७ वैशाख २०८१ शुक्रबार
समाज

याैन जिज्ञासा मेटाउँदै किशाेरी

काठमाडौं–तपाईं १० देखि १९ वर्ष उमेर समूहको हुनुहुन्छ ? तपाईंलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अप्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानीको प्रसूतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढ्दो छ ।

क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीका कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ । क्लिनिकमा सोमबार भेटिइन् कोटेश्वरकी १५ वर्षीया एलिना खत्री (नाम परिवर्तन) । उनी तीन महिनादेखि महिनाबारी रोकिएपछि त्यहाँ आएकी हुन् । अविभावकले लिएर आएको उनले बताइन् । उनी उपचारको प्रक्रियामा छिन् ।

रोप्लाकी कृष्णा सुनार (नाम परिवर्तन) १९ वर्षकी भइन् । तीन महिनाकी गर्भवती उनी स्वास्थ्य परीक्षण गराउन सोमबार नै प्रसूतिगृह पुगेकी हुन् । एक वर्षअघि विवाह गरेकी उनमा अहिल्यै बच्चा जन्माउने सोच थिएन । प्रजनन स्वास्थ्यबारे जानकारी नहुनाले गर्भवती बन्न पुगेको उनले बताइन् । ‘पढाइ सकेर जागिर खाउँला भन्ने थियो, बीचैमा यस्तो भयो’, उनले भनिन् ।

अस्पतालमा समय नपुगी विवाह गरेर गर्भवती बनेका थुपै्र किशोरी भेटिए । विवाह नगर्दै गर्भवती भएका किशोरी पनि भेटिए । अस्पतालले यो सेवा लिन आउने किशोर किशोरीको संख्या बढिरहेको जनाएको छ । सेवा सुरु गरेको नौ महिना भयो, यस अवधिमा १७ सय किशोर किशोरीले सेवा लिइसकेको क्लिनिकका संयोजक डा. हाजिरमान राईले बताए । ‘प्लस टु पढ्नेहरू आफैं आउँछन्, स्कुले नानीहरूलाई अभिभावकले ल्याउँछन्’, डा. राईले भने ।

उनका अनुसार कोही जोखिममा परेर आउँछन्, कोही सामान्य परामर्श लिन । किशोरीहरू असुरक्षित यौन सम्पर्क भएमा तथा अनिच्छित गर्भ रहेमा र महिनाबारी बिगे्रको अवस्थामा समाधान खोज्न आउँछन् ।  ‘कतिपय यौन रोग लिएर पनि आउँछन्’, डा.राईले भने । आइतबार मात्रै दुई किशोरी गर्भपतनका लागि पुगेका थिए । तीमध्ये एउटी १५ वर्षीया अविवाहित र अर्की १७ वर्षीया विवाहित थिए । अविवाहित किशोरी स्कुल पढ्छिन् भने विवाहित कक्षा ११ मा । यी दुवै अज्ञानता र आवेगका कारण यस्तो अवस्थामा पुगेको डा. राईको भनाइ छ ।

यो सेवा १० देखि १९ वर्ष उमे समूहकालाई उपलब्ध छ । किशोर अवस्थामा भावानात्मक आवेग बढी हुने र गल्तीसमेत गर्ने कारण गर्भवती बन्न पुग्ने गरेको डा. राईले बताए । उमेर नपुगी गर्भवती बन्न पुगेका किशोरीलाई क्लिनिकले एकपटकलाई गर्भपतन सेवा दिन्छ । साथै सुरक्षित यौन सम्पर्क, किशोर अवस्थामा आउने भावानात्मक उतारचढाव र सुरक्षित भविष्यका बारेमा परामर्श दिइन्छ ।

  अस्पतालको बहिरंग विभागमा आएकालाई किशोर किशोरी उमेर समूहको देखेपछि सीधै यो क्लिनिकमा पठाइन्छ । मानसिक रुपमै असर परिसकेका किशोर किशोरीलाई भने मानसिक परामर्शका लागि सिफारिस गरिन्छ  ।
किशोर किशोरीले भावानात्मक आवेगवश ठूला गल्ती गरी भविष्य नै बिगार्न पुग्ने भएकाले यो सेवा महŒवपूर्ण भएको डा. राई बताउँछन् । ‘आवेगमा गर्भवती बनेकी एक किशोरीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन्’, उनले भने ।

प्रसूतिगृहका साथै १९ जिल्लामा यो सेवा विस्तार भइसकेको छ । ती जिल्लाका उपस्वास्थ्य चौकीमा पनि यो सेवा विस्तार भइसकेको छ । क्लिनिकले अन्य स्वास्थ्यकर्मीलाई पनि यसबारे तालिम दिँदै आएको छ । भविष्यमा देशभर यो सेवा विस्तार गर्ने योजना छ । स्वास्थ्य तालिम केन्द्र, परिवार स्वास्थ्य महाशाखा, आधार नेपाल र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । नेपालमा किशोर किशोरी उमेर समूहको हिस्सा कुल जनसंख्याको २४.१९ प्रतिशत छ ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App