अमेरिकी राष्ट्रपति चुनाव र लोकतान्त्रिक अभ्यास

मङ्गलबार, २३ कार्तिक २०७३, १९ : ५२ हाेमप्रसाद लम्साल, टेक्सास

नेपाली समय अनुसार आगामी मंगलबार राति विश्व शक्तिसम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपति चुन्ने चुनाव हुँदै छ, जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्ने छन्। यस चुनावी प्रक्रियामा  ३५ हजारभन्दा बढी नेपाली अमेरिकन पनि सहभागी हुनेछन्। अमेरिकामा रहेका नेपालीले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

सीमा क्षेत्रमा कडाइ गर्ने र अमेरिकामा कानुनी रूपमा मात्र गैरअमेरिकीहरूलाई प्रवेश दिने डोनाल्ड ट्रम्पको एजेन्डाप्रति धेरैजसो पुरातनपन्थी अमेरिकीको आकर्षण देखिएको छ। पूर्ण रूपमा प्रवेश बन्द गर्ने कुरा असत्य र अव्यावहारिक रहेको बताउने हिलारीको नाराले आप्रवासीहरूप्रति उदार मतदाताको मन जितेको छ। ११ मिलियन आप्रवासीहरूको भविष्य के हुने भन्ने निर्धारण भने यही राष्ट्रपतीय चुनावको अन्तिम परिणामले मात्र निर्धारण गर्नेछ।

अमेरिकी इतिहास

एउटा मुलुकको रूपमा संयुक्त राज्य अमेरिकालाई सुरक्षित राख्ने नाममा विनाशकारी गृहयुद्ध भयो । गृहयुद्घको आधाआधीतिर गेटिसवर्ग नगरमा राष्ट्रको नाममा राष्ट्रिय समाधिस्थल समर्पित गर्दै आफ्नो भाषणको अन्त्यमा राष्ट्रपति अब्राहम लिङ्कनले अमेरिकी इतिहासमै लोकतन्त्रको जोडदार परिभाषा दिए । ‘जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार’ भन्ने भनाइबाट उनले लोकतान्त्रिक सरकारको स्वरूपलाई राम्ररी परिभाषित गरिदिए । यो विचार लोकतान्त्रिक समाजको आकाङ्क्षा राख्ने सम्पूर्ण राष्ट्रहरूका लागि सान्दर्भिक ठहरियो ।

सरकारका सम्पूर्ण स्वरूपमध्ये लोकतन्त्र कठिन, सम्भवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ। यो अनेकौं तनाव र विरोधाभासले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ भन्ने भनाइ सत्य हो। लोकतन्त्रको परिकल्पना  फटाफट चाहेजस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने हो। कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ, त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ भन्ने लिङ्कनको आशय आज लोकतान्त्रिक मुलुकले प्रत्याभूत गरिरहेका छन्। लोकतन्त्र र अमेरिकामा देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ। विगत दुई सय वर्षमा अमेरिकी सरकारको बाहिरी रूपमा कमै मात्र परिवर्तन भएको देखिन्छ । तर, यदि हामीले अलि गहिरिएर हेर्‍यौं भने यसमा प्रशस्त फेरबदल भएका छन । अधिकांश अमेरिकीले जायज रूपमै के विश्वास गर्दछन् भने सरकारबारे उनीहरूको अन्तर्निहित सिद्धान्त सन् १७८७ मा संविधाननिर्माताले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तबाटै अभिप्रेरित छ।

संयुक्त राज्य अमेरिको राष्ट्रपतिको चुनावी माहोलले विश्वको ध्यानाकर्षण गराएको छ। राष्ट्रपति चार वर्षका लागि चुनिन्छन् र अर्कोपल्ट फेरि चुनावमा उठ्ने मौका पाउँछन् । राष्ट्रपति संसदीय व्यवस्थामा जस्तो अस्थिर कार्यकारिणीका रूपमा आफ्नो कार्यकालभरि रहँदैनन्। राजनीतिक दल धेरै नभएकाले र चार वर्षसम्म स्थिर हुनाले कतिबेला कुर्सी छाड्ने भन्ने प्रश्न आउँदैन। असामान्य परिस्थितिमा मात्र उनलाई कंग्रेस (विधायिका) ले दुई तिहाई मतले पदमुक्त गर्न सक्छ । तर, त्यहाँ जनप्रियताको कसी झन् प्रभावशाली देखिन्छ । राष्ट्रपति बिल क्लिन्टनलाई मोनिका लेविन्स्की काण्डमा आचारसंहिताका आधारमा पदमुक्त गर्न खोजिएको थियो। तर, उनको लोकप्रियताले यो सम्भव भएन र पदमा कायमै रहे।

