coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध फार्मेसीमा तालाबन्दी

उदयपुर– उदयपुरको कटारी बजारमा सञ्चालित अवैध फार्मेसीमा तालाबन्दी गरिएको छ। कटारी बजारमा अवैधरूपमा दर्ता भई सञ्चालनमा रहेका फार्मेसीहरूले एक्स–रे सेवा सञ्चालन गर्ने गरेको तथा अन्य सेवाबापत् विभिन्न अवैध गतिविधि गरेको पाइएपछि नगरपालिकाले तालाबन्दी गरेको हो।

कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीको नेतृत्वमा इलका प्रहरी, इलाका प्रशासन, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले शुक्रबार गरेको छड्के अनुगमनका क्रममा बजारमा बिनादर्ता सञ्चालित रेडियोग्राफर र एक्स–रे सेवाहरुमा तालाबन्दी गरिएको हो। कटारी बजारको अस्पताल चोकस्थित साह मेडिकल हलको एक्स–रे तथा प्याथोलोजी दर्ता नगरी सञ्चालनमा रहेको पाइएपछि तालाबन्दी गरिएको छ।

त्यस्तै बजारकै विशाल पोलिक्लिनिकको रेडियोग्राफर पनि बिना दर्ता सञ्चालनमा ल्याइएको पाइएकाले बन्द गराइएको छ। दर्ता नगरी सञ्चालनमा रहेको आस्था मेडिकोको एक्स–रे कक्षमा पनि तालाबन्दी गरिएको छ। दर्ता भए पनि नवीकरण नभएको सगरमाथा डेन्टल क्लिनिकमा पनि ताला लगाइएको स्वास्थ्य प्रमुख चौधरीले बताए। उनका अनुसार दर्ता र रेडियोग्राफरबिनानै सञ्चालनमा रहेको आस्था हस्पिटलको एक्स–रे कक्षमा पनि तालाबन्दी गरिएको छ।

नगरपालिकाको अनुगमन टोलीले डाक्टरबिना सञ्चालनमा रहेको पाइएपछि जनता साझा पोलिक्लिनिक र कटारी डेन्टललाई १० दिनभित्र डा. ल्याएर सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र पनि डा. नल्याए पोलिक्लिनिक र कटारी डेन्टल क्लिनिक बन्द गर्ने चेतावनी दिँदै मेडिकल सञ्चालकलाई कागज गराइएको छ।

त्यस्तै सगरमाथा अस्पतालमा तीन दिनभित्र विशेषज्ञ डा. ल्याउन टोलीले अल्टिमेटम दिएको छ भने अनुगमनको क्रममा कटारी मोडल हेल्थ केयर सेन्टरमा फार्मेसी सञ्चालक नभेटिएको जनाएको छ। अनुगमन गर्ने क्रममा फार्मेसी सञ्चालक बिदामा रहेको सेन्टरले बताएको थियो तर, यसअघिको अनुगमनमा पनि सो मेडिकलमा सञ्चालक नभेटिने गरेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार अनुगमन टोली आउने थाहा पाएर टोली आउनुअघि नै सञ्चालक भाग्ने गरेको खबर आएको प्रमुख चौधरीले बताएका छन्।

कटारी अस्पताल चोकमा सञ्चालित देव मेडिको अनुगमनको क्रममा बन्द अवस्थामा भेटिएको छ। यसअघिका अनुगमनमा पनि सो मेडिको बन्द हुने गरेको पाइएको टोलीले जनाएको छ। अधिकांश फार्मेसी मेडिकलहरूमा नियमानुसार डाक्टर र सञ्चालकहरू बिदामा रहेको पाइएको टोलीको भनाइ छ।

अनुगमन गर्दा बिदामा रहेको भनिएका सञ्चालकको कागजी प्रमाण मात्रै राखेर मेडिकल भने अरुले नै सञ्चालन गर्ने गरेको कतिपय स्थानीयको आरोप छ। कागजी प्रमाणबिना सञ्चालित फार्मेसीहरू अनुगमन टोली आउने जानकारी आएपछि भाग्ने गरेको स्थानीयले बताएका छन्। कटारी बजारमा २० वटा हाराहारी फार्मेसी सञ्चालनमा रहेकोमा अधिकांशले आवश्यक चिकित्सक नराख्ने, बिरामीलाई जोखिममा उपचार गराउने गरेको पाइएको गुनासो सर्वसाधारणले गर्दै आएका छन्।

टोलीले विधि र प्रक्रिया पुरा नगरी सञ्चालित मेडिकल तथा फार्मेसीहरुलाई नियमानुसार सञ्चालन गर्न निश्चित समय तोकेर अल्टिमेटम दिने र तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे बन्द गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। नेपाल सरकार र स्थानीय तहले तोकेअनुसार नीतिनियम र प्रक्रिया पूरा गरेर सञ्चालन गर्दा केही फरक नपर्ने तर, प्रक्रिया मिचेर सञ्चालन गरिँदै आएका सबै मेडिकल र फार्मेसीहरू अनुगमनको क्रममा भेटिएसम्म बन्द गरिने मेयर श्रेष्ठले बताए।
 

प्रकाशित: १८ श्रावण २०७६ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App