७ वैशाख २०८१ शुक्रबार
अन्य

बेहाल सातधारे–फुयाँलथोक सडक

आशिष पुडासैनी
साँघुरो बाटो। जताततै हिलो। जताततै ग्राभेल गर्न राखिएका ढुंगा–बालुवा। यो दृष्य हो– तारकेश्वर नगरपालिका–५ गोलढुंगाको सातधारादेखि फुयाँल थोकसम्मको सडकको। सडकका कारण स्थानीय मात्र होइनन्, यात्रुले पनि सास्ती पाएका छन्। सडकका कारण दुर्घटनाको जोखिम बढेको यात्रु बताउँछन्।

वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती भोग्नुपरेको स्थानीय सानुप्रसाद आचार्य बताउँछन्। ‘अस्ति राती हिँड्दा लडें,’ उनले सुनाए। उनका अनुसार सडक २०६४ सालमा कालोपत्रे भएको थियो। त्यसपछि नियमित सडक मर्मत नहुँदा सडक जीर्ण बनेको उनको भनाइ छ। ‘२०६४ पछि आक्कल झुक्कल रूपमा मात्रै सडक मर्मत गरिँदा सडकको दुरावस्ता भएको हो,’ उनले भने। सडक नबन्दा पर्यटकलाई ल्याउन नसकिएको उनले बताए।

यसतर्फ जनप्रतिनिधिले चासो नदेखाएको उनको गुनासो छ। उनले भने, ‘जनप्रतिनिधि पनि यही बाटो भएर हिँड्छन होला। तर, सडक पीच गर्नेमा उनीहरूको ध्यान पुग्न सकेको छैन।’ सडकको तत्काल पिच गर्नुपर्ने स्थानीयको माग छ।

तारकेश्वर नगरपालिका– ५ का वडा अध्यक्ष बासु गौतमले सडक मर्मतका लागि चाडै ठेक्का प्रक्रिया सुरु गरिने बताए। ‘हामीले ठेक्का प्रक्रियालाई अगाडि बढाएका छौँ,’ उनले भने, ‘छिट्टै ठेक्का लगाएर सडक मर्मत गरी स्थानीलाई हिलो र धुलोबाट मुक्ति गराउँछौँ।’ उनका अनुसार गत आर्थिक २०७५÷०७६ वर्षमा नगरपालिकाले सडक मर्मतको लागि ५५ लाख बजेट छुट्याएको थियो। जसबाट सडक छेउमा वाल निर्माण र ढलान भएको उनले बताए। यस वर्ष केन्द्रीय सरकारको अर्थ मन्त्रालयमार्फत् सडक स्तरोन्नतिका लागि २५ लाख र नगरपालिकाले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।–    (प्रशिक्षार्थी)

 

प्रकाशित: १८ श्रावण २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App