५ वैशाख २०८१ बुधबार
अर्थ

भैरहवाबाट ४७ अर्बको सवारीसाधन र इन्धन आयात

बुटवल – भैरहवा भन्सारबाट एक वर्षमा साढे ४३ अर्बको सवारी साधन र इन्धन आयात भएको  छ। गत आर्थिक वर्ष ०७५/७६ मा यो नाकाबाट २३ अर्ब ३७ करोड ५९ लाख मूल्यबराबरका सवारीसाधन आयात भएको छ।

त्यस्तै २० अर्ब २१ करोड मूल्यको डिजेल र पेट्रोल आयात भएको छ। डिजल र पेट्रोल बाहेकको इन्धन एलपी ग्यास चार अर्ब एक करोड  र २८ करोडको मट्टितेल पनि आयात भएको छ।

भैरहवा नाकाबाट गत वर्ष सबैभन्दा धेरै आयात हुने सवारी साधनमा मोटरसाइकल परेको छ। गत आवमा १२ अर्ब ३३ करोड मूल्यका एक लाख ४५ हजार आठ सय ७९ मोटरसाइकल आयात भएको छ। अघिल्लो वर्षभन्दा यो संख्या ३४ हजारले बढी हो। अर्थात अघिल्लो आव ०७४/७५ मा एक लाख ११ हजार मोटरसाइकल आयात भएको थियो।

एक वर्षमा मोटरसाइकल आयातबाट मात्रै १२ अर्ब २९ करोडको राजस्व संकलन भएको छ। मोटरसाइकलमा मूल्यको एक सय २५ प्रतिशत भन्सार राजस्व र भ्याट बुझाउनु पर्छ। यो नाकाबाट आयात हुने मोटरसाइकलमा सबैभन्दा धेरै होन्डा, हिरो होन्डा, बजाज, यामाहा, सुजुकी कम्पनीका मोटरसाइकल छन्। विगतको तुलनामा स्कुटरको आयात पनि उल्लेख्य बढेको भन्सारका सूचना अधिकारी कलीराम पौडेलले बताए।

भैरहवा नाकाबाट अघिल्लो वर्षको तुलनामा जिप, कार र भ्यान आयात भने केही घटेको छ। भैरहवाबाट गत वर्ष चार अर्ब ९९ करोड मूल्य बराबरका सात हजार दुई सय ८१ जिप, कार र भ्यान आयात भएको छ।  अघिल्लो वर्ष सात हजार सात सय जिप, कार र भ्यान आयात भएको थियो। तीन हजार एक सय २९ वटा सिंगल पिकअप गाडी आएका छन्। जसको मूल्य एक अर्ब ७७ करोड रहेको भन्सारले जनाएको छ। तीन अर्ब ३४ करोड मूल्यका दुई हजार सात सय २९ ट्रक तथा मिनी ट्रक आयात भएका छन्।

ट्रक मिनी ट्रक पनि अघिल्लो वर्षभन्दा यसपालि करिब एउटा कम आएको छ। यो नाकाबाट डबल क्याप पिकअप गाडी नौ सय ४२, बस १२ सय ५२ वटा आयात भएका छन्। अघिल्लो आवको तुलनामा गत वर्ष ट्र्याक्टरको आयात भने झन्डै आधाले घटेको छ।  अघिल्लो वर्ष ६ हजार तीन सय १५ वटा आयात भएकामा गत वर्ष तीन हजार ३२ वटा ट्र्याक्टर आयात भएको हो। ट्र्याक्टरमा लगाइएको भ्याटका कारण आयात कम भएको भन्सार अधिकारी बताउँछन्। गत वर्ष तीन सय ७० माइक्रो बस आयात भएको छ।

यी सवारी साधनबाट मात्रै भैरहवा भन्सारले गत वर्ष २९ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा सवारी साधनको आयात केही घटे पनि राजस्व असुलीको एक नम्बरमा भने सवारी साधन नै छ। कुल राजस्वको ३५.९७ प्रतिशत हिस्सा सवारीसाधन आयातवापतको छ। यो नाकाबाट गत आवमा ठूला ट्रक, मिनीट्रक, माइक्रो बस, जिप, कार तथा भ्यानको आयात केही संख्यामा घटेको छ। तर महंगा ब्रान्डका गाडीको आयात भने बढ्दो छ। केही वर्ष अघिसम्म अल्टो, सेन्ट्रोजस्ता किफायती दामका कारको आयात अत्याधिक थियो। तर पछिल्ला वर्षहरुमा टोयटा, क्रेटा, भक्सवागन, फोर्डजस्ता कम्पनीका उच्च मूल्यका कारको आयात उल्लेख्य रहेको भन्सारका सूचना अधिकृत पौडेलले बताए।

सवारी साधनको आयात र प्रयोग बढेसँगै भारतबाट पेट्रोलियम पदार्थको आयात पनि बढेको छ। एक वर्षमा भैरहवाबाट १६ अर्ब ६८ करोडको दुई लाख ३७ हजार ६ सय २२ किलोलिटर डिजल आयात भएको छ। भन्सारका अनुसार अघिल्लो आवमा भन्दा गत वर्ष तीन अर्बभन्दा बढीको डिजेल आयात भएको छ। अघिल्लो वर्ष १३ अर्ब ६१  करोड मूल्य बराबरको डिजेल आयात भएको थियो।  त्यस्तै यसपालि पेट्रोल तीन अर्ब ५३ करोडको आयात भएको छ। भन्सारका सूचना अधिकारी पौडेलका अनुसार साढे तीन अर्बको ५५ हजार नौ सय चार किलोलिटर पेट्रोल आयात भएको हो। अघिल्लो आव ४८ हजार चार सय ८० किलोलिटर पेट्रोल आयात भएको थियो।

