सुदूरका अब्बल

आइतबार, १९ साउन २०७६, १६ : ५९ नागरिक

देशभरमै पहिलो बैंकिङ कारोबार गर्ने नवजीवन बहुउद्देश्यीय सहकारी संस्था सुदूरपश्चिममा एक अब्बल संस्थाका रुपमा परिचित छ। बैंकिङ क्षेत्रमा २८ वर्ष म्यानेजर भएर काम गरेका चक्रबहादुर सिंहलाई गत वर्ष मात्रै सहकारीमा नमुना रहेको नवजीवनले अध्यक्षका रुपमा पायो। डोटीको तलारामा जन्मेका सिंह २०२२ देखि सरकारी जागिरे भए। सुरुमा सहकारी सब इन्सपेक्टरबाट सरकारी सेवामा प्रवेश गरेका सिंहले २०३२ सालदेखि भने विभाग परिवर्तन गरी कृषि विकास बैंकमा जागिरे भए। उनी जागिरे रहँदा जहिल्यै म्यानेजरमा रहे। सुदूरपश्चिममा पहिलोपटक कृषि विकास बैंकको शाखा स्थापना गर्नमा सफल संस्थापक म्यानेजरसमेत रहेका सिंह सँगै सुदूरपश्चिमको आर्थिक गतिविधिका साथै देशकै नमुना रहेको नवजीवन सहकारी संस्थाका बारेमा रहेर नागरिक परिवारका लागि दिलबहादुर छत्यालले गरेको कुराकानीः

नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाको जन्म कसरी भयो?
नवजीवन सहकारी संस्था लिमिटेड २०४८/४९ सालतिर एकजना बालक डडेल्धुरामा होटेलमा काम गर्दै थिए। रोड क्रस गर्दैगर्दा गाडीले ठक्कर दिएर खुट्टामा चोट लाग्यो। त्यो समयमा डडेल्धुरामा उपचारको व्यवस्था थिएन। केही व्यक्तिले उसलाई गाडीमा हालेर धनगढी पठाइदिए। गाडीबाट धनगढी बसपार्कमा झरेको उसलाई कसैले सहयोग गरेनन्। केही साथीहरुले देखेर यसलाई सहयोग गर्नुपर्छ भनेर अस्पताल पु-याए। डाक्टरको सल्लाहअनुसार बालकको खुट्टा काट्नुपर्ने नभए काठमाडौंमा उपचारका लागि पठाउने भनियो। डाक्टरको सल्लाहअनुसार नै पैसा संकलन गरेर साथीहरुले उसको उपचारका लागि काठमाडौं पठाए। त्यसपछि साथीहरुको मनमा एउटा भावना उब्जियो। मर्दापर्दा सहयोग गर्नका लागि कोष जम्मा गर्नुप-यो भनेर। पछि कोष जम्मा गरियो। दुई वर्षसम्म कोष राम्रै चल्यो र बढ्यो पनि त्यसपछि २०५० सालमा सहकारी ऐन बन्यो।

सहकारी विभागमै दर्ता गरेर विधिवत् रुपमा चलाउने निर्णय गरियो। सहकारी दर्ता गर्नका लागि नाम के राख्ने भन्ने छलफल चल्यो। छलफलकै क्रममा त्यो बालकलाई सहयोग गरेर उसलाई नयाँ जीवन दिइएकाले नै सहकारीको नाम पनि नवजीवन नै राखियो। त्यतिबेला करिब ८० जना सेयर सदस्यले संस्था दर्ता गराएका हुन्। तीमध्येका संस्थापक साथीहरु अहिले पनि हुनुहुन्छ। यसरी नै नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाको जन्म भएको हो। आफैँ जागरुक भएर खोलिएको सहकारी संस्था भएकाले पनि यसले राम्रै प्रगति गरेको हो। कहीँ कहीँ नाफा कमाउने उद्देश्यले खोलिएका पारिवारिक संस्था छन्, ती संस्थाभन्दा यो सहकारी फरक हो। जो निःस्वार्थ भावनामा सहयोग गर्ने उद्देश्यले नै खोलिएको संस्था हो। नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने देशभरमै पहिलो सहकारी संस्था पनि नवजीवन हो।

