८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं–सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले मंगलबार नागरिकलाई बताए । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,’ उनले भने, ‘अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ ।’ बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ ।

मंगलबार नेप्से २४.६३ बिन्दुले ओरालोे लागेर १७२४.४९ मा झरेको छ । ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ ।

ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको सिजापतिको भनाइ छ । ‘यसअघि ब्याजदर कम थियो । सेयरको भाउ पनि बढेको थियो,’ उनले भने, ‘ब्याजदर बढेसँगै सेयर मूल्यमा सिथिलता आउन थालेको देखिन्छ ।’

यसैगरी, सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको सिजापतिको भनाइ छ । ‘केही कम्पनीको बाहेक अब सेयर खरिद गर्नेले अर्को वर्षमात्र लाभांश पाउँछन्,’ उनले भने, ‘अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नु प¥यो र ? भन्ने जस्ता कुरा लगानी गर्न थालेका छन् । यसले गर्दा पनि सेयर बजार घट्न पुगेको हो ।’

अहिले बजार घट्नुलाई ब्रोकरहरु ‘करेक्सन’ भएको बताउँछन् । सोमबार ओरालो लागेर निराश बनाएको बजारले मंगलबार लगानीकर्तालाई झन् निराश बनायो । यस दिन पनि सेयर बजार ओरालो लागेर उनीहरुलाई निरुत्साहित बनाएको छ ।

बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । बजारमा १ सय ३८ कम्पनीका १० लाख ३८ हजार  ५ सय ४७ कित्ता सेयर किनबेच भयो । ७६ करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
गत सोमबार ६८ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबारको कारोबार रकम अघिल्लो कारोबारको तुलनामा भने झन्डै ८ करोड बढी हो ।

कारोबार रकममा सामान्य सुधार आए पनि सबै समूह घटेपछि बजारमा उच्च गिरावट आएको हो । समग्र बजार निकै ओरालो लागे पनि भिबोर सोसाइटीका लगानीकर्ताले भने १० प्रतिशतका दरले कमाएका छन् । मंगलबार भिबोर सोसाइटीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । केही समयअघि मात्र मर्जर सकेर कारोबार खुलेकाले उक्त बैंकको सेयरमा आकर्षण देखिएको हो ।

बजारमा संस्थागत र ठूला लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन् । सेयर बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न थालेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ ।

बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ । यसले पनि पनि बजार घटाउनै मद्दत गरेको छ ।

बिमा समूहको सबैभन्दा बढी १२९.६९ बिन्दुले झरेको छ । वाणिज्य बैंक समूहको २७.०६ ले, जलविद्युत समूह ४७.३१, होटल समूह ४३.८४, उत्पादन समूह ३१.०३, विकास बैंक समूह १८.४, वित्त समूह ४.५३ अंक र अन्य समूह १.१६ बिन्दुले ओरालो लागेका छन् ।

कारोबारमा सबैभन्दा धेरै चाप भने मुक्तिनाथ विकास बैंकमा देखिएको छ । मुक्तिनाथको ९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

यसपछि उच्च कारोबार भएको सिभिल बैंकको ५ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंक अफ काठमाण्डू लुम्बिनी ३ कारेड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेको र शिखर इन्स्योरेन्सले पनि २ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

लक्ष्मी लघुवित्त, ओमी माइक्रोफाइनान्स, कन्काई विकास तथा सेती फाइनान्स लगायत कम्पनी धेरै कमाउनेमा परेका छन् । प्रोगे्रसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । बुटवल पावर, ङादी पावर, रिडी हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक लगायत कम्पनी धेरै गुमाउनेकोे सूचीमा परेका छन् ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App