७ वैशाख २०८१ शुक्रबार
विचार

लोकतन्त्रका अथक योद्धा

वि.सं. १९७२ कार्तिक शुक्ल तृतीयाका दिन आँखा खोलेका नेपाली लोकतान्त्रिक आन्दोलनका अथक महापात्र, राष्ट्रियताका पहरेदार वीर गणेशमान त्रियासी वसन्त पार गरी पाञ्च भौतिक देहबाट अलग्गिनु भयो । राजनीतिमा नैतिक  निष्ठालाई प्रथम स्तम्भ ठान्ने उहाँको मान्यताले आदर्श राजनेताको लक्षणलाई झङ्कृत गराएको छ । स्पष्ट वक्ता, निर्भीकपन, मोलाहिजामा नफस्ने, ब्रह्मले देखेको र विवेकले सकेको यथार्थ ओकल्न ज्यानै बाजीमा परे पनि तयार हुने उनको प्रकृतिमा सुकरातकै झल्को पाइन्छ । ‘राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो व्यापार हुन्छ’ यही मन्त्र र  मान्यताको  उदात्त  राजपथमा लौह मानवले आजीवन आफ्नो राजनीतिक यात्रा सञ्चालन गरे ।

राजनीतिक दल वा पार्टीलाई हरसमय सत्तामा रहँदा वा प्रतिपक्षी बेन्चमा पुग्दा संघर्षकै राप र तापबाट सेकिरहनुपर्छ भन्ने गणेशमानको दरो मान्यता थियो । ‘राजनीतिक पार्टीले संघर्षबिना आफ्नो  महान् लक्ष्य प्राप्त गर्न सक्दैनन्, अनि संघर्षका क्रममा राजनीतिक दलमा लाग्नेहरु असल वा खराब कुन नियतले लागेका हुन् तिनको राम्रो जाँच पनि हुन्छ ।’ यसरी राजनीतिक दलमा समाहित हुने कार्यकर्तालाई संस्कृत गराउने ध्येय थियो उहाँमा । ठेक्कापट्टा लिन, राजनीतिक तथा संवैधानिक निकायमा नियुक्त हुन र अवैधानिक वा अनुचित काम गर्न दलको झण्डा बोक्नेहरुको अहिलेको दृष्य गणेशमानले उतिखेरै आकलन गरेका थिए । यतिखेर नेपालका दलहरुमा विचार, निष्ठा, समर्पण र परमार्थी भाव बोकेका कार्यकर्ता नै दुर्लभ भइरहेका छन् । वास्तवमा ‘नेपाली कांग्रेस’ भन्ने नाम नै गणेशमानले जुराएका हुन् ।

नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको एकीकरणकर्ता चार पुरुष मातृकाप्रसाद कोइराला, गणेशमान  सिंह , महेन्द्रविक्रम शाह र सूर्यप्रसाद उपाध्याय हुन् । एकीकरणका बेला सर्वोच्च नेता गणेशमानले नै यो परिसंवादमा दुवै संस्थाका दुई शब्द हटाएर ‘नेपाली कांग्रेस’ न्वारन गराएका हुन् । यसैले त उनी नेकांका पुरोधा वा पुरोहित नै हुन् । त्यो बेलाको उनको अडानले दुई तागतमा दर्बिलो एकताको सन्देश दियो र नै नेपालबाट राणा शासन हट्न सक्यो ।

