coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिनटमै इमरजेन्सी ब्रेक !

बर्दिया - तपाईंलाई लाग्छ कि बजार क्षेत्रमा मात्र सवारीसाधनमा ब्रेकको प्रयोग बढी हुन्छ। पैदल यात्रुको चाँप भएका ठाउँमा ब्रेक नच्यापी धर पाइँदैन। यसको ठीक उल्टो सामान्य अवस्थामा पूर्वपश्चिम राजमार्गमा भने सवारीसाधन बेरोकटोक चल्छन्। एउटै रफ्तारमा सवारीसाधन चलाएर गन्तव्यमा पुग्न सकिन्छ। तर अहिले सार्वजनिक वा निजी सवारीसाधन प्रयोग गर्ने जोकोहीको पनि छाडा गाईवस्तुका कारण राजमार्गको यात्रा कष्टपूर्ण भइरहेको छ। यतिखेर राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउन जरुरी छ।

राजमार्गमै तपाईंले चलाएको सवारीको इमरजेन्सी ब्रेक मिनेट मिनेटमै घ्याच्चघ्याच्च दाब्नुपर्छ। जसकारण यात्रामा खर्च र समय दोब्बर हुन्छ भने कतिखेर दुर्घटनामा परिने हो चिन्ताले पिरोल्छ। रात्रि सेवाका सवारीचालक मैताब एराकीका अनुसार सय किमि दुरी पार गर्दा इमरजेन्सी ब्रेक घ्याच्चघ्याच्च लगाउँदा ३÷४ लिटर बढी तेल खपत हुने गरेको छ। ‘मिनेटकै हिसाबले इमरजेन्सी ब्रेक लगाउनुपर्छ,’ उनले भने, ‘राजमार्गमा चल्ने सवारी मर्मतसम्भारमा खर्चसमेत बढेको छ।’

बाँसगढी नगरपालिकाले यसै साता राजमार्गमा बस्ने ६० वटा गाई ट्रकमा हालेर २ लाख खर्च गरी पहाडी जिल्ला कालिकोट पठाएको थियो।

शुक्रबार राजधानीका लागि सुदूरपश्चिमबाट छुटको ना७ख ४२७ नम्बरको रात्रिबसले बाँँकेको बैजापुर गाउँपालिकामा स्थानीय बजारनजिक छाडा गाईवस्तुका कारण इमरजेन्सी ब्रेक लगायो। गाडीचालकले हर्न बजाए। तर सडकमा बसेका छाडा गाईवस्तुु टसको मस भएनन्। सहचालकले लट्ठीले हानेर छाडा गाईवस्तु हटाएर सडक खाली गराए। यो एउटा प्रतिनिधिमूलक दृश्य मात्र हो, प्रत्येक किलोमिटरमा छाडा वस्तुका कारण पूर्वपश्चिम भएर हिँड्ने सवारीबाट उत्रेर सडक खाली गराउनै पर्ने बाध्यता भएको छ।

बुटवलदेखि पश्चिमतर्फ यो समस्या अधिक हुने गरेको छ। दिउँसो कम देखिए पनि रातको समयमा सडकमा छाडा गाईवस्तु छ्याप्छ्याप्ती बस्ने गरेका छन्। तीव्र गतिमा हुइँकिएर आएका ठूला सवारीले ठक्कर दिँदा मरेका गाईवस्तुले राजमार्ग दुर्गन्धित बनेको स्थानीय बताउँछन्। ‘राति आएका गाडीको ठक्करले छाडा वस्तु धेरै मर्छन्,’ वैजापुर गाउँपालिकाका एक स्थानीयले भने, ‘जसले राजमार्ग दुर्गन्धित बन्दै गएको छ।’ बुटवलदेखि पश्चिम कैलालीको अत्तरियासम्मका बजार क्षेत्रका सडकमा छाडा गाईवस्तु अत्यधिक बस्ने गरेका छन्।

राजमार्गमा छाडा गाईवस्तुको समस्या दिनप्रतिदिन बढिरहेको राजमार्गमा पर्ने बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताए। उनका अनुसार नगरपालिकाले यसै साता राजमार्गमा बस्ने ६० वटा गाई ट्रकमा हालेर २ लाख खर्च गरी पहाडी जिल्ला कालिकोट पठाएको थियो। ‘राजमार्गमा पर्ने नगरपालिका भएकाले छाडा गाईवस्तु नियन्त्रणका लागि नगरपालिकाले कुनै कसुर राखेको छैन,’ उनले भने।

छाडा गाईवस्तुले दुर्घटनाको जोखिम बढेकोे बाँसगढीका प्रहरी नायब निरीक्षक गोपाल ज्ञवालीले बताए। ‘लामो दुरी तय गरेर हिँडेका सवारी गाईवस्तुका कारण जाममा फस्छन्,’ उनले भने, ‘गाईवस्तु सडकमै बस्ने गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।’ राजमार्गमा पर्ने बजार क्षेत्रमा छाडा वस्तु धेरै पाइएको क्षेत्रीय ट्राफिक कार्यालय, बुटवकाल प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले बताए। उनका अनुसार गाईवस्तुमा ठोक्किएर दुर्घटना हुनेमा मोटरसाइकल बढी रहेको रेकर्डमा रहेको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App