्टको सो सपिङ मलका ती बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस भएको बताएका छन् तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । उनी डल्लासबाट त्यहाँ आएको बताइएको छ । बन्दुधारीको आक्रमणका कारण वाल्मार्टभित्र रहेका व्यक्ति सबैभन्दा बढी पीडित भएको प्रहरीको भनाइ छ । ‘यहाँको दृश्य अति नै भयावह छ,’ प्रहरी प्रमुख अलेनले बताए । उनले गोली लागेका अरु २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिएका छन् ।

‘अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,’ सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताए । वाल्मार्टस्थित महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँगै रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भनिन्, ‘निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणकार्य भइरहेको थियो ।’

बन्दुकधारीले आक्रमण सुरु गरेपछि उनकी १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुवै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुवै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भनिन्, ‘भाग्यवश दुवैजना सकुशल बाहिर निस्किए । घटनाप्रति डेमोक्र्याटका सबैजसो नेताहरुले एल पासो गोलीकाण्ड अमेरिकी इतिहासकै कालो धब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् ।

एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिएका छन् । सो सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरु अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रूपमा प्रवेश गरेको प्रति रोष प्रकट गरिएको छ ।

सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

डेटन बन्दुक आक्रमण, नौजनाको मृत्यु, आक्रमणकारी पनि मारिए
त्यसैगरी ओहियो राज्यको डेटनमा भएको बन्दुक आक्रमणमा परी नौजनाको मृत्यु भएको छ भने कम्तीमा २६ जना घाइते भएका छन् । डेटनका मेयर नान ह्वेलीले बन्दुक आक्रमणमा परेर घाइते भएकाको सहरभित्रका विभिन्न अस्पतालमा उपचार भइरहेको बताएकी छन् । बन्दुक आक्रमणकारीको पहिचान भने खुलाइएको छैन ।
सिटी सेन्टरको ओरेगन जिल्लामा भएको सो आक्रमण स्थानीय समयअनुसार एक बजेर सात मिनेटमा सुरु भएको थियो ।

सामाजिक सञ्जालमा राखिएका भिडियोमा बन्दुक पड्केको आवाज आएलगत्तै मानिस सडकतिर भागिरहेको देखिएको छ । ई फिफ्त स्ट्रिटस्थित नेडपेपर्स बारबाहिर बन्दुक आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । डेटन बन्दुक आक्रमणमा संलग्न आक्रमणकारी भने प्रहरीको कारबाहीमा घटनास्थलमै मारिएको प्रहरीले पुष्टि गरेको छ ।

मृतकको संख्या बढ्न नदिनका लागि अधिकारीहरुले गरेको तत्कालको प्रतिक्रियाले आफू अचम्मित भएको मेयर नान ह्वेलीले पत्रकारहरुसँग बताइन् । यद्यपि उनले मृतकको परिवारमा परिरहेको पीडाले आफू अत्यन्तै तनावमा रहेको समेत बताएकी छन् । उनले पछिल्ला आक्रमण अमेरिकामा यो वर्षमा भएका २५०औं गोलीकाण्ड भएको पनि बताएकी छन् ।

एक साताभित्रै अमेरिकामा दुई ठूला बन्दुक आक्रमण भएका छन् । केही दिनअघि क्यालिफोर्निया राज्यमा आयोजित गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

विश्वभरबाट निन्दा
अमेरिकामा भएका दुई भिन्न बन्दुक आक्रमणको विश्वभरबाट निन्दा गरिएका छन् । दुई फरक बन्दुक आक्रमणका पीडितप्रति विश्वभरबाट सहानुभूति र आक्रमणकारीप्रति निन्दाका शब्द आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा ट्विट गर्दै आक्रमणलाई ‘कायरतापूर्ण कार्य’ भनेका छन् ।
एल पासो बन्दुक हमलामा तीनजना मेक्सिकन नागरिक मारिएको बताउँदै मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले मारिनेप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा एर्डेनले पनि बन्दुक आक्रमणको घटना पीडितप्रति सहानुभूति प्रकट गरेकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जनसनले पनि आक्रमणको निन्दा गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित: २० श्रावण २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App