कार्यदिशाकै करामत हो त ?

आइतबार, १९ साउन २०७६, ०८ : ५७ भैरव रिसाल

नेपाल कम्युनिस्ट पार्टीको कल्ले के जिम्मेदारी पाउने भन्ने भागबन्डा यो साउन २८ गतेसम्मका लागि टरेको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक भएको घोषणा भएयता वास्तवमा दुई अध्यक्षबाहेक अन्यलाई कुनै जिम्मेवारी छैन। क्रियाशील राजनीति गर्ने नेतादेखि समर्थकसम्मलाई पार्टी कामको कुनै जिम्मेदारी नहुनु, कार्यक्षेत्र नतोकिनु एकप्रकारले राजनीतिक मृत्यु होइन र ! यो त साह्रै नकाम भयो। नेकपामा त्यत्रा मान्छे के गरिबस्छन्, के गरेर दिन काट्छन् ? उस्तै जाँगरिला युवाले विद्यावारिधि नै गरे पनिसमय पुग्छजस्तो लाग्छ। एक प्रस्तावित युवा केन्द्रीय सदस्य मसँग भन्दै थिए–‘पार्टीले केही काम दिएन। के गरौँ, के गरौँ लाग्यो, ल (कानुन) को जाँच दिएँ।’ उनी यो परीक्षा दिन योग्य रहेछन्। होलान् पास पनि। तर सबै नेकपा काम्रेड त्यस्ता हँुदैनन्। उनीहरूको अमूल्य समय त त्यसै खेर गएन र ! कति काम्रेड ‘होलटाइमर’ (पूर्णकालीन) थिए होलान्।

तिनको हालत कति पातलो भयो होला?सबैजनामाधवकुमार नेपाल होइनन्, न हुन्झलनाथ खनाल नै। वामदेव गौतम, भीमबहादुर रावल, घनश्याम भुसालहरू के गर्दा हुन् भन्ने लाग्छ। कृष्णगोपालश्रेष्ठले तै पार्टीलाई हुने काम पाएका छन् क्यार ! त्यस्ता भाग्यमानी पनि अरू हुन पाएनन्। यसो हेर्दा बिचल्ली पो छ त हो, आजको नेकपावृत्तमा ! तापनि के देखेर हो, अरू वामपन्थी र नव वामपन्थीहरू धामाधम नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् भन्ने समाचार आइरहेका छन्। म आफैसँग प्रश्न गर्छु– ‘किन होला यो स्थितिमा पनि नयाँ–नयाँ मान्छे नेकपामा प्रवेश गरेका ?’

सबै बुँदामा सहमति भैसकेर पनि स्कुल विभागको नेतृत्व जनताको जनवादवालाको हातमा कि जनताको बहुदलीय जनवादवालाको भन्ने टकरावले नै हो पूर्ण एकीकरण हुन बाँकी रहेको ?

कि बाहिरी होस्टे हैँसे खोजेको ?
पार्टी एक भएपछि धेरैवटा पेसी, तारेख तोकिए, पार्टीका सम्पूर्ण तह एकीकरण टुंगिने र प्रत्येकको जिम्मेदारी पनि तोकिने। तर अहँ हुन सकेन,१४ महिना नाघिसक्दा पनि! कति कष्ट हुँदोरहेछ त पार्टी चलाउन नेताहरूलाई ! केही दिनअघि पार्टीको स्कुल विभागबाहेक अरू सबै मिल्यो भनिएको थियो। तर स्कुल विभाग काम्रेड नारायणकाजी श्रेष्ठ र काम्रेड ईश्वर पोख्रेलले दाबी गरेपछि उल्झन आयो। तब नेकपाले एउटा उपाय निकालेछ। कुन–कुन काम्रेडलाई के कस्ता काम मन पर्छन्, त्यो समेत बुझेर जिम्मेदारी तोक्ने रे ! कति राम्रो उपाय र जरुरी उपचार ?स्कुल विभागको नेतृत्वबारेपार्टीका माथिल्ला तहका नारायणकाजी र ईश्वर पोख्रेलबीचकै रडाको नमिलेर पार्टी अलपत्र परेको दुनियाँलाई थाहा छ। त्यो मिलाउन नसकेर यही साउन २८ को तारेख लिएको तीतो तथ्य सबैलाई थाहा छ। तर नेकपाले आमाको दूध मुखले खाएर होइन, कानले चुसेर हुर्केका भन्नेजस्ता कुरा गरेर केटाकेटी फकाउने किमिसको काम गरेको छ। साँच्चै एमाले–माओवादी एकता, परिस्थिति परिपक्व नबन्दै घोषणा भएको हो ? त्यसै भएर हो यो पार्टी कामको छिनोफानो हुन नसकेको ? कि फेरि बाह्य गुप्तचरी संस्थाको होस्टे हँैसे चाहियो ?

