७ वैशाख २०८१ शुक्रबार
समाज

लेन अनुशासन नमान्ने धेरै

काठमाडौं – ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘हतारका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौं,’ उनले भने।

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडिवन क्यामराबाट लेन अनुगमन गरी कारबाही गर्दै आएको छ। सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिए सवारीसाधनको नम्बर टिपी चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरिएको छ।

कारबाही परेकामध्ये ४० हजार ६ सय १९ पुरुष र दुई हजार २ सय ३ महिला छन्। ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षामा बसाउँदै आएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन ट्राफिक प्रहरीले २०७१ असोजदेखि लेन अनुशासन कारबाही गर्दै आएको हो। हालसम्म ३ लाख ८ हजार ५ सय ४७ चालक लेन अनुशासन कारबाहीमा परेका छन्। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App