४ वैशाख २०८१ मंगलबार
अर्थ

चीनमा लाेकप्रियता कमाउँदै कारागारका मुडा

झुम्का कारागारमा मुडा बनाउँदै कैदीबन्दी। फाइल तस्बिर : नागरिक

इटहरी – आकर्षक र गुणस्तरीय सामान बनाउन सके विश्व बजारलाई कब्जा गरेको उत्तरी छिमेकी चीनमा सामान निर्यात गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको झुम्का काराकारका कैदीबन्दी बनेका छन्।

सुनसरीको क्षेत्रीय कारागार झुम्काका कैदीबन्दीले बनाएका आकर्षक र गुणस्तरीय मुडाले चीनमा बजार पाएको हो। मंसिरयता (आठ महिनामा) कारागारमा बनेका २१ हजार पाँच सय सात मुडा चीन निर्यात भएको छ। रसुवाको केरुङ नाका भएर चीन निर्यात हुने मुडाको संख्या पछिल्लो समय बढ्दै गएको छ।

नेपाली उत्पादनले विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्दैन भन्नेका लागि गुणस्तरीय सामान उत्पादन गर्न सके बजारको अभाव छैन भन्ने उदाहरण यो बनेको छ। कैदीबन्दीले मुडा चीन निर्यात गरेर आठ महिनामा ५०/५५ लाख रुपैयाँ आर्जन गरेका छन्।

कैदीबन्दीले बनाएका मुडाको आकार अनुसार मूल्य निर्धारण गरिएको छ। कारागारमा बनेको १८ इन्चको ठूलो मुडाको दुई सय ८० रुपैयाँ मूल्य राखिएको छ। मध्यमको दुई सय ४० र सानोको दुई सय २० रुपैयाँ होलसेल मूल्य तोकिएको छ। कुर्सीका रुपमा प्रयोग हुने मुडाको भने अलग्गै मूल्य छ।

‘आठ महिनायता कारागारमा उत्पादित मुडामध्ये साढे २१ हजार थान चीन निर्यात भएको छ,’ जेलर कृष्णप्रसाद घिमिरेले शुक्रबार नागरिकसँग भने, ‘चीन निर्यातको संख्या क्रमशः बढिरहेको छ। निर्यात बढेका कारण यहाँका मुडा चीनमा लोकप्रिय बनेको अनुमान गर्न सकिन्छ।’

यहाँ उत्पादित मुडाको बजार चीन मात्र होइन। राधजानी काठमाडौंलगायत प्रमुख सहरमा पनि मुडा पुगिरहेका छन्। मंसिरयताको आठ महिनामा स्वदेशमा समेत गरेर कारागारबाट ६६ हजार पाँच सय ७५ मुडा बिक्री भएका छन्। यी मुडामध्ये सबैभन्दा बढी चीन निर्यात भएको हो। कारागार ब्लक २ का चौकीदार खड्गबहादुर राईले उत्पादित मुडामध्ये सबैभन्दा बढी चीन निर्यात गर्न व्यवसायीले खरिद गरेको जानकारी दिए।

२०६९ कात्तिक २३ मा क्षेत्रीय कारागारबाट १२ जना कैदीबन्दी सुरुङ खनेर भागेपछि प्रशासनले उच्च सर्तकता अपनाउँदै सुधार अभियान सुरु गरेको थियो। यसै क्रममा आवश्यक सीप सिकाएर आकर्षक मुडा बनाउन थालिएको हो।

मुडाले सजिलै स्वदेश र विदेशी बजार पाएपछि यसको उत्पादन पनि बढेको छ। कारागारका अनुसार गत मंसिरमा एक हजार एक सय पाँच, पुसमा दुई हजार ७८, माघमा एक हजार चार सय ४० र फागुनमा दुई हजार आठ सय ४० मुडा व्यापारीमार्फत चीन निर्यात भएको हो। यस्तै, चैतमा चीन निर्यात हुने मुडाको संख्या बढेर पाँच हजार सात सय ६० पुगेको थियोे। गत वैशाखमा पनि सोही संख्यामा मुडा चीन निर्यात भएको तथ्यांक छ। जेलर घिमिरेका अनुसार जेठदेखि साउनसम्म बेमौसमका कारण उत्पादन र निर्यात दुवै घट्ने गरेको छ। भदौदेखि फेरि बढ्न थाल्छ।

स्वदेशी बजारमध्ये सबैभन्दा बढी संख्यामा मुडा काठमाडौं जान्छ। कारागारका अनुसार पछिल्लो आठ महिनामा काठमाडौंमा आठ हजार एक सय २२ थान मुडा लगिएको छ। यसपछि क्रमशः धनुषाको ढल्केवर, सर्लाही, नारायणगढ, वीरगन्ज, पोखरा, गाइघाट, पथलैया, बुटवल, रौतहट, उदयपुरलगायत स्थानमा मुडा जाने गरेको जेलर घिमिरेले जानकारी दिए।

कारागारमा सीप भएकालाई मुडा बनाउने मात्र होइन। फर्निचरका सामान निर्माण गर्र्नेलगायतको व्यवस्था छ। कारागारको ब्लक १ र २ मा गरी झन्डै पाँच सय कैदीबन्दीले मुडा बनाउने गरेका छन्। यहाँ १० दिनमा तीन हजार मुडा तयार गरिन्छ। मुडा बनाउने कैदीबन्दीले पनि औसतमा १० दिनमा तीन हजार कमाइ गर्छन्।

कैदी बाराका राम इकवाल सहनी अर्डर आएर नियमित काम गर्न पाए मुडा बनाएरै दैनिक ६ सय रुपैयाँसम्म कमाउन सकिने बताउँछन्। उनले कुर्सी जस्ता मुडा बनाउँछन्। यही कारण अरु सामान्य मुडा बनाउनेको भन्दा कमाइ बढी हुन्छ। कुर्सी जस्ता मुडाका लागि भने माग कम आउने गरेको छ। क्षेत्रीय कारागारको ब्लक नं. १  र २ मा एक हजार सात सयभन्दा बढी कैदीबन्दी छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App