८ वैशाख २०८१ शनिबार
अन्य

नबनेको फिल्मकी हिरोइन

पहिलोपटक नेपालबाहिर यात्रा गर्दै थिइन् उकुशा गिरी। काठमाडौंदेखि इन्डिया उडेको फ्लाइट ल्यान्ड हुन एकदमै ढिला भयो। त्यसपछि उनको केरला जाने प्लेन छुट्यो। उनी त्यहाँ एक्लै भइन्। कसैलाई फोन गर्न इन्डियन सिम पनि थिएन। निकै डराइन्, आत्तिइन् पनि। आँखा रसाइसकेका थिए। पछि एयरपोर्टकै एकजना व्यक्तिले उनलाई एउटा होटलमा राखिदिए। एक्लै अञ्जान शहरको कोठामा सुत्न पनि सकिनन्। एक घण्टा जति आँखा चिम्लने प्रयास गरिन्। निद्रा पनि के लाग्थ्यो ! उनलाई जीवनमा पहिलो पटक, मन आत्तिदा कसरी निद्रा पनि गायब हुँदोरहेछ भन्ने थाहा भयो। भोलिपल्ट बिहानै केरला जाने प्लेन चढिन्। त्यसपछि मात्र आफ्नो उद्देश्य पूरा हुने भयो भन्ने लाग्यो र लामो सास फेरिन्।

यो दुई वर्षअघिको कुरा हो। त्यतिखेर उकुशा १९ वर्षकी थिइन्। ‘मिस् एसिया २०१७’को अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन जाँदा उनले एयरपोर्टमा यस्तै अप्ठेरो अवस्थाको सामना गर्नुप-यो। नेपालमा ‘मिस् एसिया २०१७’को क्राउन पहिरिँदै गर्दा उनले सोचेकी पनि थिइनन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा यस्तो बिजोग होला।

१३ प्रतिस्पर्धीलाई उछिन्दै विजयी भएकी उकुशा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि जित्ने आत्मविश्वासले नेपालबाट भारत उडेकी थिइन्। तर, एयरपोर्टमै त्यस्तो भयो।

‘त्यो बेला नेपालको एयरपोर्टमै कहाँबाट कता जाने थाह थिएन,’ उनले सास्ती खुलाउँदै भनिन्, ‘जीवनमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा एक्लै हुँदा अनि इन्डियाको त एयरपोर्ट पनि ठूलो ! मलाई त के गर्ने कसो गर्ने भयो।’

केरला पुगेपछि उनले त्यहाँको माहौल हेरिन्। सबै प्रतियोगी एक से एक थिए। जित्छु भन्ने आत्मविश्वास हराउन थालिसकेको थियो। तर, जसोतसो आफ्नो बेस्ट नै दिन खोजिन्। फिनालेसम्म पुग्दा जित्ने आश भने मारिसकेकी थिइन्। रित्तै हात नेपाल फर्कनुपर्ने भो भन्ने उनको मनमा थियो। तर, फिनालेमा ‘मिस् ब्युटीफुल आइज’ सब टाइटलको अवार्ड हात पारिन्।

‘त्यो सब–टाइटलको पनि आशा थिएन,’ उनले कडा प्रतिस्पर्धाबारे जनाउ दिँदै भनिन्, ‘फिनालेमा मिस् बाङ्लादेश र मलाई निर्णायकले बोलाएर हाम्रो आँखा हेर्नुभयो। तर, मैले त्यो मिस् ब्युटीफुल आइजको सब–टाइटल जितेँ।’

सब टाइटल जितेपछि आयोजक र उनको परिवारमा छुट्टै खुशी थियो। केरलाको प्रतियोगितामा म्यान्मा (बर्मा)को एकजना व्यक्ति उनीसँग नेपालीमा कुरा गर्ने गर्थे। त्यतिखेर बिरानो देशमा पनि उनलाई आफ्नोपनको अनुभव हुन्थ्यो। अन्तर्राष्ट्रिय प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको उकुशा बताउँछिन्। विभिन्न देशबाट आएका प्रतिस्पर्धी अनि प्रतियोगिताबाट अनुभव गरेका कुराले आफूलाई नेपालको मोडलिङमा निकै सहज भएको उनी सुनाउँछिन्।

सुरुमा त उकुशालाई सौन्दर्य प्रतियोगिताहरुमा खासै रहर थिएन। तर केरलाकै प्रतियोगिताबारे पनि सुप्रवाह भन्ने साथीबाट सुनेकी थिइन्। किनकि सुप्रवाह पहिल्यै ‘मिस एसिया’मा सहभागी भएर आएकी थिइन्। सुप्रवाहले नै उनलाई ‘मिस एसिया’मा जान उत्साह दिइन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा सब–टाइटल जितिसकेपछि उकुशा फुरुङ्गै थिइन्।

