७ वैशाख २०८१ शुक्रबार
समाज

राहत माग्दै सिंहदरबार

खानेपानी मन्त्री बिना मगरलाई अवरुद्ध खानेपानी सुचारु गराउन माग गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईलगायत। तस्बिरः नागरिक

खोटाङ– खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायतको माग गरेको छ। छरेका मकै खडेरीले मरेको केही समय नबित्दै गत असार २५ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध भएको, ढुवानी गर्ने वैकल्पिक बाटो नहुँदा खाद्यान्न संकट सुरु भएको, विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएकाले संकटको अवस्था सिर्जना भएको भन्दै सिंहदरबार पुगेर राहत माग गरिएको हो।

नगरपालिकाले गृह मन्त्रालय, खानेपानी मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, स्थानीय विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर आवश्यक सहयोगको माग राखेको हो। गृहमन्त्री रामबहादुर थापा समक्ष खाद्यान्न तथा राहत, खानेपानी मन्त्री बिना मगर समक्ष बाढीले क्षतिग्रस्त बनाएको खानेपानी सुचारु गराउन, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयसमक्ष अवरुद्ध सडक सुचारु गराउन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष खाद्यान्नको व्यवस्थापनका लागि माग राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

लामो खडेरी परेपछि खाद्य संकट घोषणा गरेर बजेट विनियोजननै गरेको नगरपालिकाले साउन १५ गतेको बैठकको निर्णयअनुसार स्थानीय तहमा आइपरेको प्राकृतिक विपत्ति समाधानका लागि सिंहदरबार पुगेर सहयोग मागेको हो। लामो खडेरीका कारण मकैको बिरुवा सुकेपछि हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटारलगायतका वडामा खाद्यान्न संकट सुरु भइसकेको मेयर राईले बताए।

मकै पाक्ने यो बेलामा किसानको बारीमा पुःन छरेको मकै उम्रिँदैछ। अर्कातर्फ बजारसँग जोड्ने सडक बिग्रे÷भत्केकाले खाद्यान्नलगायतका उपभोग्य सामान ढुवानी गर्न सक्ने अवस्था छैन। हरियो मकै खाएर छाक टार्नु पर्नेबेलामा सहरबजारबाट खाद्यान्न ढुवानी गर्ने बाटो ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको हो।

खाद्यान्न तथा राहतका लागि मेयर राईसहित युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राईलगायतको टोली विभिन्न मन्त्रालय पुगेको हो। वर्षाको क्षतिपछि मेयर राईको टोलीले शनिबारदेखि मंगलबारसम्म स्थलगत अध्ययन गरेको थियो।

प्रकाशित: १८ श्रावण २०७६ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App