बेलायतको उपनिवेश भए पनि किन अमेरिकामा संसदीय व्यवस्था अँगालिएन। अमेरिकामा बेलायतमा जस्तै दुईदलीय प्रणाली कायम छ। तर, उनीहरूको भूमिका भने फरक छ। बेलायतमा जस्तै अमेरिकामा पहिले व्यवस्था र पछिमात्रै दलहरूको विकास भएको पाइन्छ। संसदभित्रैबाट दल बन्ने प्रक्रियामा पनि केही निकटता पाइन्छ। अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटबीच शक्ति आदानप्रदान भैरहेको छ। कसैले तेस्रो दल बनी राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँला भन्न सकिँदैन। सन् १८२४ को राष्ट्रपतिको निर्वाचनसँगै दुई दलको अभ्यासको थालनी भएको पाइन्छ।

कसरी बन्यो दुई पार्टी ?

जोन क्विन्सी एडमका विपक्षमा टेनेसीबाट आएका एन्ड्रयु ज्याक्सन उभिए । तर, उनले अधिक निर्वाचन मण्डलको मत पाए पनि कुनै उम्मेदवारले अधिक मत नल्याएकाले त्यसबेलाको प्रचलन र प्रतिनिधिसभाको नियमअनुसार सदनले आडमलाई छान्यो । यस चुनावले दलभित्रै पक्ष र विपक्षमा ध्रुवीकरण भयो । तर, चार वर्षपछिको चुनावमा ज्याक्सनले चुनाव जिते र रिपब्लिकन दलमा विभाजन ल्याए । यसरी दुई दल रिपब्लिकन र डेमोक्र्याटिक पार्टी बनेको पाइन्छ ।

संविधान बनाउँदासम्म निर्मातालाई दलको आवश्यकतामा ध्यान गएन । त्यस समयमा पनि दलले राष्ट्र विखण्डन गर्छ र सामाजिक, राजनीतिक द्वन्द्व बढाउँछ भन्ने सोच थियो । अहिलेजस्तो जातीयताको भावना त्यति बलियो नभए पनि राजनीतिक नेता र अन्य क्षेत्रमा दलीय राजनीतिले पार्ने नकारात्मक पक्ष हेर्ने गरिन्थ्यो । तर, लोकतान्त्रिक अभ्यास क्रममा भने अप्ठ्यारा आउने रहेछन्, जसले गर्दा राजनीतिक यन्त्रको आविष्कार गरिँदो रहेछ भन्ने चेताना विकास हुँदै गएको पाइन्छ । राजनीतिक दलको प्रचलन पनि यस्तै अप्ठ्यारा हटाउने र लोकतन्त्रलाई बृहद् जनसमुदायबीच पुर्‍याउने माध्यम भएको आवश्यकता महसुस भएपछि दलीय व्यवस्थाको औचित्य बलियो बन्दै गयो ।

उत्कृष्ट लोकतान्त्रिक अभ्यास

अमेरिकामा राष्ट्रपतिको निर्वाचनपूर्व प्रशस्त लोकतान्त्रिक अभ्यास भएको हुन्छ । उम्मेदवार बन्न पनि व्यापक जनमतको आधार लिइन्छ । स्थानीय तहको प्रारम्भिक चुनावले कुनै उम्मेदवार लोकप्रिय भए–नभएको पहिल्याउन आफ्नै दलले परीक्षणमा उतार्छ । जसलाई जनसमर्थन बढी भएको मानिन्छ, सोही व्यक्ति उक्त दलको उम्मेदवार हुन्छ । त्यसपछि मात्र सम्बन्धित दलले आफ्नो उम्मेदवारबारे निर्णय गर्छ ।

