coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

मकवानपुर– प्रदेश ३ सरकारले पाँच स्थानमा बिषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशाला, ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो।

हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशालामा स्थापना हुने बिषादी अवशेष नियमन प्रयोगशालाको सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दैछन्। पाँच स्थानका लागि एक करोड ७९ लाख ६७ हजार रुपैंयाको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए।

उनका अनुसार बिषादी अवशेष नियमन प्रयोगशालाले प्रतिघण्टा २० देखी ३० वटा तरकारी र फलफूलको नमुना परिक्षण गर्ने क्षमता छ । ‘प्रयोगशाला सञ्चालन गर्न तीन जना कर्मचारीलाई तालिम दिएका छौं,’ उनले भने, ‘थप दुई जना स्वयम्सेवक पनि परिचालन हुनेछन्।’

त्यस्तै, मन्त्रालयले ८० लाख ९४ हजार रुपैंयाको माटो परिक्षण मोबाइल भ्यान खरिद गरेको छ। माटो तथा मल परिक्षण प्रयोगशालामै रहने भ्यानले प्रतिदिन ३० माटोको नमुना परिक्षण गर्ने प्रवक्ता गदालले बताए।

कार्ययोजना र मापदण्डको आधारमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार वटा भेटेरिनरी एम्बुलेन्स पनि खरिद गरेको छ। ती एम्बुलेन्सहरु मकवानपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि तथा वन विश्वविद्यालय चितवनमा राखिने छ। एक करोड ४९ लाख १६ हजार रुपैंयामा खरिद गरिएको एम्बुलेन्सले एक पटकमा दुई वटासम्म गाई वा भैसी वा पाँच वटासम्म बाख्रा बोक्न सक्ने प्रवक्ता गदालले जानकारी दिए।

साथै, प्रदेशका पाँच स्थानीय तहमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। पाँच स्थानको प्रयोगशालाका लागि एक करोड ५९ लाख ७९ हजार रुपैंयाको उपकरण, रसायन र सामग्री खरिद गरेको मन्त्रालयले जनाएको छ। प्रयोगशालाहरु मकवानपुरको मकवानपुरगढी र धादिङ्गको सिद्धलेक गाउँपालिका तथा काभ्रेपलाञ्चोकको पाँचखाल, चितवनको खैरहनी र नुवाकोटको विदुर नगरपालिकामा स्थापना हुनेछन्।

प्रकाशित: १८ श्रावण २०७६ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App