७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुरमा सात स्थानीय निकाय

ललितपुर–ललितपुरका राजनीतिक दल जिल्लालाई सात स्थानीय निकायमा पुनःसंरचना गर्न सहमत भएका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत जिल्लाका विभिन्न राजनीतिक दल जिल्लामा सात स्थानीय निकाय बनाउन सोमबार सहमत भएका हुन् ।

स्थानीय तह पुनःसंरचना प्राविधिक समितिको दसैंपछि लगातार ४ दिन घनिभूत छलफल, विचार विमर्श र बहस भएको थियो । छलफल क्रममा दलहरूले एउटा महानगरपालिका, एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ४ गाउँपालिका बनाउन सहमति जुटेको ललितपुरका स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिए ।

जिल्ला पुनःसंरचना गर्न स्थानीय विकास अधिकारीको अध्यक्षतामा बनेको प्राविधिक समिति बैठकले साउनयता राजनीतिक दलसँग छलफल गर्दै आएको थियो । पुनःसंरचना प्रस्ताव अनुसार हालको उपमहानगरपालिकालाई महानगरपालिकामा प्रस्ताव  गरिएको छ भने गोदावरी र महालक्ष्मी नगरपालिका गाभेर उपमहानगरपालिका प्रस्ताव गरिएको छ । जिल्लाका वज्रबाराही, कार्यविनायक नगरपालिका र देवीचौर गाविस गाभेर  वज्रविनायक नगरपालिका बनाउने सहमति जुटेको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण व्यंजनकारले जानकारी दिए ।

त्यस्तै १८ वटा गाविस गाभेर ४ वटा गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । यसअन्तर्गत ठूलादुर्लुङ, गिम्दी, प्यूटार, आस्राङ गाभेर सुभानेवेंशी केन्द्र रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ भने कालेश्वर, चन्दनपुर, गोटीखेल, मानिखेल र बुखेललाई गोटीखेल केन्द्र रहने गरी गाभेर गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।
जिल्लाको दक्षिणी भेगका गाविस भारदेउ, चौघरे, शंखु र दलचौकी  गाभेर कोञ्जेसोम गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । यसको केन्द्र पल्लो चौघरे रहने छ । जिल्लाको चौथो गाउँपालिका खानीखोला बनाइएको छ । यसमा घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गाविस गाभिएका छन् भने गाउँपालिकाको केन्द्र भट्टेडाँडा रहने प्रस्ताव गरिएको छ ।
यसअघि राजनीतिक दलले ललितपुर जिल्लालाई ४ गाउँपालिका र ४ नगरपालिकासहित आठ स्थानीय निकाय बनाउनु पर्ने माग राखेका थिए । तर आयोगले सात निकाय हुने गरी पुनःसंरचना गर्न गत बिहीबार पत्र पठाएपछि प्राविधिक समिति बैठकले सात निकाय रहने गरी जिल्लाको स्थानीय निकाय पुनःसंरचना गरेको स्थानीय विकास अघिकारी दाहालले बताए । उनले भने, ‘हामीले  जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिसहित सात स्थानीय निकायमा पुनःसंरचना गर्ने गरी टुंगो लगाएका हौं । ’

 

प्रकाशित: २४ कार्तिक २०७३ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App