coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काजका कर्मचारी फिर्ता गर्न निर्देश

काठमाडौं–खानेपानी तथा सरसफाइ मन्त्रालयले नियमविपरीत काज सरुवामा रहेका कर्मचारीलाई आआफ्नो ठाउँमा फिर्ता गर्न खानेपानी तथा ढल निकास विभागलाई निर्देशन दिएको छ । तीन महिना बितिसक्दा पनि विभागबाट काजमा खटिएका कर्मचारी नफर्केपछि मन्त्रालयका सचिवले मंगलबार यस्तो निर्देशन दिएका हुन् । निजामती सेवा ऐन, नियमावली अनुसार तीन महिनाभन्दा बढी काजमा बस्न पाइँदैन ।

अटेर गरी काज बसेका कर्मचारीलाई तोकिएको म्यादभित्र बरबुझारथ गरी आआफ्नो कार्यालयमा तुरुन्त फर्कने व्यवस्था मिलाउन महानिर्देशकलाई निर्देशन गरिएको छ ।
विभागमा कति कर्मचारी काजमा छन भन्ने थाहा नभएको मन्त्रालयले जनाएको छ । निजामती ऐनविपरीत केही कर्मचारी काजबाट नफर्केकाले निर्देशन दिनुपरेको  मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले बताए । उनले भने, ‘मन्त्रालयमा भएका सबै फिर्ता भइसकेका छन् । विभागमा केही नफर्केको थाहा हुन आएको छ ।’

नियमभन्दा बाहिर गई काजमा बसेका कर्मचारीलाई तुरुन्त सम्बन्धित निकायमा हाजिर हुन निर्देशन दिइएको प्रवक्ता सुवेदीले बताए । व्यक्तिगत लाभका लागि दरबन्दी भएको कार्यालय छाडेर आफूलाई पायक पर्ने कार्यालयमा काज वा सरुवा जाने प्रवृत्ति कर्मचारी प्रशासनमा छ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामती ऐन, नियमावलीविपरीत काज र सरुवाका कर्मचारीलाई फिर्ता गर्ने अभियान थालेकी थिइन् । सामान्यतयाः तीन महिना मात्र दरबन्दीबाहिरका स्थानमा सरुवा र काजमा जान पाउने व्यवस्था छ । तीन महिनाभन्दा बढी काजमा खटिनुपरेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने कानुनी प्रावधान  छ ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App