यसको उद्देश्य के हो?
समाजमा छरिएको स–सानो पुँजीलाई संकलन गरेर केही मुनाफा कमाइ त्यो मुनाफा पनि सामाजिक क्षेत्रमै लगानी गर्ने हाम्रो उद्देश्य हो। हामीले विभिन्न सामाजिक क्षेत्रमा हरेक वर्ष सहयोग र काम गर्दै आएका छौँ। यसले यति विशाल रूप लिएको छ कि अहिलेसम्म १९ हजार बढी शेयर सदस्य छन्। यसको पुँजी नै १८ करोड बढी पुगिसकेको छ। यसका साथै हामीले किसानका लागि भन्दै कोल्ड स्टोर बनाउने भनेर जमिन किनेका छौँ। त्यसका लागि काम पनि अगाडि बढाइरहेका छौँ। अर्गानिक मलको काम गर्ने भनेका पनि छौँ। ऋण लगानी, निक्षेप संकलनको अलावा, पाँच सयसम्म शेयर सदस्य भएको क्लष्टर छनोट गरेर इकाई छनोट गरेका छौँ। उनीहरुको दैनिक जीवनमा सहजता होस् भनेर १४ वटा कैलालीमा इकाई गठन गरेका छौँ। किसानको जीवनस्तर उकास्नका लागि उनीहरुलाई आर्थिक सहयोग गर्ने, उत्पादन किनिदिने नै मुख्य उद्देश्य हो।

सहकारीका कति शाखा सञ्चालित छन्?
अहिले हाम्रो सुदूरपश्चिम प्रदेशबाहेक प्रदेश नम्बर ५ को बर्दियास्थित बाँसगढीमा पनि शाखा छ। त्यस्तै कैलालीकै टीकापुर, जोशीपुर, सुखड, अत्तरिया र धनगढीबाट बैंकिङ कारोबार गरिरहेको छ।

सहकारीले समुदायलाई नै सदस्य बनाएर समुदायको उत्थानकै लागि भनेर खोलिन्छ। व्यवहारमा धेरै सहकारीले त्यो गरेको देखिँदैन ? नवजीवनले कर्जा दिने, ब्याज असुल्ने मात्रै गरेको त छैन ?  
त्यति मात्रै छैन, संस्थाका सदस्यहरुलाई लाभांश मात्रै दिएका छैनौं हामीले। हामीले हाम्रो सदस्यको मृत्यु भएमा उनको परिवारलाई किरिया खर्चबापत कम्तीमा दस हजार रुपैयाँ दिन्छौँ। बिरामी परेमा उसको आर्थिक अवस्था हेरेर बढीमा एक लाख रुपैयाँसम्म औषधि खर्च दिइन्छ। सुत्केरी भएमा दुई पटकसम्म दुई हजार रुपैयाँसम्म सुत्केरी खर्च दिइन्छ। सदस्यका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक ल्याउनेलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। लाभांश पनि सहकारी ऐनलाई बाँधेर १८ प्रतिशतसम्म बाँड्ने गरेका छौँ। त्योभन्दा बढी हामीले सामाजिक क्षेत्रमै काम गरिरहेका छौँ। धेरै सामाजिक क्षेत्रमा काम गरेका छौँ। रक्त सञ्चार केन्द्रमा मेसिनहरु दियौँ। कैलाली जनपुस्तकालयलाई भवन निर्माणका लागि करिब तीन लाख रुपैयाँ दिएका छौँ। विभिन्न विद्यालय, कलेजलाई ल्यापटप, कम्प्युटरका साथै पाठ्यसामग्रीहरु सहयोग गर्दै आएका छौँ। हावाहुरीले क्षति पुगेका हाम्रै सदस्यलाई पनि अवस्था हेरेर सहयोग गर्ने भनेरै तथ्यांक संकलन गरेका छौँ। उनीहरुलाई कम्तीमा डेढ लाख रुपैयाँसम्म सहयोग गर्ने मनसाय बनाएका छौँ।