भैरहवा नाकाको व्यापार घाटा सबा दुई खर्ब
बढ्दो आयात र घट्दो निर्यातका कारण भैरहवा भन्सारको व्यापार घाटा बर्सेनि बढ्दो छ।  गत आवमा यो भन्सारको व्यापार घाटा सवा दुई खर्ब नाघेको छ। आव ०७५/७६ मा  व्यापार घाटा दुई खर्ब २४ अर्ब ५९ करोड ३० लाख पुगेको भन्सारले जनाएको छ।

अघिल्लो आव ०७४/७५ को घाटा दुई खर्ब ११ करोड थियो। यो नाकाबाट हुने वार्षिक कारोबारमा निर्यातको हिस्सा जम्मा १.९ प्रतिशत छ। गत वर्ष यो नाकाबाट दुई खर्ब २९ अर्ब तीन करोड ८९ लाख मूल्य बराबरका मालसामान आयात भएको थियो। सो अवधिमा जम्मा चार अर्ब ४४ करोड ५९ लाख मूल्य बराबरका वस्तु नेपालबाट निर्यात भएको छ।

भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले आयात बर्सेनि बढ्दै गए पनि निर्यात घट्दो क्रममा रहेको बताए। यो नाकाबाट औद्योगिक कच्चा पदार्थ एमएस बिलेट, मोटरसाइकल, ट्रक तथा पिकअप गाडी, जिप, कार, भ्यान, इन्धन, टायल–मार्बल र उपभोग्य वस्तुको आयात दर बर्सेनि बढ्दो छ भने निर्यात घट्दो छ। आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटाको ग्राफ बर्सेनि बढ्दै गएको भन्सारका अधिकारीहरु बताउँछन्।

गत वर्ष २४ अर्बको एमएस बिलेट, १६ अर्ब ६८ करोडको डिजेल, १२ अर्ब ३३ करोडको मोटरसाइल, आठ अर्ब ८६ करोडको मार्बल, चार अर्ब ९८ करोडको जिप, कार, भ्यान, चार अर्ब ५५ करोडको टायल, चार अर्बको एलपी ग्यास र तीन अर्ब ३४ करोडको ट्रक, मिनीट्रक आयात भएको छ। त्यस्तै तीन अर्ब ५३ करोडको पेट्रोल, एक अर्ब ७७ करोडको पिकअप गाडी आयात भएका छन्। आठ अर्ब ७४ करोडको चामल र तीन अर्बभन्दा बढीको आलु र प्याज आयात भएको छ।

रुपन्देही र नवलपरासीसँगै पश्चिम नेपालका विभिन्न जिल्लामा स्टिल उद्योग धेरै छन्।   ती उद्योगले उत्पादन बढाउँदै लगेकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थ एसएस बिलेटको आयात बढेको हो। सवारी साधनको आयातसँगै डिजेल र पेट्रोलको आयात पनि अघिल्लो वर्षभन्दा बढेको छ। टायल, मार्बल र खाद्यान्न तथा आलु र प्याजको आयात पनि बढेको तथ्यांकले देखाउँछ।

यो नाकाबाट निर्यात हुने मुख्य वस्तु अदुवा, दालचिनी, चिराइतो, रद्दी कागज, रोजिन टार्पेनटाइन, पिनाजस्ता सीमित वस्तु हुन्। केही वर्ष अघिसम्म निर्यात हुने मुख्य वस्तुमा अदुवा र दालचिनी पर्दथ्यो। तर करिब तीन वर्ष अघिदेखि भारतले नेपाली अदुवासँगै जडीबुटी निर्यातमा कडाइ गरेपछि भैरहवा भन्सारको निर्यात पनी घटेको हो। अदुवा तथा कृषिजन्य उत्पादन र जडीबुटीमा भारतले क्वारेन्टाइन चेकजाँचका नाममा दुःख दिन थालेपछि निर्यात घटेको भैरहवाका अदुवा व्यापारी निरज जैसवालले बताए।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने यो नाकाको व्यापार घाटा कम गर्न कृषिजन्य तथा जडीबुटीजन्य उत्पादनको प्रवद्र्धन र निर्यातमा जोड दिनुपर्ने बताउँछन्। देशभित्रका फलामजन्य खानी तथा अन्य स्वेदेशी कच्चा पदार्थको व्यवस्थापन तथा प्रयोगमा जोड दिनसके औद्योगिक कच्चा पदार्थको आयात घटाउन सकिने तर्क न्यौपानेको छ। निर्यात बढाउन भैरहवाको विशेष आर्थिक क्षेत्र सेज सञ्चालनमा पनि उनले जोड दिए। सेजको क्षमताअनुसार उद्योग स्थापना भइ सञ्चालनमा आए निर्यात उल्लेख्य रुपमा बढ्ने अपेक्षा गरिएको छ।

संसोधित सेज ऐनअनुसार उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने भएकाले सेजका उद्योगले भैरहवा नाकाको आयात निर्यातको आकडालाई सन्तुलित गराउने अपेक्षा लिइएको हो। तर, चार वर्षअघि निकै तामझामका साथ उद्घाटन गरिएको सेजमा अहिलेसम्म एउटा मात्रै उद्योग स्थापना भइ उत्पादन थालेको छ। लगानीकर्ताले उद्योग स्थापनामा तत्परता देखाए पनि सेजमा आवश्यक सबै सेवा सुविधा अझै विस्तार भइसकेको छैन।

प्रकाशित: १९ श्रावण २०७६ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App