८ वैशाख २०८१ शनिबार
प्रवास

पर्यटन, लगानी र नागरिकतामा केन्द्रित

रोम - १२ औं युरेपेलि गैर आवासिय नेपाली संघ (एनआरएनए) को बैठक इटालीको रोममा शुरु भएको छ। बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले गरे। 'युरोपका एनआरएनएहरुको उदेश्य देश विकासका लागि लगानी र पर्यटन प्रवद्र्धन’ नाराका साथ शुरु कार्यक्रममा पर्यटन, लगानी र नागरिकतासहित विभिन्न विषयमा छलफल हुने छ।

उद्घाटन कार्यक्रममा मन्त्री ढकालले नेपालको समग्र विकास गर्ने अहिले उचित समय रहेको बताए। तीनवटै तहको सरकार बनिसकेको उनीहरुले अहिले आर्थिक रुपान्तरणमा आफ्नो ध्यान केन्द्रित गरेको उनको भनाई थियो। साथै लगानी सम्मेलनदेखि लगानी गर्नका लागि वातावरण तयार पार्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइसकेकाले विदेशमा रहेका नेपाललीलाई लगानी गर्न अनुरोध गरे। मन्त्री ढकालले नेपालको विकास गर्न स्वदेशी स्रोतले नपुग्ने भएकाले विदेशी लगानी भित्र्याउन सरकारले प्रयत्न गरिरहेको बताए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा कुन दलको सरकार छ नभनी मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने बेला आएको बताए। नेपालको विकासका लागि पर्यटन र जलस्रोत नै मुख्य विषय रहेको उनको भनाई थियो। गैरआवासीय नेपालीले सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रुपमा मनाउने भनेकोमा खुसी लागेको नेता कोइरालाले बताए।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुक सफल नभई व्यत्तिगत सफलताले मात्रै केहि नहुने धारणा राखे। उनले बोलेर मात्रै केही नहुने हुनाले अब काम गरेर देखाउने बेला आएको बताए।'सबै नेपालीको एउटै सपना छ, मेरो देश अति सुन्दर छ। तर हामी आर्थिक रुपमा गरिब छौँ। आर्थिक गरिबीलाई माथि उकास्न नसके औचित्य छैन’ उनले भने।

त्यस्तै पूर्व अध्यक्ष जीवा लामिछाने गैर आवासिय नेपालीहरुलाई नेपालमा लगानी बढाउन आह्वान गरे। पहिलो पुस्ताको ड्यासपोरा भएकाले भावना सँगसँगै धेरै जिम्मेवारी पुरा गर्नुपर्नेमा उनको धारणा रहेको छ। साथै एनआरएनए संस्थाको मूल उद्देश्य साकार पार्न धेरै सोच्ने बेला आइसकेको लामिछानेको धारणा छ। अब औपचारिक भन्दा पनि कार्यमुखी हुन जरुरी देखेको उनले बताए। नेपाल सरकारले गैरआवासीय नेपालीले उठाउँदै आएका धेरै कुराहरुलाई सम्बोधन गरेकाले अब नेपालमा गैर आवासिय नेपालीले गर्नुपर्ने बेला आएको बताए। 'मुलुकलाई केहि दिने पालो हाम्रो हो। मुलुकमा राजनीतिक स्थीरता आएको छ’’ उनले भने।

वर्तमान अध्यक्ष भवन भट्टले पर्यटक भित्र्याउनका लागि संसारभर रहेका गैरआवासीय नेपालीले आकर्षक काम गर्नुपर्ने धारणा राखे। उनले कार्यक्रममा हरेक नेपालीलाई नेपालको आकर्षित गर्ने गरी सामाजिक सञ्जालमा कुनै विषय पोष्ट गर्न अनुरोध समेत गरे। अहिले नेपालमा काम गर्ने उपयुक्त समय रहेकाले आफ्ना साथीभाई र आफैले पनि नेपालमा लगानी गर्न भट्टले आह्वान गरे।

पूर्व अध्यक्ष शेष घले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी गैरआवासीय नेपालीहरुले सहयोग गर्न अनुरोध गरे। नेपालीले नेपालको विकास गर्न सक्ने भएकाले अब सबैको ध्यान त्यता केन्द्रित हुनुपर्ने पर्वू अध्यक्ष घलेको धारणा रहेको छ। कार्यक्रममा संस्कृत पर्यटन तथा नागरिक उड्ययन सचिव मोहनकृष्ण सापकोटा नेपाल भ्रमण वर्ष २०२० को विषयमा जानकारी गराए।

कार्यक्रम समापन गर्दै एनआरएनए युरोप संयोजक शीव कुमार बरुवालले गैर आवासिय नेपालीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचास प्रसार गर्न तत्पर रहेको बताए। युरोपबाट क्षेत्रबाट नेपालको पर्यटनमा महत्वपूर्ण योगदान गर्न सकिने उनको धारणा रहेको छ। युरोप बैठकले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि एउटा कार्ययोजना बनाउने र त्यो घोषणापत्रका रुपमा जारी गरिने बताए।

प्रकाशित: १९ श्रावण २०७६ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App