७ वैशाख २०८१ शुक्रबार
राजनीति

भाेलि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

काठमाडाैं– प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने बताइन्। उनले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको दाबी गरिन्।

त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पारे। त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उनको भनाई थियो।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले भने राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरिरहेकाले सो घटनामा संसदीय छानवीन समिति गठन गर्न नपर्ने तर्क गरे। उनले राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक निकायले छानविन गरिरहेको घटनामा पछि चित्त नबुझे संसदीय समितिले छानवीन गर्न सक्ने पनि स्पष्ट पारे। तर, तत्कालका लागि सो घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न संवैधानिक र कानुनी रुपमा पनि नमिल्ने प्रमुख सचेतक गुरुङको दावी छ।

प्रमुख सचेतक गुरुङले लोकतन्त्रमा संवैधानिक विधि र प्रक्रिया अनुसार चल्नुपर्ने भएकाले पनि सरकारले राष्ट्रिय मानव अधिकार आयोगले छानविन सुरु गरेको सो घटनाको छानवीनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अवस्था नदेखेको पनि बताए।

प्रकाशित: १९ श्रावण २०७६ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App