८ वैशाख २०८१ शनिबार
प्रविधि

नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक

नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट १ ले जापानमाथिको खिचेको तस्बिर

मकवानपुर– नेपालको पहिलो भू–उपग्रह(स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटोमध्ये चार फोटो सार्वजनिक भएको छ। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको नेपाली स्याट १ निर्माण गर्नेमध्येका एक नेपाली वैज्ञानिक हरिराम श्रेष्ठले बताए। उनका अनुसार सार्वजनिक गर्नुअघिल्लो दिनै नेपाली स्याट १ ले खिचेको फोटो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)लाई पठाईएको थियो।

‘भू–उपग्रहले पहिलो तस्बिर सूर्यको र अर्को तस्बिर जापानमाथि बादल लागेको खिचेको छ,’ उनले भने, ‘खिचिएको छ तस्बिरमध्ये तीन वटा सूर्यको र तीन वटा पृथ्वीको रहेको छ।’ फोटो मिसनसँगै अन्य चार प्राविधिक परीक्षण भू–उपग्रहबाट भइरहेको बताउँदै उनले बर्डस् ३ र ४ परियोजनामा धेरै निकायले पालैपालो काम गर्ने भएकाले धेरै फोटो खिच्न नसकिएको बताए।

खिचिएको फोटोहरु विद्यावारिधी गरिरहेकाहरु, अन्वेषक, जियोलोजिष्ट, हावापानीको बारेमा अनुसन्धानकर्ताका लागि उपयोगी रहेको उनको भनाई छ। ‘फोटो खिच्न कमाण्ड(निर्देशन) दिएपछि एउटा फोटो तयार हुन झण्डै एक हप्ता लाग्छ,’ उनले भने, ‘जापानमा हावाहुरी आउने र मौसम राम्रो नभएकाले पनि काम गर्न चुनौती छ।’

नेपाली स्याट १ जापानको ग्राउण्ड स्टेशनमाथि एकदिनमा १०–१२ पटक आउने भएपनि झण्डै चार पटकमात्र राम्रोसँग तथ्याङ्क लिन मिल्ने वैज्ञानिक श्रेष्ठले बताए। भू–उपग्रहको ग्राउण्ड स्टेशन नेपालमा नभएकाले जापानबाट नेपाललाई केन्द्रीत गरेर तस्बिर खिच्न दुई–तीन घण्टा अघि कमाण्ड दिनुपर्ने भएकाले चुनौती रहेको उनले बताए। ‘नेपालमाथि बादल नलागेको तस्बिर पनि हाम्रो भू–उपग्रहले खिचेको छ, तर त्यो फोटो प्रशोधन भएर तयार हुन एक साता लाग्छ,’ उनले भने।

भू–उपग्रहमार्फत् क्यामेरा मिसनसँगै अन्तरिक्षको चुम्बकीय गुरुत्वाकर्षण, लोरा मिसनलगायतका प्राविधिक परीक्षण भइरहेको छ। श्रेष्ठका अनुसार लोरा मिसनबाट भुकम्पका बेला मोबाईल सेवा सुचारु राख्न केही स्थानमा टावर निर्माणगरी भू–उपग्रहमार्फत् सेवा दिन पनि परीक्षण भइरहेको छ।

पृथ्वीको सबैभन्दा तल्लो कक्ष(चार सय २० किलोमिटरमाथि) परिक्रमा गर्ने भू–उपग्रहले पृथ्वीलाई एक चक्कर लगाउन करिब ९० मिनेट लगाउँछ। जापानको क्यूसु इन्स्टिच्यूट अफ् टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयले नेपाल, श्रीलंका र जापानको सानो भू–उपग्रह वैशाख ४ गते प्रक्षेपण गरेको थियो।

संयुक्त राष्ट्र संघको बर्डस् परियोजनाको सहयोगमा क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा भू–उपग्रह निर्माण तथा सञ्चालन गरिएको छ। भू–उपग्रह बनाउन नेपालले अर्थ मन्त्रालयमार्फत् एक करोड ८० लाख रुपैयाँ क्यूटेकलाई पठाएको थियो।

झण्डै एक किलोको सानो भू–उपग्रह नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठलगायतले निर्माण गरेका थिए। जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युटेक विश्वविद्यालयमा नास्टका प्राविधिक अधिकृत श्रेष्ठ ‘इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङ’मा स्नातकोत्तर र मास्के स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि पनि गरिरहेका गरिरहेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App