नेपाली राजनीतिक क्रान्तिका शिखर पुरुष गणेशमान सर्वोच्च नेतामात्र नभएर सर्वमान्य राजनेता पनि बने । नेपालका वामपन्थी र प्रजातान्त्रिक धारलाई समन्वय गराउन सक्ने अद्भूत क्षमताकै कारण २०४६ सालको जनआन्दोलन उनकै नेतृत्वले सफल गरायो । कम्युनिस्ट र कांग्रेसबीचको तिक्तता मेटाएर सहमति र समझदारीको अन्तरदलीय राजनीतिलाई स्थापित गराउँदै नेपाली राजनीतिको संकीर्ण पथलाई खुला परिवेश दियो । जारशाहीका उच्छेदनकर्ता लेनिन र बृटिस साम्राज्यलाई गतिलो धक्का हान्ने बल्लभभाइ पटेलसित यिनलाई तुलना गर्दा देवत्वकरण नभएर न्याय तथा यथार्थ ब्रह्मघोष हुन्छ ।

राजनीतिज्ञ रामहरि जोशीका शब्दमा गणेशमान साँच्चै लौह पुरुष थिए, राणाहरुले उल्टो झुन्ड्याएर पिट्दाखेरि समेत उनले उफ्समेत नगरी कुनै पोल खोलेनन् । राजाले भेट गर्न चाहनुभएको छ, निवेदन हाल्नुप¥यो भन्दा राजाले भेट गर्न चाहनुभएको छ भने उनैले पो निवेदन हाल्नुपर्छ भनेर हुङ्कार दिए । कम्युनिस्टलाई आफ्नो नेतृत्वको छातामुनि ल्याएर संयुक्त आन्दोलनमार्फत निर्दलीय निरंकुश पञ्चायतलाई फाल्नु उनको इतिहासको चरम उत्कर्ष हो । यही कारण उनलाई सम्मान गरी त्यत्रो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार र सम्मानसमेत प्राप्त भयो जुन नेपाली लोकतान्त्रिक आन्दोलनकै गौरव एवं सौरभ बनेको छ ।

क्रान्तिपुरुष गणेशमानले त्यतिखेरै नेपालका राजनीतिक अभिकर्ताहरु (जो सत्ताका हर्ताकर्ता बन्न पुगे) लाई सम्झाउँदै भनेका थिए– ‘सबैले समान अवसर पाएनन् भने नेपालमा जातीय असन्तोष बढेर जान्छ, साम्प्रदायिकताले देशमा अस्थिरता ल्याउँछ ।’ त्यसै भएर आफ्नै मातृ दललाई झस्काउँदै बोले— ‘दलले सरकारको कामको मूल्याङ्कन र त्यसको जानकारी जनसमक्ष गराउनुपर्छ । पार्टीले आन्तरिक एवं बाह्य संवाद चलाइरहनुपर्छ । राजनीतिक स्थिरताका लागि राज्यका तीन प्रमुख अङ्ग स्वतन्त्र हुनुपर्छ, मानव अधिकार अकुण्ठित राखी देश हाँक्नेहरुको नैतिक मापदण्ड नेताले अपनाउनुपर्छ ।

जहाँ संसदीय व्यवस्था, प्रजातन्त्र, राष्ट्रियता र जनताको सवाल हुन्छ, त्यहाँ राष्ट्रिय सहमति हुनुपर्छ । प्रजातान्त्रिक समाजवादअनुसार कांग्रेसले ठूला कार्यक्रम ल्याउन पूर्वाधारमा सुधार गर्नुपर्छ । शान्ति सम्झौता गर्दा देश र जनतालाई अगाडि राख्नु, राष्ट्रिय पुँजी र राष्ट्रिय उद्योगको संरक्षण गरी जनआन्दोलनका शक्तिहरु तीन÷चारपटकसम्मको चुनावमा सँगै जानुपर्छ ।’ त्यतिखेर दिइएका यी गुरुगंभीर सूत्र कति बहुआयामिक, कति अनुभवले परिपाक पाएका र नेपालको धरातलीय राजनीतिको यथार्थ तस्बिर रहेछ जसले अहिलेको अन्योलग्रस्त राजनीतिको सम्भावना त्यतिखेरै किटान गरेर रछ्यानमा राजनीतिको ओछ्यान होला भनेर आफ्ना अनुयायीलाई चेतनाको सुइ हालिदिएका थिए ।

