६ वैशाख २०८१ बिहीबार
कला

‘मुस्ताङे घर’ को परिकल्पना गर्दै विधाता

काठमाडौं - नेपालको हिमाली क्षेत्र मुस्ताङको प्राकृतिक सौन्दर्य क्यानभासमा उतारिएको छ । मुस्ताङमा रहेको पुरानो अपुरो दृश्यात्मक घरभित्रको सुन्दरतालाई क्यानभासमा कैद गर्न जति चुनौतीपूर्ण छ । त्यसको गहिराई बुझ्न त्यत्तिनै गम्भिर अध्ययनको आवश्यकता पर्दछ । मुस्ताङमा माटो र ढुङ्गाबाट बनेका घरहरुले सबैलाई लोभ्याउने गरेको छ । अर्को तर्फ त्यहाँको रहनसहन, बसोबास, संस्कृति आकर्षकको केन्द्र मानिन्छ । मुस्ताङको महत्व बोकेका चित्रकलाहरू ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा सजिएका छन् ।

चित्रकार विधाता केसीको मुस्ताङको ‘स्टक्चरल ब्युटी’ सिरिजको चित्रकला प्रदर्शनीमा त्यहाँका कलात्मक चित्रकलाहरू समेटिएका छन् । गत साउन १७ देखि सुरू भएको प्रदर्शनीमा मुस्ताङको माटो र ढुङ्गाको समिश्रणबाट बनाइएका घरदेखि बसोबास गर्ने मानिसको पुरानो रहनसहनलाई क्यानभासमा उतारिएको छ । यो उनको आठौं एकल चित्रकला प्रदर्शनी हो ।

नेपालमा फरक समुदायको फरक पहिचान छ । त्यो समुदायको मात्र पहिचान होइन, समाज र देशको पनि पहिचान भएकाले जोगाउन सबै लाग्नुपर्छ ।

‘मुस्ताङ सिरिजलाई प्राथमिकता दिन थालेको झण्डै पाँच वर्ष भयो । मुस्ताङ सिरिजका चित्र हेर्दा कलात्मक छ भएपनि त्यहाँभित्रको वास्तविकता भने डरलाग्दो छ,’ चित्रकार केसीले भनिन्, ‘पुराना घर घर निकै जोखिममा छन्। ‘मलाई मुस्तााङ नजिकको हिमाल र प्राकृतिभन्दा त्यहाँको सुन्दर घरहरु आकर्षित गरेको थियो । मुस्ताङका घरहरुले त्यहाँको सम्पूर्ण रितिरिवाज, संस्कृति र महत्वलाई झल्काएको छ । त्यहाँको ढुङ्गा माटोले नै अर्कै कथा बोकेको छ । ती घरका भित्ताहरुले सिङ्गो मुस्ताङलाई समेटेको छ । घरमा राखिएका स–साना झ्यालहरुको मुनि घ्यु रंगको माटो फ्याकिएको छ ।’ सन् २०१४ मा कलाकारिताको सन्दर्भमा मुस्ताङ पुगेकी उनले त्यहाँको रहनसहनलाई आफ्नो क्यानभासमा समेट्न थालेको पाँच वर्ष भइसक्यो ।

यसपटक उनले मुस्ताङको लोमानथानमा देखेका घरहरुलाई आफ्नो क्यानभासमा प्राथमिकता दिएकी छिन् । प्रदर्शनीमा समेटिएका ६ चित्रकलाहरूमध्ये एउटा मुस्ताङमा अवस्थित रातो माटोले पोतिएको गुम्बा समेत समावेश गरेकी छिन् । भत्किन लागेको पुराना घरहरुमा प्वाल परेका छन् । रंगहरू उडेर भित्रको काठ देखिएका छन् । त्यसलाई उनले कलात्मक शैलीमा क्यानभासमा समेटेकी छिन् ।

मुस्ताङमा प्रचलित बौद्ध अभ्यासमा पाँचवटा रङहरू प्रयोगको अर्थ छ– नीलोले ध्यान, रातोले जोस–उत्साह, सेतोले भरोसा, कालोले विद्वता र पहेँलोले स्मृति जनाउँछ । यसै भाव बोकेको रङ प्रयोग उनले गरेकी छिन् । नेपालमा रहेका अन्य आत्माहीन सुन्दर भूभागलाई कुरूप हुँदै गएकोमा उनले दुःख व्यक्त गरिन् । ‘नेपालभर रहेका विभिन्न ठाँउको आ–आफ्नै रैथाने वास्तुकलाहरू छन् । तिनलाई जोगाउन प्रयत्न गर्न नसकिँदा ती लोप हुँदै गएका छन् । सबै प्लास्टिक, सिसा र कंक्रिटको थुप्रो बन्दै गएका छन् । नेपालमा फरक समुदायको फरक पहिचान छ । त्यो समुदायको मात्र पहिचान होइन, समाज र देशको पनि पहिचान भएकाले जोगाउन सबै लाग्नुपर्ने हो,’ उनी भन्छिन्, ‘मुस्ताङलाई चिनाउने ल्यान्डस्केप मात्र हो र ?’

आर्थिक रूपमा सम्पन्न मुस्ताङमा सामाजिक परिवर्तन भइरहेका छन् । यहाँ रहेको धरोहर र दैनिकी भने भत्कँदै गएको अनुभव उनले गरेकी छिन् । ‘मुस्ताङे घरका भित्ताहरूले उनीहरूको संस्कृति कति सुन्दर छ भन्ने कुरा मजाले देखाउँछ । तर, अहिले ढुंगा र माटोले बनेका कलात्मक र बलिया घरहरू भत्किरहेका छन् । मुस्ताङमा सिमेन्ट पुगेको छ, रङ पुगेको छ । मेरो चित्रकलाहरूले तिनैमाथि व्यंग्य गरेको छ,’उनले भनिन् । प्रदर्शनी आगामी भदौ १४ सम्म चल्नेछ ।

 

प्रकाशित: १९ श्रावण २०७६ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App