मोडलिङ यात्रा
काठमाडौंको एम्बिसन कलेजबाट १२ सकेपछि उनले मोडलिङ थालेकी हुन्। १२ मा म्यानेजमेन्ट विषय पढिन्। उनका दिदी पर्नेहरु पहिल्यै मोडलिङमा भिजिसकेका थिए। त्यसैले उनलाई मोडलिङतिर आकर्षण बढ्यो। ‘इभेन्टहरुबाट मोडलिङ सुरु गरेको थिएँ। मान्छेहरु चिन्न र मोडलिन गर्न सजिलै भयो। बिस्तारै ¥याम्प सोहरु सुरु गरेँ। टिभीसी पेपर एडहरु गरेँ।’

परिवारले पनि उनलाई मोडलिङमा साथ दियो। उकुशालाई त बुबा कुमार गिरीले नै मोडलिङमा प्रोत्साहन गरे। ‘पहिलेदेखि नै म अलि नक्कली थिएँ,’ उनले हाँस्दै भनिन्, ‘मेरो चालामाला देखेर हुनुपर्छ, आमा–बुवाले नै मोडलिङका लागि प्रोत्साहित गर्नुभयो।’

उनका बाबा कुमार त अहिले पनि कस्ता लुगा लगाउने भनेर सुझाउँछन्। ‘मैले फोटोसुट गरेको तस्बिर सुरुमा उहाँले नै फेसबुकमा सेयर गर्नुहुन्छ,’ उनले दङ्ग पर्दै सुनाइन्, ‘निकै सपोर्टिभ हुनुहुन्छ। त्यही भएर पनि होला, म निर्धक्क मोडलिङमा लाग्न पाएँ।’

मोडलिङ सुरु गर्दाका बेला कतिले अवाञ्छित प्रस्तावहरु पनि राख्थे तर उनले त्यस्ता कुरामा ध्यानै दिइनन्। मोडलिङमा लागेका कति मोडलहरु त्यस्ता कुरामा बहकिएका उनले देखिन् पनि। ‘इभेन्टहरुमा नम्बर माग्ने त हुन्छन् नै तर आफैँले त्यस्ता कुरा कसरी सामना गर्ने भन्ने चाहिँ बुझ्नुपर्छ,’ उनले भनिन्।
एक बहिनी र भाइकी दिदी उकुशालाई पछिल्लो समय च्याउसरी बढेका सौन्दर्य प्रतियोगिता देख्दा के लाग्छ त?

नेपालमा गुणस्तरमा ध्यान दिने सौन्दर्य प्रतियोगिता निकै कम रहेको उनलाई लाग्छ। मिस नेपाल बाहेकका अन्य सौन्दर्य प्रतियोगितामा खासै गुणस्तर उनी देख्दिनन्।

उनी भन्छिन्, ‘हरकोही मिस नेपाल भनेपछि किन हुरुक्क हुन्छ त?  किनकि त्यसमा क्लालिटी छ नि त ! मैले मिस एसिया जितेँ। तर पनि त्यसको बारेमा खासै कभरेज भएन। सायद आयोजक पनि कमजोर भएर होला। त्यसैले सौन्दर्य प्रतियोगिताका आयोजकले क्वान्टिटी भन्दा पनि क्वालिटीमा बेसी ध्यान दिनुपर्छ।’
अहिले बालबालिकादेखि युवा अनि महिलाहरुको आकर्षण यस्ता सौन्दर्य प्रतियोगितातर्फ बढ्न थालेपछि च्याउसरी प्रतियोगिताहरु सुरु भएको तर्क गर्छिन् उकुशा। व्यावसायिक हिसाबले पनि आयोजकहरु यसतर्फ तानिएको उनको भनाइ छ।

‘अहिले त, एकघर एक टाइटल विनर, क्राउन विनर भइसक्यो,’ व्यंग्यात्मक शैलीमा उनले सुनाइन्, ‘यहाँ त किड, युथ, म्यारिड वुमनसम्मका लागि ब्युटी पेजेन्ट छ। कहिलेकाहीँ त बिजोगै लाग्दोरहेछ।’

नबनेको फिल्मकी हिरोइन
मिस ब्युटिफुलको अवार्ड जितेर नेपाल फर्किएलगत्तै उनलाई फिल्मको अफर आयो। सौन्दर्य प्रतियोगिताका अन्य विजेताझैं उनले पनि सुरुमा त फिल्म नगर्ने नै कुरा गर्थिन्। तर, फिल्महरुको अफर आउन थालेपछि यतातिर उनको झुकाव भने बढ्न थाल्यो।

