४ वैशाख २०८१ मंगलबार
अन्य

पानीमा नडराउने फूल

जिनिया गर्मी सिजनको लोकप्रिय सिजनल फूल हो। गर्मी  सिजनको सिजनल फूलमध्ये सयपत्री पछि यो फूल शौखिनको रोजाइमा पर्छ। यो फुल घर, गार्डेनमा सजाउन मात्रै नभई कट फ्लावरको रुपमा थुँगा सजाउन सकिन्छ।

पछिल्लो समय जिनिया फूल लोकप्रिय हुँदै गएको नर्सरी व्यवसायी बताउँछन्। विशेषगरी सहरी क्षेत्रमा यो फूलको लोकप्रियता छ। जिनिया फूल घर तथा गार्डेनमा फुलाउने  फूलका शौखिनहरु दिनप्रतिदिन बढिरहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन्। गर्मी तथा वर्षे मौसममा यो फूल राम्रो फुल्ने भएकाले यो फूलका शौखिन बढिरहेको उनको तर्क छ।

पहिले–पहिले नेपालमा स्थानीय जातको मात्रै पाइने जिनिया अहिले भने हाइब्रिडका बिभिन्न भेराइटी पाइन्छन्। त्यसैले आजकाल अग्लो मात्रै हैन हाइब्रिड  गरिएका होचो जातका जिनिया फूल पाइन्छ।

काठमाडौंको गोठाटारस्थित अग्रिम नर्सरीका अम्बरबहादुर खड्का ग्राहकको प्रमुख रोजाइमा हाइब्रिड गरिएको होचो जातको जिनिया रहेको बताउँछन्। विशेषगरी जमिनमा रोप्ने ठाउँ नहुने फूलका शौखिनले गमलामा होचो जातका जिनिया ढकमक्क फुलाउने गरेको बताउँछन्। खड्का भन्छन्,‘गमलामा होचैमा ढकमक्क जिनिया फुलाउन सकिन्छ।’

जिनियाको रंग चम्किलो देखिने र धेरै टिक्ने भएकाले पनि यो फूलको लोकप्रियता बढिरहेको नर्सरी व्यवसायी बताउँछन्। जिनिया करिब चार महिना फुलाउन सकिन्छ।

जाहाराको बढि लोकप्रिय
जाहारा भेराइटिको जिनिया (प्रजाति) वर्षादको पानी पर्ने समयमा समेत राम्रो फुल्ने भएकाले यो भेराइटीको जिनिया ग्राहकले बढी मन पराउने गरेको खड्काले बताए। यो भेराइटीको जिनिया ४० थुँगा भन्दा बढी फुलाउन सकिन्छ। त्यस्तै जिताना, ड्रिमल्यान्ड, ओक्लोहोमा, स्टारलाइनजस्ता भेराइटीका जिनिया नेपालमा लोकप्रिय छन्।

ड्रिमल्यान्डको फूलको थुंगो तुलनात्मक रुपमा ठूलो हुन्छ। यसमा ५÷६ किसिमको रंग हुन्छन्। यो गमला र जमिन दुवै ठाउँमा रोप्दा सुन्दर देखिन्छ। जाहारा भने ड्रिमल्यान्डको तुलनामा सानो थुगा हुन्छन्। तर ड्रिमल्यान्डको तुलनामा धेरै फूल फुल्छ। पछिल्लो समय जिनियाका भेराइटीमध्ये विशेषगरी जाहारा जिनिया मन पराइन्छ भने ड्रिमल्याण्डप्रति पनि फूलको शौखिन आकर्षित छन्। त्यसैगरी जिताना भेराइटीको जिनियाको केही मसिनो हुने भए पनि राम्रै फुल्छ। करिब १५ थुँगा फुलाउन सकिने अध्यक्ष श्रेष्ठ बताउँछन्। ओक्लोहोमा र स्टारलाइन भने केही अग्ला हुने भएकाले यी भेराइटिको जिनिया जमिनमा रोप्नु उपयुक्त हुने हर्टिकल्चर विशेषज्ञको सल्लाह छ। जमिनमा क्यारि बनाएर  रोप्दा लामो समय फुलाउन सकिन्छ।  अध्यक्षले श्रेष्ठले भने, ‘पिन्चिङ गर्दा ३० वटाभन्दा बढी फुलाउन सकिन्छ।’ मुन्टा चुँड्नुलाई हर्टिकल्चरको भाषामा पिन्चङ  गर्ने भनिन्छ। पिन्चिङ गर्दा धेरै हाँगा आउने भएकाले धेरै फूल फुलाउन सकिन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणी पोख्रेल पनि पिन्चिङ गरेर राम्रोेसँग मलजल गर्दा फूल चम्किलो तथा सुन्दर हुने बताउँछन्। मलजल भने पिना, गाईको गोबरलगायत हाल्न सकिन्छ। राम्रो फूल फुलेपछि कसको पो मन लोभिन्न र।
नेपालमा जिनियालाई पार्वती फूलका नामले समेत चिनिन्छ।

राम्रो सजावटको उपाय
जिनिया फूल घरमा लहरै गमलामा फुलाउने हो भने पनि यसले घरको सुन्दर शोभा बढाउँछ। यो फूल विभिन्न रंगमा पाइने भएकाले यसका शौखिन फरक–फरक किसिमको रंगको जिनिया सजाउन सकिन्छ। घरको कौशीमा गमलामा आकर्षक फुलाउन सकिन्छ।