कति पुग्नु भो, याद गर्ने कि ?
एउटा कुरा अनौठो लागेको छ, केही समय यतादेखि। तत्कालीन एमाले नेता, एउटा कार्यकालका पार्टी प्रमुख एवं पूर्वप्रधानमन्त्री समेत भएका कामरेड झलनाथ खनालको उपस्थिति। उहाँ कति धेरै सन्तुष्ट हो ? नेपाली राजनीतिक प्राणीमा यस्तो सन्तोष अपवादजस्तो लाग्छ। उहाँका विषयमा पार्टीभित्र कुनै विवाद छैन। स्कुल विभागमा विवाद भन्ने कुरा पार्टीभित्र होइन,पत्रकारहरूको पत्रकारिता मात्रै हो भन्नुभएछ। त्यति भन्न यस्तो गर्मीमा झापा पुग्नुभएछ। काठमाडौँमै भन्ने आँट गरेको भए नि भैजान्थ्यो। यो हत्केलाले सूर्य छोप्न लागेजस्तो भएन र ! खनालले आफ्नो आकांक्षा सहज र पाच्यहुने गरी सार्वजनिक गर्ने भद्र एवं शालीन रणनीति अख्तियार गर्नुभएको ठान्छु। राष्ट्रपतिको निर्वाचन प्रसंमा झलनाथजीले प्रस्ताव गर्नु भो– ‘पार्टीले जे जिम्मेदारी सम्हाल  भन्छ म त्यसका लागि तयार छु। राष्ट्रपति बन भन्छ भनेपनि पार्टीको वचन उल्लंघन गर्दिनँ।’ कति टाठा कुरा ! हेर्दा यस्ता टाठाबाठा कुरा गर्न नजान्नेजस्तो लाग्ने, तर भित्तैमा पु¥याउने चातुर्य लाग्यो ! राष्ट्रपति बन भन्दा कसले  पो नाइँ भन्दो हो र !यसपल्ट भने स्कुल विभागको नेतृत्वगर्ने विषयमा पार्टीभित्र कुनै कचकच छैन भनेर साँचो कुरा बोल्नुभएन। दुनियाँलाई थाहा पाइसकेकोकुरामा ढाकछोप गर्दा होस पु¥याउनुपर्छ।

पार्टीभित्र यो स्कुल विभाग आज मूल मुद्दा बनेर आएको छ, तर हाम्रा स्वनामधन्य नेता झलनाथ खनाल झापा पुगेर कुनै विवाद छैन भन्नुहुन्छ। एउटा जिज्ञासा–‘साच्ँचै हो त, पार्टीभित्र यो विवाद भएको छैन ?’ खनालजीले स्कुल विभागको नेतृत्व आफूलाई दिएसफलतासाथ सञ्चालन गर्ने दृढता व्यक्त गरेरउम्मेदवारी दिनुभएको छ। पत्रपत्रिकामा पढेअनुसार आफू यस्ता काम सफलतापूर्वक सम्पादन गर्न दक्ष, कुशल र माहिर छु भन्ने पार्न नेकपा एमालेको प्रमुख भै नेतृत्व गरेको, प्रधानमन्त्री बनेर मुलुककै नेतृत्व गरेको अनुभव आफूसँग भएको दाबी गर्न पनि उहाँलेछुटाउनुभएको छैन। झलनाथजीको शैली साँच्चै नौलौ लाग्यो। कति वर्ष पुग्नु भो, यसो याद गर्ने कि?