सर्वोच्च नेताले नेपालका दलहरुको आचरण सुधार्न तथ्य यसरी पोखेका थिए– ‘नेपालका दलभित्र पद र शक्तिको संघर्ष बढी छ, बिडम्वना विचारको संघर्ष भने कम हुन गएको छ । ’निश्चय नै यतिखेर नेपालका दलहरुमा डनवाद, धनवाद, नातावाद, परिक्रमावाद र विस्तारै आइएनजिओ र एनजिओका धमिराले वर्चश्व स्थापित गर्दै पार्टी पदहरु लिलाम बिक्रीमा गइरहेको नमीठो दृष्य देखिन थालेको छ । गणेशमान वास्तवमा निर्विघ्नवादकै प्रतीक थिए । पञ्चायतीकालमा उनले रात्रिकालीन भूमिगत  सभा (जो भक्तपुरमा भएको थियो) मा भनेका थिए– ‘जब हामी प्रजातन्त्रको कुरा गर्छौँ तब राजसंस्था तर्सन्छ, जब हामी राष्ट्रियताको मुद्दा उठाउँछौँ तब भारत शंकित भई झस्कन्छ । यो चेपुवबाट जोगिएर हामीले यहाँ प्रजातन्त्र ल्याएर राष्ट्रियता सुदृढ बनाउने गहन दायित्व लिएको हुँदा हामी जिम्मेवार क्रान्तिकारी तागत हौँ ।’

यसरी लौह मानवले कार्यकर्तालाई नेपालको राजनीतिक परिवेश विश्लेषण गर्थे । त्यसै भएर जननायक बिपीले भनेका थिए– गणेशमान साहसका प्रतिमूर्ति र राष्ट्रियताका अटल पुजारी हुन् । नेपाल प्रजापरिषद्को कार्यसमितिको सदस्य भएबापत राणाहरुबाट आजीवन काराबासको सजाय पाएका गणेशमान जेलभित्र रहँदा पनि उत्तिकै उत्साही, क्रान्तिकारी र लोकतन्त्रका हिमायती थिए । उनीसँगै जेल परेका साहित्यकारहरु फत्तेबहादुर सिंह , सिध्दिचरण श्रेष्ठ, चित्तधर हृदय, पूर्णनारायण प्रधानहरुलाई साहित्य लेख्न हुटहुटी लगाउँथे । त्यसैले त कयौँ बुज्रुकहरु भन्छन् गणेशमान नेपाली राजनीतिको चे ग्वेभारा थिए किनकि चेजस्तै लौह मानवको मान्यता थियो— ‘क्रान्तिकारी राजनेताले साधुको जस्तो जीवन बिताउनुपर्छ, आडम्बरहीन हुनुपर्छ ।’

देशको सर्वोच्च कार्यकारी पद पाउँदा पनि उनले त्यो किसुनजीलाई सुम्पे । सत्ताका लागि राल काडेनन् कहिल्यै । त्यसैले गणेशमानको नाम लिनेबित्तिकै एउटा सुन्दर विचार, ऊर्जाशील क्रान्ति, न्याय, विवेक, नैतिकता र वेदान्ती तस्बिर हाम्रो अगाडि नाच्छ । उनको अपूर्व अवदानलाई दाउमा राखेर सत्ताको राजनीतिमा केन्द्रित नवधनाढ्यहरुलाई यो जन्मजयन्तीले असल मार्गमा अर्थात् गणेशमानपथमा हिँड्न सद्बुध्दि देओस् । यस्ता राष्ट्रिय विभूतिको अपव्यय हुन नदिई नयाँ शीर्षहरु उनका अनुचर बनून् । मात्र सत्ताका मन्धहरुले  आफ्नो  स्वार्थसिध्दिको ढाल बनाउने कसरत  नगरुन् ।
जय गणेशमान !

 

प्रकाशित: २४ कार्तिक २०७३ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App