coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इटहरीमा फस्टाउँदै यौनधन्दा

 

इटहरी– आर्थिक प्रलोभन देखाएर युवतीलाई यौनधन्दामा लगाउनेक्रम इटहरी र आसपासका क्षेत्रमा बढेको छ। यहाँका होटल रेष्टुरेन्टहरूले विभिन्न प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाउने गरेका हुन्। 

इटहरी क्षेत्रमा यौनधन्दा फस्टाएसँगै जिल्ला अदालत सुनसरीमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता हुनेक्रम पनि बढेको छ। गत  वर्ष जिल्ला अदालत सुनसरीमा मानव बेचबिखनसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन्। जसमा अधिकांश मुद्दा यौनधन्दासँग सम्बन्धित छन्। 

ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोपमा जिल्ला अदालत सुनसरीले इनरुवा वडा नं. ३ की कञ्चन साहलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको छ। उनले एक युवतीलाई इनरुवा वडा नं. ४ कै विनोदकुमार पण्डितसँग पैसा लिएर शारीरिक सम्पर्क गर्न लगाएको उजुरी असार २२ गते परेको थियो। जिल्ला न्यायाधीश मणिराज न्यौपानेले दिएको आदेशमा कञ्चनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ८ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि राख्न भनिएको छ। 

विनोदलाई भने मुलुकी फौजदारी संहिता २०७४ को दफा ६८ र ७२ समेतको आधारमा २३ हजार नगद वा सो बराबरको बैंक जमानत दिएर तारिखमा राख्न आदेश दिइएको छ। आदेशबमोजिम विनोदले तोकिएको जरिवाना बुझाएर छुटेका छन्। 

विशेषगरी, होटल सञ्चालन गर्दा आर्थिक फाइदाका लागि युवतीलाई अनेक प्रलोभन दिएर ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउनेक्रम बढ्दो छ। यस्ता कार्य गर्नमा होटल सञ्चालकले नै युवतीलाई ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउँछन्। 

युवतीलाई पुरुष ग्राहकसँग बसेको एक रातको तीन हजारसम्म पैसा लिएर यौनधन्दा गराएको आरोपमा प्रहरीले वैशाखमा पक्राउ गरी मुद्दा चलाएकी इटहरी वडा नं. ६ कै बिपीचोकको फ्यामेली होटल एण्ड खाजाघरकी सञ्चालिका टीका राई पनि अहिले पुर्पक्षका लागि जेल चलान भएकी छन्। पक्राउ परेकी ४३ वर्षीया राईलाई प्रहरीले मानव बेचबिखनमा मुद्दा चलाएको थियो। 

 पूर्वपश्चिम तथा कोसी राजमार्ग आसपासका सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले युवती राखेर यौनधन्दा गर्ने गर्छन्। 

मंसिर २ गते इटहरी वडा नं. ४ स्थित न्यू स्टार होटलका सञ्चालक राम भन्ने सितबहादुर कार्की पक्राउ परे। युवतीलाई काम गर्ने बहानामा आर्थिक प्रलोभन देखाएर यौनधन्दा सञ्चालन गर्ने गरेको सूचनाका आधारमा बराहक्षेत्र वडा नं. ४ घर भएका ३२ वर्षे कार्कीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारमै मुद्दा दर्ता गरियो। उनलाई सुनसरी जिल्ला अदालतले दस वर्ष कैद सजाय फैसला गरेको छ। 

जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाई मानव बेचबिखन मुद्दा चलाइएको छ। २०७५ साउनदेखि २०७६ असार मसान्तसम्म परेका कुल १३ वटा मुद्दामध्ये अहिलेसम्म पाँच वटा पछ्र्याैट भएका छन्। अरु पछ्र्याैट हुन बाँकी रहेको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए। 

इटहरीबाट सबैभन्दा बढी मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता हुन सात वर्षअघिदेखि सुरु भएको थियो। सात वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरिन्थ्यो। त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर  सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो।

 एकैसाथ सात जना होटल सञ्चालकलाई मुद्दा चलाए पनि केही महिनासम्म यौनधन्दाका घटना नगण्य हुने गर्थे। तर, एकपछि अर्को उपाय होटल सञ्चालकले अपनाएर यौनधन्दा गर्न थाले। जसमा सुरुआतमा सञ्चालकले श्रीमती बनाउने बहानामा यौनकार्य गर्न लगाउने गरेको पनि भेटियो। त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही ग-यो। 

अर्को उपायका क्रममा भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएको पनि प्रहरीले सुइँको पायो। तिनीहरूलाई पनि प्रहरीले पत्ता लगाएर मुद्दा नै चलायो। 

पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ। तर, पनि बेलाबेलामा घटना दोहोरिने गरेका छन्। प्रहरीले कडाइ गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा जाँच भने रोकेको छैन। 

प्रकाशित: १८ श्रावण २०७६ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App