८ वैशाख २०८१ शनिबार
अर्थ

मुक्तिनाथका नयाँ मूर्तिमा पर्यटक आकर्षित

मुक्तिनाथ क्षेत्रमा स्थापित शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवको मूर्ति ।

मुक्तिनाथ (मुस्ताङ)–हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थ मुक्तिनाथमा गाउँलेले चार करोड रुपैयाँ खर्चेर स्थापना गरेका दुई नयाँ मूर्तिले पर्यटकको ध्यान खिचेको छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मुक्तिक्षेत्रमा उनीहरुले शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका मूर्ति ठड्याएपछि त्यहाँ पर्यटक झुम्मिन थालेका हुन् ।  

दिनहुँ मुक्तिनाथ आइपुग्ने आन्तरिक पर्यटक हुन् या अन्नपूर्ण चक्रीय पदमार्ग र लोमन्थाङबाट ओरी–दोरी गर्ने विदेशी दुवै मूर्ति भएको ठाउँमा पुगेर श्रद्धाको फूल चढाइरहेका देखिन्छन् । दुवै मूर्ति मुक्तिनाथको पर्यटकीय आकर्षण बनेका छन् । पर्यटक मूर्तिका फोटा खिचिरहन्छन् । त्यहाँको हावामा फरफराइरहेका बौद्ध मन्त्र अंकित रंगीन लुङदार र धच्र्यूमा रमाउँछन् ।      

नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्ध बौद्ध दर्शनका प्रणेता हुन् भने पद्यसंभव चाहिँ हिमाली भेकमा बौद्ध दर्शन फैलाउने गुरु । उनले नेपाल, भारत र तिब्बतमा बौद्ध दर्शनको प्रचार गरेका थिए । प्राचीन मुक्तिनाथ मन्दिर परिसरमा शाक्यमुनि बुद्धको मूर्ति बनाइएको छ । त्यस्तै मुक्तिनाथ बेस क्याम्प रानीपौवा बजारबाट दक्षिणमा गुरु पद्मसंभवको । ढुंगाबाट बनाइएको बुद्धको मूर्ति ३७ फिट अग्लो छ भने ढलोटबाट बनेको पद्मसंभवको मूर्ति २३ फिट ।

रानीपौवा गाउँका मुखिया एवं जनप्रिय युवा क्लबका अध्यक्ष नम्ग्या वाङदी गुरुङ (सुरज)का अनुसार बुद्धको मूर्ति बनाउन अमेरिकामा बस्दै आएका सोनाम लामाको एकल लगानीमा करिब दुई करोड रुपैयाँ खर्च भइसकेको छ । मूर्ति बनिसकेको छ, पार्क बन्ने क्रममा छ । त्यस्तै स्थानीय पुराङबासी मिलेर बनाएको गुरु पद्मसंभवको मूर्ति र पार्कमा पनि करिब दुई करोड रुपैयाँ खर्च भइसकेको छ ।

‘दुवै मूर्तिले मुक्तिनाथ आइपुग्ने पर्यटकलाई केही घन्टा भुलाउन सहयोग पु¥याएका छन्,’ गुरुङ भन्छन्, ‘यी मूर्ति मुक्तिनाथका गहना बनिसके ।’   साझा तीर्थका रुपमा हिन्दु र बौद्धमार्गीले मुक्तिनाथलाई पूज्दै आएका छन् । मुल मन्दिरभित्रको एउटै मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने त्यसैलाई बौद्धमार्गीले नाग देवता लुवाङ ग्याल्बो भनेर पूज्छन् । मुक्तिनाथ दर्शनले पाप पखालिने दुवै धर्मावलम्बीको साझा विश्वास छ ।

हिन्दु र बौद्धमार्गी दुबैले मुक्तिनाथको महिमा गाउँछन् । हिन्दु ग्रन्थका अनुसार उहिल्यै मुक्तिनाथमा ब्रह्माले यज्ञ गरेका थिए । बौद्ध मान्यता अनुसार बौद्ध धर्म फैलाउने यात्रामा निस्किँदा गुरु पद्मसंभव मुक्तिनाथमा केही समय ध्यान बसेका थिए । मुक्तिनाथ क्षेत्रमा नरसिंह, ज्वाला माई लगायत गुम्बा छन् ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App