८ वैशाख २०८१ शनिबार
समाज

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

इनरुवा - सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

यसैबीच सुनसरीको इटहरी २० पानीपियास्थित कोशी राजमार्ग जङ्गलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  धरानबाट इटहरीतर्फ आउँदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु लडेका थिए। 

सडकमा लडेका सञ्जुलाई धरानतर्फ जाँदै गरेको मे १ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।  ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार–३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर–१ का ४३ वर्षीय रमेश खतिवडा प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १८ श्रावण २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App