तपाईंविरुद्ध पनि जनता उठ्लान् !
झलनाथज्यू, माधवज्यू, प्रचण्डज्यू, ओलीज्यू, मुलुक साधारण अवस्थामा छैन। यो यथार्थ तपाईंहरूले नबुझ्नुभएकोछैन होला। साँच्चै, नबुझेकै हो भने तपाईंहरूमा नेतृत्वगर्ने योग्यता र कुशलता नै छैन, सक्रिय राजनीतिबाट अवकाश लिने बेला भएछ। होइन, बुझ्नुभएको छ भने ढाँट्नु भएन। उच्च नेतृत्वमा रहेकाले  ढाँट्नु हुँदैन। तपाईंहरूले ढाँटे कसलाई पत्याउने ? संसारमै एउटा साधारण आचारसंहिता छ, जसले भन्छ– कसैले पनि झूटो कुरा गर्न मिल्दैन, मिल्दै, मिल्दैन।’ युरोपमा त यति कडा नियम एवं आचार लागु गरिएकोछ कि जहाँ जिम्मेदारीमा बसेका कसैले पनि ढाँट्नु हँुदैन, झूटा कुरा गर्न मिल्दैन। कैयौँ राष्ट्रकाराष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च पदासीन व्यक्ति बर्खास्त भएका छन्, ढाँट कुरा गर्दा। खासगरी युरोपमा ढाँट्नु निषेध नै छ र त युरोप, युरोप भएको छ। अझ स्यान्डेनेभियन मुलुकहरू त उम्दा छन्, यो मामिलामा। हामीकहाँ राजनीति र झूटा कुरा पर्यायवाची शब्द भएका छन्,यो ठीक भएन। तपाईं नेता भरपर्दो भैदिनुप¥यो। नेताहरू राजाजस्ता हुँदैनन् भनेरै राजा फालेका हुन्, जनताले। तपाईं नेताहरू राम्रो हुनुभएन भने जनता तपाईंहरूविरुद्ध पनि उठ्लान् ! यस्तो भएको छ, संसारमा।

झलनाथज्यू, माधवज्यू, प्रचण्डज्यू, ओलीज्यू, मुलुक साधारण अवस्थामा छैन। यो यथार्थ तपाईंहरूले नबुझ्नुभएको छैन होला।साँच्चै, नबुझेकै हो भने तपाईंहरूमा नेतृत्व गर्ने योग्यता र कुशलता नै छैन, सक्रिय राजनीतिबाट अवकाश लिए हुन्छ।

कि सास कि लास
कामहरू टुंग्याइदिनुप¥यो। देश अभूतपूर्व व्यापार घाटामा छ। बिजुली निकाल्ने अथाह पानी खेर गैरहेकोछ। पेट्रोलियम पदार्थ ग्याससमेत अति आयात हुन्छ। विद्युत् उत्पादन बढाइ चुलोमा बिजुली जोड्नसके व्यापार घाटा घट्छ। विद्युतीय सवारीसाधन अत्यधिक प्रयोग गर्नसके पनि व्यापार घाटा कम हुन्छ। स्रोत नभएको राष्ट्र भए, अर्कै कुरा। नेपालमा यति धेरै स्रोत छन् कि जसको दिगो सदुपयोग गर्नसके प्रदूषणशून्य विकास गर्न सकिन्छ। सरकारमा बस्ने राजनीतिक प्राणीहरूमा किन आउँदैन यो चेत ! तपाईं मन्त्री नहुँदा ठूल्ठूला कुरा गर्नुहुन्थ्यो। भएपछि त खै ? जीवनमा सधैँ मौका आउँदैन। ठाँउमा छदाँ गर्ने हो। तपाईंको आदेश वा हस्ताक्षर सधैँ निर्णायक हँुदैन। भोलि पश्चाताप गरेर केही हँुदैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमात्र पनि हेर्नलायक भएको भए, केही त हुन्थ्यो कि जस्तो लाग्छ कहिले। तर यो पार्टी हे¥यो भने त झन् निराश हुन्छ मन। राजपाले केही गर्ला भनौँ भने ऊ आफैँ हराउँदै गएजस्तो। पुराना पञ्चहरूका पार्टी कतिवटा छन्,  किन टुक्रिन्छन्, फेरि किन जोडिन खोज्छन्, केही बुझिँदैन। यिनका पार्टी कोबाट सञ्चालन भइरहेका छन्, स्वयं उनीहरूलाई पनि थाहा छैन कि जस्तो लाग्छ। यी सबै राजनीतिक तस्बिरहेर्दा के गर्ने, के नगर्ने भन्ने लाग्छ। नेकपा यसरी बरालिनु भएन। सत्य निरूपण आयोग र मेलमिलाप आयोगहरू किन बन्छन्, काम हुँदैन ! यसको जवाफदेही को ?सबै जनतालाई त जवाफ दिइएन दिइएन,तर ती पीडितहरूलाई दिनुपर्दैन ? कि सास कि लास दिनुपरेन ? यो सामान्य न्याय होइन, सरकार छ भन्ने संकेत दिनुप¥यो।

