८ वैशाख २०८१ शनिबार
खेल

दर्लामीको सपना पछ्याउँदै मध्यमाञ्चल

काठमाडौं– मध्यमाञ्चल महिला फुटबल टोलीले प्रशिक्षक शेरबहादुर दर्लामीको इच्छा पूरा गरिसकेको छ । रौतहटमा फुटबल प्रशिक्षण गराउँदा दर्लामीले एउटै लक्ष्य थियो विभागीय टोलीलाई हराउने । घरेलु फुटबलमा विकास क्षेत्रको टोलीले विभागीय टोलीलाई हराउनु त्यति सहज छैन । तर सोमबार प्रधानसेनापति चौथो महिला फुटबलमा मध्यमाञ्चल त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै फाइनल पुगेको छ । टाइब्रेकरमा मध्यमाञ्चलले आयोजक आर्मीलाई ३–१ ले हराएको थियो ।

दर्लामी यतिखेर टोलीमा त छैनन् । उनको निधन भइसकेको छ । तर उनीबाट प्रशिक्षित खेलाडीहरू भनेदर्लामीको सपना पूरा गर्दै स्वर्णिम क्षणको पर्खाइमा छन् ।
मध्यमाञ्चलले बुधबार उपाधिका लागि साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ । मध्यमाञ्चल भने जुनियर खेलाडीले भरिएको टोली हो ।

प्रधानसेनापति कपमा पहिलोपल्ट विकास क्षेत्र टोलीले फाइनलमा पुगेको छ । प्रतियोगिताको चार वर्ष पूरा हुनलाग्दा विभागीय टोलीले क्षेत्रीय टिमसँग पराजित हुनुपरेको थिएन । तर मध्यमाञ्चलआयोजक आर्मीलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

लगनखेलस्थित आर्मीको मैदानमा एपिएफविरुद्ध फाइनल उत्रँदा मध्यमाञ्चलको लक्ष्य हुनेछ नयाँ इतिहास बनाउने । विभागीय टोलीलाई हराइसकेपछि मध्यमाञ्चलले बनाएको नयाँ लक्ष्य हो उपाधि जित्नु । उपाधि जितेर कीर्तिमान बनाउने लक्ष्य लिएको मध्यमाञ्चलका प्रशिक्षक नुरराज काफ्ले बताउँछन् ।

करिब एक दशक घरेलु फुटबल खेलेका काफ्ले उनैदर्लामीका चेला हुन् । दर्लामीको निधनपछि उनले आफ्नै जन्मभूमि रौतहटमा फुटबल प्रशिक्षणलाई अगाडि बढाइरहेका छन् । ७ वर्ष फ्रेन्ड्स क्लबबाट खेलेका काफ्लेले आरसिटी र एपिएफबाट पनि लिग खेलेकाथिए । गुरुको देखेको सपनालाई पूरा गर्ने अठोट लिएका उनले आफूले जानेको सीप प्रयोग गरिरहेको बताए ।

एपिएफ बलियो टोली भएपनि आफ्नो टोली उपाधिका लागिकेन्द्रित रहेको काफ्ले बताउँछन् । ‘हामीलाई केही दबाब छैन । हाम्रो लक्ष्य सेमिफाइनलसम्म पुग्ने थियो । त्यो पूरा भइसक्यो । अबको लक्ष्य हो च्याम्पियन बन्ने,’ उनले भने, ‘हामीसँग एपिएफसँग जस्तो अनुभवी खेलाडी छैनन् । तर हामी परिश्रम गर्ने क्षमतावान र लगनशील खेलाडी छन् । उनीहरूले आफ्नो लयमा खेल्न सके उपाधि जित्न सक्छौं ।’

मध्यमाञ्चलको १९ सदस्यीय टोलीबाट रौटहट चन्द्रनिगाहपुरका १४, काठमाडौंका ३ र सिन्धुपाल्चोकका २ खेलाडीले खेलिरहेका छन् । टोलीमा नेपालको यु–१४ टिमबाट खेलेका ६ खेलाडी छन् ।   गत वर्ष प्रधानसेनापति कपको सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई ४–० ले हराएर हराएको थियो । तर यसपटक मध्यमाञ्चलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । प्रशिक्षक काफ्ले भन्छन्, ‘घरेलु फुटबलमा १६ वर्षदेखि विभागीय टोलीलाई क्षेत्रीय टोलीले हराउन सकेको थिएन । हामीले त्यो सफलता हात पारिसक्यौं । खेलाडी जहिलै पनि आशावादी हुनुपर्छ ।’

मध्यमाञ्चलले पहिलो खेलमा सुदूरपश्चिमलाई ७–० ले हराएको थियो । यता दाबेदार एपिएफ टोली  पश्चिमाञ्चललाई १५–० ले र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गर्ने अभियानमा छ । एपिएफका प्रशिक्षक जनक सिंहले मध्यमाञ्चलसँग मार्किङ गर्नुपर्ने खेलाडी नभए पनि सचेत भएर खेल्ने बताए । ‘आर्मीलाई हराउने टिमलाई कमजोर ठान्नु हुँदैन । हामीले मध्यमाञ्चललाई सहज रुपमा लिएका छैनौं ।

उनीहरूको गोलकिपर चलाख छ,’  सिंहले भने, ‘उनीहरूको बलियो पक्ष भनेको टिम समन्वय र मिहिनेत राम्रो छ । तर हामीलाई त्यसले अप्ठेरो पार्दैन । हामी सुरुदेखि खेल नियन्त्रणमा लिएर खेल्ने कोसिस गर्छौं ।’ प्रधानसेनापति कप घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार तथा सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले यामाहा स्कुटर पाउनेछिन् ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App