हामीसँग कति निक्षेप संकलन भएको छ?
हामीसँग दुई अर्ब ७० करोड जति निक्षेप संकलन छ। कर्जा कारोबार गर्ने निक्षेप हो। जुन हामीले तरलता राखेर कर्जा कारोबार गर्ने गरेका छौँ। यसमा पनि झण्डै पौने तीन अर्ब कर्जा लगानी गरिसकेका छौँ हामीले। अहिलेको निक्षेप दुई अर्ब हो भने गत वर्षको जगेडा कोषमा बसेका निक्षेप हेर्ने हो भने झण्डै चार अर्ब नै पुगेको छ। आर्थिक हिसाबले सक्षम संस्था छ। हामीले ऋण लगानी पनि गरिरहेका छौँ। हाम्रो ऋण लगानी भनेको हामीले लिने निक्षेप र हामीले दिने कर्जाको ब्याज अन्तरमा ५/६ प्रतिशत अन्तर छ। बढीमा १३ प्रतिशतमा ऋण लगानी गरिरहेका छौँ भने ५/६ प्रतिशतमा निक्षेप संकलन गरिरहेका छौँ।

नवजीवनले कुन क्षेत्रमा ऋण लगानी गरिरहेको छ?
हामीले सबैभन्दा बढी कृषिमै लगानी गर्ने हो। हाम्रो मुख्य उद्देश्य पनि कृषि क्षेत्रमै लगानी गर्नु हो। व्यापार, उद्योगमा पनि लगानी लगाएका छौँ। बजार क्षेत्रमै बैंकिङ कारोबार भएकाले पनि बढीजसो व्यापार र उद्योगमा लगानी बढी देखिएको छ। कृषि कर्जामा हामीले यान्त्रिकीकरण भनेर ट्याक्टरमा लगानी पनि लगायौँ। तर, ती ट्याक्टरहरुले कृषि क्षेत्रमा काम गर्नुको साटो पहाडमा मालसामान बोक्न थाले। जसले गर्दा हाम्रो लगानी गरेअनुरुप काम भएन। ट्याक्टर किन्न बन्द गरेर सानो खालको पावर टिलरमा सहयोग गर्दै आएका छौँ। बढी कर्जा भने हाम्रो पहिलो व्यापार र दोस्रो उद्योगमै देखिन्छ।

समग्र सहकारी संस्थामा के समस्या छन्? सुधार गर्न के गर्नुपर्ला?  
पहिलो कुरा त, हाम्रो मात्रै सहकारीको कुरा गर्ने हो भने हामीले करिब १९ हजार शेयर सदस्यलाई त्यो हाम्रो संस्था हो, हामी पनि यसका हिस्सेदार हौँ भनेर बुझाउन अझै पनि धेरै प्रयास गरिरहेका छौँ। ती सदस्यहरुले शेयर किनेका छन्। उनीहरुले ऋण लिनका लागि मात्रै शेयर किनेको महसुस गरेका छन्। न कि हामी सदस्य हौ भनेर सोच्न सकेका छन्। पहिलो प्रयास भनेको तिमीहरु पनि यसको मालिक हौ भनेर संस्थाप्रति अपनत्वको भावना फैलाउने कार्य भइरहेको छ। अर्को समस्या भनेको अहिले भर्खरै नेपाल सरकारले सहकारी विभागले के ग¥यो भने हामीजस्तो बहुउद्देश्यीय सहकारी संस्थाले आफूले गर्ने कुल कारोबारको ३० प्रतिशतमा झार्ने ७० प्रतिशत कारोबार अन्य (बहुउद्देश्यीय) क्षेत्रमा गर्ने भन्ने गरेको छ। उत्पादन बेचबिखन, उपभोक्ता भण्डारण, तालिम, अस्पताल सञ्चालन, विद्यालय सञ्चालन, कोल्ड स्टोरजस्ता क्षेत्रमा लगानी लगाउनुपर्ने भन्नेछ। ३० प्रतिशतमा मात्रै कर्जा कारोबार र निक्षेप संकलन गर भनेको छ, त्यही हो हाम्रो चुनौती। हामीले अहिलेसम्म कर्जा कारोबार मात्रै गर्दै आयौँ, तर केही सामाजिक क्षेत्रमा पनि काम त गरेका हौँ। अहिले हामी अन्य कारोबार गर्ने भन्नेमा छौँ। हाम्रा किसानले आफ्नो उत्पादन तुरुन्तै सस्तो मूल्यमा बेच्छन्। कारण के हो भने उनीहरुलाई पैसाको खाँचो हुन्छ। त्यही उत्पादन एक÷दुई महिनापछि बेच्दा कृषि क्षेत्रको बिचौलियाले दोब्बर मूल्यमा अर्कोलाई बेच्ने गरेको छ। त्यसो नहोस् भन्नका लागि हामीले किसानको उत्पादन गोदाममा राखिदिने र उनीहरुलाई तत्काल खाँचो पर्ने पैसा कर्जाबापत हामीले दिने। जतिबेला किसानको उत्पादनले मूल्य पाउँछ त्यतिबेला उनीहरुलाई सोधेर उनीहरुको उत्पादन बेचेर उनीहरुको मूल्य किसानलाई दिएर ब्याज मात्रै संस्थाले लिने योजना बनाइरहेका छौँ। त्योभन्दा बाहेक आफैँले कृषि उत्पादन किनेर प्रशोधन गर्ने पनि सोच बनाइरहेका छौँ।

सहकारीले बैंकलाई पनि ब्याज दिने कुरा आइरहन्छ ? नवजीवनले पनि बैंकमा लगानी लगाएको छ ?
हो, बाहिर भ्रम के भइरहेको छ भने नवजीवनले पैसा संकलन गरेर बाहिर बैंकलाई ब्याजमा दिने गरेको छ, बीचमा बसेर नाफा मात्रै खान्छ भन्ने छ। त्यो होइन, हाम्रो बैंकिङ नियमले के भन्छ भने हाम्रो जस्तो सहकारी संस्थालाई तरलताका लागि २०/२२ प्रतिशत चाहिन्छ। यो पैसा भनेको हामीले ऋण लगानी गरेर बचेको पैसा हो। कहिले काहीँ हामी के गर्छौ भने हामीलाई चाहिने तरलताभन्दा बढी पैसा भयो भने खाली संस्थामै राखेमा घाटा हुन्छ। त्यो पैसाबापतको ब्याज दिनुपर्ने हुन्छ। त्यसरी राख्दा घाटा पर्छ भनेर त्यस्तो निक्षेपबाट आएको पैसा जुन लगानी गरेर बचेको हुन्छ, त्यसलाई बार्गेनिङ गरेर सबैभन्दा बढी ब्याज कसले दिन सक्छ भनेर यहाँका केही राम्रा बैंकलाई दिने गरेका छौँ। हामीले ८ देखि बढीमा ११ प्रतिशतमा ब्याजमा दिएका छौँ।

ग्राहकलाई १३ प्रतिशतमा र बैंकलाई ८ प्रतिशतमा दिने गर्दा यसले विभेद भएन र?
ग्राहकलाई लगानी गर्दा ‘ओभरहेड खर्च’ बढ्न जान्छ। त्यसको धितो हेर्नु प-यो। उसकोमा जानु प-यो। त्यसले गर्दा एक, दुई प्रतिशत खर्च बढ्छ। बैंकलाई दिँदा त्यो खर्च बढेन। सोझै लग्यो राख्यो, भन्या बेला ल्यायो। फेरि हामीले बैंकमा लगानी गर्ने पैसा भनेको हाम्रा ग्राहकलाई ऋण लगानी गरेर बचेको पैसा हो। विगतका वर्षमा नेपालका बंैकहरुले तरलताको ठूलो समस्या झेल्नु परेको थियो। तर, हामीले भने तरलताको समस्या झेल्नु परेन। यो भनेको यहाँका जनताको अधिकतम विश्वास पाएर हो। यहाँका जनताले नवजीवनमै पैसा जम्मा गर्ने बानी बसाले। नवजीवनसँग विश्वास लिए। त्यही भएर तरलता अभाव कहिल्यै भएन।

सहकारीमा अस्पष्ट खालको पैसा राख्ने गरिएको छ भन्ने छ नि?
हो, त्यो हल्ला छ। ‘इलिगल मनी’ राख्ने गरिएको छ भन्ने छ। बैंकहरुले त त्यस्तो पैसा राख्दा सोधपुछ गर्ने गर्छ। तर, सहकारीले गर्दैन भन्ने छ। त्यसमा हामी सतर्क छौँ। पैसा डिपोजिट आउने ठाउँमा हाम्रो दैनिक रिपोर्ट जान्छ। पैसा जम्मा गर्ने मान्छेको पैसा कस्तो हो। ठूलो पैसा राख्न आएमा स्रोत पत्ता लगाएर राख्ने गरेका छौँ। विनास्रोत पैसा राख्दा ठूलो कसुरदार मानिन्छ, त्यसैले हामी भने त्यसमा सतर्क छौँ।