अग्रिम नर्सरीका खड्का दश इन्चे गमलामा जिनिया झपक्कै फुलाउन सकिने बताउँछन्। गमलामा रोप्दा आफूलाई अनुकूल पर्ने ठाउँमा सजाउन सकिन्छ। गार्डेनमा रोप्दा भने क्यारी बनाएर लहरै रोप्न सकिन्छ। गोलो–गोलो आकारमा रोप्दा पनि राम्रो देखिन्छ। दुबो लगाएको गार्डेन छ भने त बीचमा दुबो राखेर वरिपरि जिनिया रोपेर ढकमक फुलाउन सकिन्छ। विभिन्न रंगका जिनिया गार्डेनभरि फुलाउँदा गार्डेन मात्रै हैन घर तथा अफिस नै बेहुली सिँगारिएजस्तै देखिन्छ।

नेपालमा ७/८ रंगका जिनिया लोकप्रिय रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। विशेषगरी नेपालमा रातो, रानी, पिंक, पहेँलो, छिरबिरेजस्ता रंग मन पराइने रङमा पर्छन्।

मजबुत फूल
फूल तथा बोट कडा हुने र सामान्यतः पानीले समेत नबिगार्ने भएकाले जिनिया धेरैले मन पराउने गरेको फ्यानका महासचिव पोख्रेलले बताए। जिनियामा सामान्यतः रोगसमेत लाग्दैन।  जिनियाको पातमा वर्षामा छिर्का पर्नेजस्ता जोखिम कम हुन्छ।

वर्षादको समयमा जिनियाको बोट तथा जरा कुहिने सम्भावना कम हुने अग्रिमका खड्काले बताए। सामान्यतः वर्षादको पानीले यो फूललाई बिगार्दैन। एक हिसाबले भन्ने हो भने यो फूल वर्षादको सामान्य पानीदेखि डराउँदैन। कुहिँदैन। फुल्न सक्छ। यसो भन्दैमा पानी जम्ने ठाउँमा भने रोप्न हुन्न। नेपालको हावापानीमा राम्रोसँग जिनिया फुल्ने नर्सरी व्यवसायी बताउँछन्। फ्यानका महासचिव विश्वमणि पोख्रेलका अनुसार १५ देखि ३० डिग्रीको तापक्रममा जिनिया राम्रोसँग फुलाउन सकिन्छ। यसरी हेर्दा नेपालको तराईदेखि पहाडी भू–भागसम्म जिनिया फूल राम्रोसँग फुलाउन सकिन्छ। हिमाली भेगमा समेत फुलाउन सकिन्छ।

जमिनमा रोप्दा भने पानी नजम्ने किसिमले रोप्न खड्काको सुझाव छ। गमलामा रोप्दा पनि पानी नजम्ने किसिमले रोप्नुपर्छ।
काठमाडौं, पोखरा, धरान, विराटनगरजस्ता सहरमा जिनिया राम्रै फुलाउन सकिन्छ। विशेषगरी काठमाडौं उपत्यकामा डिनिया फूल राम्रैसँग फुलाएको देखिन्छ। नेपालमा कट्फ्लावरका लागि व्यवसाायक खेतीसमेत हुन थालेको छ।

वर्षादको समयमा यो फूल राम्रो फुल्ने भएकाले यो सिजनमा कटफ्लावर जिनियाको माग भएको र यसको व्यावसायिकखेती पनि राम्रो भएको नर्सरी व्यवसायी बताउँछन्।

महँगो छैन
जिनिया फूल महँगोसमेत नभएको नर्सरी व्यवसायी बताउँछन्। कटफ्लावर जिनिया प्रतिगोटा फूलको करिब तीन रुपैयाँ पर्ने पोख्रेलले बताए। काठमाडौंका नर्सरीमा सामान्यतः एक बोट जिनियाको बिरुवा पोलिको साइज अनुसार १५ देखि ४० र १०० रुपैयाँसम्म पर्छ। त्यसैगरी गमलामा ढकमक्क फुलेको जिनिया फूल दुई सय ५० देखि तीन सय पर्ने अग्रिमका खड्काले बताए।

काटेर राखेको फूलको थुँगा करिब एक हप्तासम्म ओइलाउँदैन। बरु फूल सुकेर जान सक्छ। कलर परिवर्तन हुन्छ। तर यो फूल भुइँमा हत्तपत्त खस्दैन। एउटा बोटमा चार महिनासम्म फुलाउन सकिन्छ। फागुनदेखि सुरु भएर असोजसम्म जिनिया फुलाउन सकिन्छ। यसको रोप्ने उपयुक्त सिजन भने फागुनदेखि जेठ महिनासम्म हो।  

जिनिया पुनः उत्पादनसमेत गर्न सकिने फूल हो। हाइब्रिड प्रजातिका जिनियाको बीउसमेत पुनः निकाल्न सकिने नर्सरी व्यवसायी बताउँछन्। पुन बीउ उत्पादन गर्न सकिने भएकाले पनि यो फूल लोकप्रिय भएको हो। कडा किसिमको हुने र बास्ना नआउने भएकाले पूजामा भने कम प्रयोग भएको देखिन्छ।

यो गार्डेनमा सहजै फुलाउन सक्ने मात्रै हैन बीउ पनि राम्रो उम्रने श्रेष्ठले बताए। यो विशेषगरी राम्र्रोसँग घाम लाग्ने ठाउँमा फुल्छ। त्यसैले घाम लाग्ने ठाउँमा रोप्नु नै उपयुक्त हुने हर्टिकल्चर विशेषज्ञको राय छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App