७ वैशाख २०८१ शुक्रबार
अर्थ

अदालतको आदेश लत्याएर बिक्री प्रक्रिया सुरु

बुटवल – सरकारी जग्गा मिचेर बनाइएको रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्टले अदालतको आदेशलाई लत्याउँदै बिक्री प्रक्रिया अघि बढाएको छ। सार्वजनिक कुलोको १० कट्ठा १८ धुर जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध तीन साताअघि जिल्ला अदालतमा मुद्दा परेको थियो। भैलुभुजको १० कट्ठा १८ धुर सरकारी जग्गा अतिक्रमण गरेको ठहर गर्दै अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सार्वजनिक तथा सरकारी कित्ताका जग्गा र तीसँग जोडिएका अन्य कित्तामा समेत संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धक लगायत कुनै पनि काम नगर्न, नगराउन आदेश गरेको छ।

१२०, १४८, १५२, १९० र ७३ नम्बर कित्ताको जग्गा भैरहवा–लुम्बिनी भूमिगत जल योजनाको नाममा रहेको सरकारी जग्गा हो। उक्त जग्गामा पुराना कुलो मासेर होटलका संरचना बनेका छन्। अहिले यो मुद्दा तामेलीमा रहेको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार नेत्र भुसालले बताए।

जिल्ला अदालतमा मुद्दा हालेको लुम्बिनी नलकुप जल उपभोक्ता समिति, रुपन्देहीले जिल्ला अदालतको आदेश नै चित्त नबुझेको भन्दै फेरि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पनि पुनरावेदन दर्ता गरेको छ। उपभोक्ता समितिले सार्वजनिक सम्पत्ति फिर्ता नगरेसम्म होटलको सम्पूर्ण सम्पत्ति नै रोक्काको मागदाबी गर्दै निवेदन दर्ता गरेको हो ।

होटलले मिचेको कुलोको जग्गामध्ये १५२ नम्बर कित्तामा स्विमिङ पुल र भवनको केही भाग परेको उपभोक्ता समितिका सचिव अवधबिहारी दुबेले बताए। क्यासिनो भएको भवनको केही भाग पनि कुलोको जग्गामा पर्ने दुबेको दाबी छ। होटलले नलकुप बाहेकको थप पाँच कट्टा सार्वजनिक जग्गा मिचेको स्थानीय बताउँछन्। मुद्दा टुंगो नलागेसम्म सार्वजनिक जग्गामा निर्माण भएका संरचना बिक्री गर्न नपाउने जिल्ला अदालतकै आदेशमा उल्लेख छ।

अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले भने अदालती प्रक्रियाको टुंगो नलाग्दै बिक्री प्रक्रिया सुरु गरेको हो। सरकारी सम्पत्ति हडपेर निर्माण भएको प्यालेसले विवादबीच सम्पत्ति बेच्न खोजेको बताइन्छ। अदालतमा मुद्दा परेकाले बिक्रीमा समस्या हुने देखिएपछि कम्पनीले नेपालका उच्च तहका नेताको सहयोगमा समस्या सुल्झाउने प्रयास गरेका खबरहरु पनि बाहिरिएका छन्।

मलेसिया बस्ने गैरआवासीय नेपाली इन्द्रबहादुर थापा र सिल्भर हेरिटेजकै एक पूर्वसञ्चालक ह्यु होल्म्सले संयुक्त रुपमा टाइगर प्यालेस किन्न ३३.९ मिलियन डलर (अर्थात तीन अर्ब ७५ करोड रुपैयाँको) प्रस्ताव पेस गरेका छन्। सो प्रस्ताव कम्पनीकै वेब साइटमा देख्न सकिन्छ।

रिसोर्ट खरिद–बिक्रीको हल्ला करिब ६ महिनादेखि चल्दै आएको छ। नेपालकै चौधरी ग्रुप, विशाल ग्रुप, आइएमआई र  प्रभु समूहले होटल खरिदमा चासो देखाएका थिए।

रुन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा सन् २०१७ देखि यो होटल सञ्चालनमा आएको हो। नेपाल राष्ट्र बैकबाट पाँच अर्बको लगानी स्वीकृति पाए पनि प्यालेसमा विदेशी लगानी दुई अर्ब मात्रै रहेको दाबी गरिएको छ। करिब तीन अर्ब नेपालकै बैंकहरुबाट ऋण लिइएको बताइन्छ।

सुरुदेखिनै स्थानीयको माग र आग्रहलाई बेवास्ता गर्दै होटलले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको हो। पर्यटकीय होटलले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा नगर्दा र सम्झौता अनुरुप स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिँदा बेलाबेलामा स्थानीय र होटल व्यवस्थापनबीच विवाद हुने गरेको छ।

होटल सञ्चालनको एक वर्ष नबित्दै विदेशी लगानीकर्ता र नेपाली साझेदारबीचको विवाद सतहमा आएको थियो। किचलोका कारण स्टक मार्केटमा कम्पनीको सेयर मूल्य ओरालो लागेपछि बिक्री प्रक्रिया अघि बढाइएको बताइन्छ।

प्रकाशित: १९ श्रावण २०७६ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App