कम्तीमा देश त नबिगार्नोस्
नेपाल कम्युनिस्ट पार्टी पूर्ण हुन नसकेको मूल कारण साँच्चै राजनीतिक कार्यदिशा नै हो त ? सबै बुँदामा सहमति भैसकेर पनि स्कुल विभागको नेतृत्व जनताको जनवादवालाको हातमा कि जनताको बहुदलीय जनवादवालाको भन्ने टकरावले नै हो पूर्ण एकीकरण हुन बाँकी रहेको ? यो प्रश्न हो– नेकपाकानेता भन्ने सबै पात्रलाई। परिस्थिति कहाँसम्म पुगिसक्यो भने यो मितिसम्ममा एकीकरण भैसक्छ भन्ने कुरा अब तपार्इंहरूलाई नै विश्वास लाग्न छाड्यो होला ! राजनीतिमा भर्पाई हँुदैन, चेक हँुदैन, कपाली, बन्धकी वा राजीनामाको लिखत हुँदैन। नेताका कुरामा, भाषणमा विश्वास गर्ने हो। पार्टीका नीति, कार्यक्रम, कार्यदिशा तथा रणनीतिमा विश्वास गर्ने हो, जनताले। जब तपाईंले दिएको तारेखमा तपाईं आउनुहुन्न भने कसले विश्वास गर्छ?श्रीमतीलाई, श्रीमान्लाई, छोरा–बुहारी छोरी–ज्वाइँलाई सोधी हेर्नोस् न एकचोटि। तपाईं कति झुक्याउनुहुन्छ, कति ढाँट्नुहुन्छ ? यो त भएन। यहाँ तपाईंहरूलाई विफल बनाउन अस्ति–अस्तिकै शक्ति फेरि ब्यँुताउने कुरा सार्वजनिक हुन थालेका छन्। २०६५ सालदेखि अहिलेसम्म सरकारको नेतृत्वगर्ने तपार्इं र अन्तर्गतका मन्त्रीहरूको अयोग्यता, अक्षमता, अकर्मण्यता र पैसाप्रतिको आशक्तिले हो भन्यो भने मन पराउनुहुन्न, होइन त ? यी ११÷१२ वर्षको अन्तरालमा विश्वका धेरै देशले प्रगति गरेका छन्, समृद्ध भएका छन्। हामीकहाँ मात्र विकासले किन गति लिन सकेन ? के जवाफ छ, यसको ?नेपाली जनताले राम्रामध्ये राम्रा छान्ने मोका नै पाएनन्, निर्वाचनमा। नराम्रामध्ये राम्रा छान्न बाध्य भए। परिणाम आज देशका युवा विदेश निकासी गर्ने, १३/१४ खर्ब रुपैयाँको वैदेशिक व्यापार घाटा गर्ने सरकार पाएको छ। नेतृत्व वर्ग कम्तीमानढाँट्नोस्,योग्यताले भ्याएन भने छाडिदिनोस् सत्ता,देश नबिगार्नोस् !








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad