coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश प्रहरी प्रमुख डोल्पामा, विप्लवका गतिविधिलाई निस्तेज पार्न निर्देशन

डोल्पा– कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पूर्णचन्द्र जोशीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएका छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका डिआइजी जोशी अहिले सुरक्षा अवस्था बुझ्न जिल्ला दौडाहमा छन्। आइतबार डोल्पामा मातहतका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै डिआईजी जोशीले भने, ‘भौगोलिक रुपमा विकट र छरपस्ट रुपमा छरिएको बस्तीका कारण विद्रोहीले गतिविधि सञ्चालन गर्न सक्छन्। विद्रोहीको गतिविधिलाई निस्तेज पार्न समयमै सजगता अपनाउनुस्।’

त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय दुनैमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा गरिएको छलफलमा स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी विभिन्न राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज, महिला प्रतिनिधि र सञ्चारकर्मीले जिज्ञासा राखेका थिए। 

जिल्लामा घरेलु मदिरा सेवनका कारण महिला हिंसाका घटनाहरु धेरै हुनुका साथै समाजमा उच्छृंखल गतिविधिसमेत हुने गरेकाले घरेलु मदिरामा रोक लगाउनसमेत डिआईजी जोशीले जोड दिए। प्रहरी एक्लैको प्रयासले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने बताउँदै उनले स्थानीय जनताको साथ र सहयोगको आवश्यकता औंल्याए।

विप्लवका गतिविधिको सूचना प्रहरीलाई दिएर शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न पनि उनले आग्रह गरे। देशमा विस्फोट, आगजनी र चन्दा आतंक लगायतका गतिविधि बढ्दै जान थालेकोप्रति संकेत गर्दै जनताको जीउधनको सुरक्षा गर्न प्रहरी चुप लागेर नबस्ने उनको भनाई छ।

‘तिब्बत जाने व्यापारीको सुरक्षा मिलाइएको छ’

फरक प्रसंगमा डिआइजी जोशीले छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा ब्यापारको लागि जाने यार्सा ब्यापारीको सुरक्षाको प्रबन्ध गरिएको बताए। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हालसम्म जिल्ला शान्त नै रहेको र अन्य जिल्लामा जस्तो विप्लव गतिविधिको प्रभाव डोल्पामा नरहेको स्पष्ट पारे।

तिब्बततिर यार्सा व्यापारीको जाने क्रम शुरु भएकाले बाटोमा लुटपाट चोरी डकैती लगायतका अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको ब्यापारी स्कर्टिङ सुरक्षा गस्ती पठाइएको सिडिओ केशरीले बताए।

उपल्लो डोल्पाको सीमा क्षेत्रसंग जोडिएको तिब्बतको मोरिम्ला र क्याटो नाका वर्षेनी अस्थायी रुपमा १५ दिनको लागि खुला हुने गर्छ। 

प्रकाशित: १९ श्रावण २०७६ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App