coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरु बजारमा ठेकेदारको दादागिरी

लालबन्दी नगरपालिकाको छाप हानी गत साउन १५ गते पश्चिमबाट पूर्व गोरु बोकेर हिँडेको ट्रकसँग काटिएको बाबा सहलेस निर्माण सेवा नामक ठेकेदार कम्पनीको नगदी रसिद।

सर्लाही - नवलपुरस्थित गोरु बजारमा सम्झौता नै नगरी एक ठेकेदार कम्पनीले गैरकानुनी ढंगले कर उठाउन थालेको गुनासो आएको छ। दादागिरी ढंगले ठेकेदार कम्पनीले लालबन्दी नगरपालिकाको छापको दुरुपयोग गर्दै गोरु ओसारपसार गर्ने व्यवसायीसँग कर संकलन थालेको हो।

लालबन्दी नगरपालिकाको प्रकाशित सूचनाअनुसार परेका चारवटा टेन्डर गत असार २६ गते खोलिएको थियो। नवलपुर गोरु बजारमा आर्थिक वर्ष २०७६÷७७ का लागि कर संकलनका लागि परेका गोप्य सिलबन्दी टेन्डरमध्ये बाबा सहलेस निर्माण सेवाले सबैभन्दा बढी एक करोड ३ लाख, मैत्रीय कन्स्ट्रक्सन लालबन्दीले ८४ लाख, पासवान कन्स्ट्रक्सन लालबन्दीले ६९ लाख र किरण निर्माण सेवा लालबन्दीले ५६ लाख सकारेका थिए। नगरपालिका कार्यालयले सबैभन्दा बढी बोलकबोल गर्ने ठेकेदार कम्पनीलाई सात दिनभित्र सम्झौता गरी पट्टा लिन आउन असार ३१ गते आशय सूचना प्रकाशित गरेको थियो। तर सूचना प्रकाशित भएको २० दिन बितिसक्दासमेत सो ठेक्कामा सम्झौता नै भएको छैन।

सम्झौता नै नगरी नगरपालिकाको छाप दुरुपयोग गरेर कर उठाउन सुरु

सात दिनभित्र सम्झौता गर्न नआए स्वतः दोस्रो ठेकेदारलाई बोलाउनुपर्ने नियम भए पनि नगरपालिकाले उदासिनता देखाएको उक्त ठेक्कामा दोस्रो बोलकबोल गर्ने मैत्रीय कन्स्ट्रक्सन लालबन्दीका सञ्चालक राजु योञ्जनले गुनासो गरे। ‘नगरपालिकाले ठेक्का सम्झौता गरेर पट्टा उठाउन सबैभन्दा बढी बोलकबोल गर्ने कम्पनीलाई सात दिनभित्र बोलाए पनि २० दिनसम्म सम्झौता नै गरिएको छैन,’ योञ्जनले आरोप लगाए, ‘पहिलो ठेकेदार तोकिएको मितिभित्र नआए स्वतः दोस्रो सकार गर्ने कम्पनीलाई बोलाउनुपर्नेमा

उल्टै नगरपालिकाकै मिलेमतोमा पट्टा नै नउठाई नगरपालिकाको छाप दुरुपयोग गर्दै जबर्जस्ती गोरु बजारमा कर संकलन सुरु भएको देख्दा अचम्मित भएका छौं।’
नवलपुर बजारमा किनबेच भएको गोरुमा मात्र कर लिन पाउने भए पनि उक्त ठेकेदार कम्पनीले गोरु लोड गरेर पश्चिमबाट पूर्व हिँडेका सबै ट्रकलाई नियन्त्रणमा लिई दादागिरी शैलीमा गैरकानुनी ढंगले कर असुल्न थालेको जानकारहरू बताउँछन्। नगरपालिका र स्थानीय प्रहरी प्रशासनलाई अवैध कर असुलीबारे जतिसुकै भन्दा पनि कुनै सुनुवाइ नभएको योञ्जनले गुनासो गरे।

लालबन्दी नगरपालिका कार्यालयप्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले भने गोरु बजारमा कर असुलीका लागि ठेक्का सम्झौता नभएको बताए। कसैले नगरपालिकाको छाप दुरुपयोग गरी कर असुली गरेको फेला परे कानुनी कारबाही गरिने उनले जनाए। सबैभन्दा बढी बोलकबोल गर्ने कम्पनीले नगरपालिकाको खातामा कबोल सबै रकम जम्मा गरेपछि मात्र सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको समेत न्यौपानेले जानकारी दिए। दोस्रो कबोल गर्ने ठेकेदारलाई ठेक्का दिँदा नगरपालिका कार्यालयलाई झन्डै २० लाख रुपैयाँ कम आम्दानी हुने भएको र पहिलो ठेकेदारले आधाभन्दा बढी रकम खातामा जम्मा गरिसकेकाले केही दिनभित्रै सम्झौता हुने न्यौपानेले जानकारी दिए।

त्यस्तै ठेकेदारहरूले नगरपालिकाबाट तोकिएको भन्दा कैयौं गुना बढी कर असुल्ने गरेका छन्। ठेकेदारको रसिदमा गोरु संख्या र गोरुको परल मूल्य मात्र लेखिने गरिएको एक जानकारले बताए। ‘नगरपालिकाले एउटा गोरुको किन्ने र बेच्नेसँग गरी चार सय हाराहारी मात्र तोकेको हुन्छ, तर ठेकेदारले गोरु लोड गरेको ट्रकसँग जबर्जस्ती हजारौं रुपैयाँ कर असुली गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले ट्रकलाई दिने ठेकेदारको रसिदमा कर लिएको मूल्य नै लेखिएको हुँदैन।’

प्रकाशित: १९ श्रावण २०७६ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App