७ वैशाख २०८१ शुक्रबार
समाज

देउसीमा रक्सी मिसिएपछि...

काठमाडौं–भाइटीकाको राति बानेश्वर क्याम्पसछेउ देउसीभैलो कार्यक्रम थियो । एउटा समूहले देउसी खेलिरहेका बेला एक व्यक्ति हातमा धारिलो खुकुरी लिएर आए । रक्सीले मातेका उनले समूहमा रहेका विक्रम राई, विक्रम घर्तीमगर र होमबहादुर लिम्बुलाई  खुकुरीले हान्न थाले । राईको पेटमा खुकुरीले गम्भीर चोट लाग्यो । अन्य दुईलाई पनि खुकुरीले चोट लाग्यो । राईको अवस्था अझै चिन्ताजनक छ ।

रक्सीको मातमा बेपर्वाह खुकुरी प्रहार गर्ने देवेन्द्र शाही आइतबार पक्राउ परे । प्रहरीले घाइतेसमेत रहेका शाहीलाई थानकोट क्षेत्रबाट नियन्त्रणमा लियो । नेपाली सेनाका पूर्वजमदार शाही भाइटीकाको दिन खुकुरी प्रहार गरेर फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी नारायणप्रसाद चिमोरियाले रिसइबी र रक्सीको मातमा शाहीले खुकरी प्रहार गरेको बताए । उनका अनुसार एउटै समूहमा सामान्य विषयमा भएको झगडाले भीडन्तको रुप लियो । ‘सामान्य विषयमा भनाभन भयो, हात हालाहाल हुँदैगर्दा शाहीले खकुरी ल्याएर प्रहार गरेको देखिन्छ, थप अनुसन्धान हुँदैछ,’ डिएसपी चिमोरियाले भने ।

वृत्तका अनुसार राई, घर्तीमगर र लिम्बुले देउसी खेल्दै गरेकी इन्सा खत्रीलाई जिस्काए । इन्साका साथी अनिश खत्रीले जिस्काएको भन्दै तीनजनासँग झगडा सुरु गरे । समूहमा रहेका हरि श्रेष्ठ, सुवास तामाङ र रमेश रानामगरसमेत झगडामा सहभागी भए ।

झगडा बढ्दै गयो । ‘झगडा केटीको विषयलाई लिएर सुरु भयो, पछि खकुरी प्रहारसम्मको स्थिति आयो, समयमै उपचार सम्भव भएर मानवीय क्षति भएन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । उनका अनुसार देउसी खेल्ने समूहका अधिकांशले मादक पदार्थ सेवन गरेका थिए । ‘देउसीमा रक्सी मिसिनुले घटना भएको हो,’ ती अधिकारीले भने । प्रहरीले घटनालगत्तै पक्राउ परेका पाँचजनाविरुद्ध केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही थालेको छ । शाहीविरुद्ध कस्तो मुद्दा अघि बढाउने, टुंगो लागिसकेको छैन ।

प्रहरीका अनुसार गत साउनमा युवाबीच भएको सामूहिक झगडा (ग्याङ फाइट) मा एक युवकले ज्यान गुमाएका थिए । काठमाडौंको न्यू अरुणोदय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर बसेका सुशान्त श्रेष्ठको मृत्यु भएको थियो । युवतीको विषयमा दुई समूहबीच झगडा हुँदा श्रेष्ठको ज्यान गएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले युवकयुवतीबीच हुने विवाद र भीडन्तका घटना बढ्न थालेको बताए । उनका अनुसार आधुनिकताका नाममा भित्रिएको विकृतिले सामूहिक झगडामात्र होइन, अन्य सामाजिक अपराधसमेत बढेको छ । ‘हालको पुस्तालाई अनुशासनमा राख्न परिवारसमेत जिम्मेबार हुनुप¥यो, प्रहरीले त यस्ता घटना न्यूनीकरण र कारबाहीमा प्रयास गर्ने हो,’ एसएसपी थापाले भने ।
 

प्रकाशित: २४ कार्तिक २०७३ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App