फिल्मका लागि बुबा कुमार गिरीले भने त्यति चासो देखाएनन्। किनकि उनको बुबा पनि एक जमानामा नेपाली फिल्म क्षेत्रमा थिए। बुबाले ‘सजाय’ भन्ने फिल्ममा अभिनय पनि गरेका थिए। केही म्युजिक भिडियोमा अभिनय गरिसकेका उनका बुबा अहिले व्यवसायमा नै बढी केन्द्रित छन्। उकुशाका लागि बुबाले फिल्ममा भविष्य देखेनन्। त्यसैले पहिलो फिल्म बुबाकै कम चासोका कारण उनले छोडिदिइन्।

एक दिन फिल्म निर्देशक मिलन चाम्सले उनलाई ‘ब्याचलर बन्टी’का लागि प्रस्ताव राखे। उनको अपोजिट अनमोल केसीको चर्चा भइरहेको थियो। त्यसपछि त उनले तुरुन्तै निर्माण टिमसँग भेटिहालिन्।

निर्माता सुदीप खड्काले स्क्रिन टेस्ट लिने कुरा गरे। फिल्मका लागि उकुशाले टोकन रकम १५ हजार पनि लिइन्। उता अनमोलले पनि टोकन रकम लिइसकेका थिए।

पहिलो फिल्म नै अनमोलसँग गर्न उनी निकै उत्साहित थिइन्। मिडियामा अनमोलको फोटोसँगै उकुशाको फोटो जोडेर समाचारहरु छापिन थाले। त्यसपछि त झनै उकुशामा छुट्टै उमंग छाउन थाल्यो। उता बुबा पनि सकारात्मक हुन थालेका थिए। दशैंबाट फिल्म छायाँकनमा जाने कुरा थियो। सबै तयारी सुरु भइसकेको थियो। तर, अन्तिम समयमा आएर फिल्मबाट अनमोल केसी बाहिरिए। ‘निर्देशक र निर्माता अनि अनमोलबीच खोई के भयो, अनमोलले फिल्म नगर्ने कुरा आयो,’ उनले फिल्म हातबाट फुत्कँदाको पीडा ओकलिन्, ‘अनमोल फिल्मबाट बाहिर निस्किएपछि मलाई त दिक्क लाग्यो। फाइनल कुराकानीका लागि निर्माता सुदीप, निर्देशक मिलन र म अनमोलसँग होटल अन्नपूर्णमा भेट्ने कुरा थियो। मिटिङमा अनमोल नै आइदिएनन्। हामीले कति कु¥यौँ। पछि स्क्रिप्ट मन नपरेको भनेर अनमोलले फिल्म छोडेको सुनियो।’

अनमोल मिटिङमा नआइदिँदा उनलाई कताकता फिल्म गर्ने जोश हराइसकेको थियो। बीचमा धेरैपल्ट फिल्मको छायाँकनको समय स्थगन भइसकेको थियो। यो फिल्मले धेरै झुलायो उकुशालाई। त्यसैले पनि फिल्मको प्रोजेक्ट नै रद्द हुँदा उनलाई खासै प्रभाव परेन।

पछि अर्कै हिरो लिएर फिल्म बनाउने कुरा नचलेको होइन, पहिलो फिल्म जुन धमाकेदार हुने अपेक्षा थियो, त्यो नभएपछि उनको जाँगर पनि मरेर आयो। क्रमशः फिल्म निर्माणको कुरा पनि सेलाउन थाल्यो।
यसरी एउटा धमाकेदार शुरुवात नहुँदै उकुशाको फिल्मी करियर सेलायो।

म्युजिक भिडियोमा उपस्थिति
फिल्म नगरे पनि हालै एउटा म्युजिक भिडियोमा उनी फिचर्ड भएकी छन्। गायक सुमन केसीको गीतमा उनले मोडल समिम खानसँग अभिनय गरेकी छन्। ‘म्युजिक भिडियो गर्न धेरै गाह्रो भयो,’ उनले भिडियो अनुभव सुनाउँदै भनिन्, ‘सायद पहिलो भिडियो भएर पनि होला ! अहिले आएर सम्झँदा रमाइलो लाग्छ। कतिले त मेरो अभिनयको तारिफ पनि गर्नुभयो।’

उनलाई नेपाली कलाकारहरुमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, नाजिर हुसेन मनपर्छन्।
हालै स्नातक अध्ययन पूरा गरेकी उकुशाको थप अध्ययनका लागि विदेश जाने तयारीमा छिन्।

प्रकाशित: १९ श्रावण २०७६ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App