७ वैशाख २०८१ शुक्रबार
समाज

शंखेटारी र शंकरनगरमा भ्युटावर

बुटवल - गत वर्ष रुपन्देही, अर्घाखाँची र नवलपरासीका केही स्थानीय तहले पर्यटक आकर्षित गर्न भन्दै भ्युटावर निर्माण योजनालाई प्राथमिकता दिए। प्राथमिकताअनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करिब आधा करोड रुपैयाँ लागतमा वडा नं. २ को शंखेटारीमा सिटी भ्युटावर निर्माण गरिरहेको छ।

भ्यु टावरबाट सन्धिखर्क बजार क्षेत्रसँगै आसपासका प्रकृतिक दृश्य अवलोकन गर्न सकिने बताइएको छ। पर्यटक आकर्षित गर्नु यसको मुख्य लक्ष्य भनिए पनि शंखेटारीमा निर्माण भइरहेको भ्युटावरले कुनै नयाँपन दिन नसक्ने नगरवासीको भनाइ छ। पर्यटक आकर्र्षित गर्न सहायक पूर्वाधार नहुँदा त्यसबाट दीर्घकालीन आर्थिक लाभ हुनेमा स्थानीय विश्वस्त हुन सकेका छैनन। अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले सन्धिखर्क बजार हेर्नका लागि लागि मात्रै भ्युटावर आवश्यक नपर्ने बताउँछन्। ‘सन्धिखर्क बजार हेर्न वरपरका डाँडा आफंैमा भ्युटावर हुन,’ श्रेष्ठले भने। अहिले निर्माण भइरहेको भ्युटावर काछमा रहेको भन्दै उनले पर्यटक तान्न अग्लो डाँडामा बनाइनुपर्ने तर्क गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पनि हाल निर्माण भइरहेको भ्युटावरबाट ठूलै आर्थिक लाभ हुने नदेखिए पनि आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए। भ्युटावर पाँचतले हुने बताइएको छ। जनप्रतिनिधिले ल्याएका योजनालाइ कर्मचारीले उचित÷अनुचित भन्न नमिल्ने तर्क प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको छ।

प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीमा पनि बहुद्देस्यीय भ्युटावर निर्माण भइरहेको छ। तिलोत्तमा नगरपालिकाले वडा नं. २ स्थित शंकरनगरको वनबाटीकामा १ सय ३४ फिट अग्लो भ्युटावर बन्दैछ। ११ तला हुने भ्युटावरको ६ वटा तला व्यावसायिक प्रयोजनमा लगाइने नगरपालिकाका इन्जिनियर गिरिराज डुम्रेले बताए। सन् २०२० सम्म निर्माण गरिसक्ने भनिएको भ्युटावरको अनमानित लागत खर्च १३ करोड ५८ लाख छ। योजनाअन्तर्गत हाल साढे ११ करोडको ठेक्का सम्झौता गरी काम अगाडि बढेको इन्जिनियर डुम्रेले जानकारी दिए। नगरपालिकाको ७० प्रतिशत र वनबाटीकाको ३० प्रतिशत लगानीमा टावर निर्माण हुनेछ।

शंकरनगर सामुदायिक वनमा रहेको वनबाटीका यस क्षेत्रको प्रमुख पिकनिक स्पटको रुपमा परिचित छ। यहाँ बाल उद्यान, पिकनिक स्पट, चिडिया खाना, जस्ता पूर्वाधार छन्। भ्युटावरबाट दुरबिनको सहायताले भारतको गोरखपुरसम्म देख्न सकिने दाबी इन्जिनियर डुम्रेले गरे। यसअघिनै पर्यटकीय पूर्वाधार रहेको वनबाटीकामा निर्माण हुने भ्युटावरले आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाले जनाएको छ।

नवलपरासीको बर्दघाट नगरपालिकाले पर्यटन प्रवर्धनका लागि भ्यु टावर बनाउने भने पनि आर्थिक लाभ हुने नदेखेपछि योजना नै रद्द गरेको जनाएको छ। नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले भ्युटावरले मात्रै पर्यटक तान्न सम्भव नभएको र अन्य पूर्वाधार निर्माणमा ठूलो बजेट खर्च हुने भएकाले योजना रद्द गरिएको बताए।

प्रकाशित: १९ श्रावण २०७६ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App