तपार्इंले लामो समय बैंकिङ क्षेत्रमा काम गर्नुभएको छ। बैंकिङ क्षेत्रमा हिजोको अवस्था र आजको अवस्थाबारे भनिदिनुस् न?
रात दिनको फरक छ। मैले बैंकिङ शाखा खोल्ने बेलामा धनगढीमा वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड मात्रै थिए। त्यो बेला सहकारीहरु पनि जन्मेका थिएनन्। हामीले धनगढी कृषि विकास बैंकको बैंकिङ कारोबार गर्ने शाखा खोलेपछि प्रधान कार्यालयबाट मुख्य टार्गेट के दियो भने जति सकिन्छ निक्षेप संकलन गर भनियो। हामीले राष्ट्रबैंक, वाणिज्य बंंैकबाट पुनर्कर्जा लिएर त्यो रकम लगानी गथ्र्यौँ। त्यो बेला हामीले निक्षेप संकल गरेका थिएनौँ। रकम लगानी गर्नका लागि आफैंले निक्षेप संकलन गरेमा पैसा सस्तो पथ्र्यो। डिपोजिट बढाउने सन्दर्भमा हामीले धेरै मिहिनेत ग¥यौँ त्यो बेला। ठूला ग्राहकलाई वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले तानिहाल्थे। बचेखुचेका ग्राहकलाई हामीले आकर्षित गरेर निक्षेप संकलनको कार्य ग¥यौँ। धनगढीमा निक्षेप कसले गर्छ भन्ने थियो। त्यतिबेलाको आर्थिक गतिविधि नै सानो थियो धनगढीमा। अहिले तपार्इंहरुले हेर्नुभयो भने आर्थिक कारोबार व्यापक भइसक्यो। अहिले धनगढीमा बैंकका शाखा मात्रै २५÷३० वटा भन्दा बढी छन्। त्यत्तिकै मात्रामा माइक्रो फाइनान्सका शाखा खुलेका छन्। सहकारी पनि त्यत्तिकै मात्रामा छन्। सबैले बिजनेस पाइरहेका छन्। सबैले डिपोजिट पाइरहेका छन्।

बैंकमा तरलता अभाव हुनुको कारण के हो?
तरलताको अभाव छ। यसो हुनुका धेरै कारण छन्। एउटा त बैंक पोलिसीको कारण हो। तरलता आउनु भनेको के हो भने, सरकारले आर्थिक वर्षको अन्तमा आफ्ना बजेटहरु खर्च गरिदिएपछि पैसा बाहिर जान्छ। ठेक्कापट्टामा जाला। तलबमा जान्छ। आयोजनामा जान्छ। त्यहाँबाट पैसा बैंकमा आउँछ। समयमा काम नहुनु पनि समस्या हो।  

बैंक तथा सहकारीले ब्याज महँगो गर्ने गरेका छन् भन्ने छ नि?
माइक्रो फाइनान्सको २०/२२ प्रतिशत पनि लिने गरेका छन् भन्ने सुनिएको छ। यो कमर्सियल बैंकहरुले महँगो ग-यो भन्न त मिल्दैन। आफूले त्यो पुँजी कतिमा लिएको हो। कुनै पनि बैंकले कसैबाट सापट लिएर आएको पुँजी हो। त्यो पुँजीबापत उसले भुक्तानी गर्ने ब्याज र उसको ओभरहेड कष्ट जोडेर बाँकी मुनाफा लिने गर्छ।

सुदूरपश्चिममा गरिबी धेरै छ। यसलाई घटाउन के गर्नुपर्ला?
यसलाई घटाउनका लागि उत्पादनमा वृद्धि गर्नुपर्छ। यसमा सहकारीले ठूलो भूमिका निर्वाह गर्न सक्छ। तर, यसका लागि सरकारी नीति राम्रो हुनुप-यो। जस्तै अहिले किसानलाई चाहिने मल छैन। मल हाल्छु भन्दा पनि किसानले मल पाउँदैन। भारतबाट ल्याएर हाल्छुभन्दा पनि सरकारले रोक्छ। हामीले मात्रै चाहेर हुँदैन। कृषिमा चाहिने सामग्री दिन समस्या भइरहेको छ। अर्को कुरा त्यति दुःख गरेर उत्पादन गरेको वस्तुले समयमा बजार र मूल्य पाउन सकिरहेका छैनन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad