coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

दिपकुमार उपाध्याय।

काठमाडौं–भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा  उपाध्यायले भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए। ‘एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भइसकेको छ,’ उनले भने, ‘प्रशासनिक संयन्त्रको बैठकपनि नियमित भइरहेको छ। दुई देशको प्रबुद्ध समूहको बैठक बस्दैछ। अब हामीले नकारात्मक टिप्पणी गर्नुहुँदैन।’

उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब शान्तिपूर्ण रुपमा नेपालले दुई छिमेकीको विश्वास लिएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए।

‘सन्तुतिल रुपमा दुई छिमेकीसँग सम्बन्धलाई अगाडि बढाए नेपाललाई फाइदा छ,’ उनले भने,‘ नेपालको भारतसँगको सम्बन्ध सुध्रिँदै छ, अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नुपर्छ।’

उपाध्यायले चीनलेसमेत नेपालको आर्थिक विकास र आपूर्तिकालागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने बताए।

उनले रिती रिवाज, धर्म, सँस्कृति, सामाजिक सम्बन्धले दुई मुलुक बाँधिएकाले अलग हुनै नसक्ने भन्दै अब नेपालले आफ्नो आन्तरिक राजनीति मिलाएर अघि बढ्नु पर्ने उल्लेख गरे।

उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जान सुझाव दिएको उल्लेख गर्दै अहिले पनि करेक्सन गरेर सच्याउने ठाँउ रहेकोले आफ्नो आन्तरिक राजनीति मिलाउनतर्फ लाग्नु पर्ने बताए।

‘संविधानको कार्यान्वयनमा अहिले चुनौति छ,’ उनले भने,‘ यो संसदको अवधी भित्रै अर्को चुनाव गर्न नसके मुलुक भयंकर रिक्ततामा फस्छ, मुलुक अप्ठ्यारो स्थितिमा पुग्छ । हामी संकट उन्मुख छौं। त्यसैले कमजोरी सच्याउनु पर्छ।’

 

प्रकाशित: १४ असार २०७३ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App