अमेरिकी राष्ट्रपतिको चुनाव

अमेरिकाको राष्ट्रपतिको चुनाव गर्ने तरिका अनौठो छ । देशभरिका कांग्रेसको तल्लो सदनमा जम्मा ४ सय ३५ प्रतिनिधि हुन्छन् । प्रत्येक प्रतिनिधिका एक निर्वाचन मण्डलका सदस्य चुनिन्छन् । यस निर्वाचन मण्डलका सदस्यमा प्रत्येक राज्यका दुई सिनेटरका दुई प्रतिनिधि पनि छानिन्छन् । दुई राज्यले भने समानुपातिक पद्धतिबाट निर्वाचन मण्डलका सदस्य छान्ने गर्छ । अहिले वासिङ्टन डिसी, भर्जिनिया टापु, गुवाम, अमेरिकन समोआ र उत्तरी म्यारियामाको मण्डलका पाँच प्रतिनिधि हुन्छन् । राष्ट्रपति चुनिनका लागि कम्तीमा २७१ निर्वाचन मण्डलीका सदस्यको मत चाहिन्छ ।

राष्ट्रपतिको निर्वाचन तोकिएको मिति नोभेम्बर पहिलो साताको सोमबार सम्पन्न हुन्छ । अमेरिकाको दलीय प्रणालीले आजसम्म राम्ररी काम गरेको पाइन्छ । तर, संसदीय व्यवस्थाजस्तो दल सधै संसद बाहिर सक्रिय भइरहनु पर्दैन । जनमत तयार गर्ने या विरोध गर्ने सञ्चार र अन्य माध्यम बलिया भएकाले व्यवस्थापिकाले आफूलाई दिएको काममा बढी समय खर्च गर्छ ।

नेताहरू भाषणबाजी र उद्घाटनमा र निरर्थक कुरामा समय खर्च फाल्नेभन्दा आफ्ना समितिभित्रका विषयमा बढी चासो राख्छन् । यसरी राजनीतिले प्रदान गरेको मर्यादा मन्त्रीबिनै प्राप्त हुने भएकाले र मन्त्री भई भ्रष्टाचार गर्ने भन्ने नभएकाले प्रशासनिक भ्रष्टाचार कमै सुनिन्छ । राजनीतिक दललाई प्रभाव पार्ने काम चुनावमा उम्मेदवारका पक्षमा दिइने पैसा हो । राष्ट्रव्यापी चुनावी क्षेत्र भएकाले चुनाव खर्चिलो त हुन्छ नै । अमेरिकाको सम्पन्नताका हिसाबले यसलाई त्यति धेरै मान्न सकिँदैन । तर सर्वसाधारणले राष्ट्रपतिको चुनावमा उठ्न भने गाह्रो हुन्छ । यसका निम्ति दलभित्रैबाट आफू योग्य भएको र भोलि चुनावमा भाग लिइहाल्दा चुनावी खर्च जुटाउनसक्ने विश्वास दिलाउन पहिलो योग्यता आर्थिक संकलन नै मानिन्छ ।

अमेरिकी राष्ट्रपति उम्मेदवारबीच हुने बहसले संसदीय व्यवस्था भएका देशमा पनि नयाँ सोचको विकास भएको पाइन्छ ।  त्यस्तै बहस चलाएर उम्मेदवारको ल्याकत किन नजाँच्ने  भन्ने तर्क अघि सार्न थालिएको छ । तर, ३०–४० राजनीतिक दल भएका देश तथा स–साना निर्वाचन क्षेत्रमा यस्ता राष्ट्रिय बहस व्यावहारिक हुने देखिँदैन । प्रत्येक निर्वाचन क्षेत्रमा भने उम्मेदवारबीच छलफल हुनसक्ला । तर, यहाँ पनि संख्याले अप्ठ्यारो पार्छ। केही ठूला राष्ट्रिय दलका नेताबीच भने उनीहरूका भावी कार्यक्रम जान्न छलफल गराउन सकिन्छ।

राष्ट्रपतीय निर्वाचनसम्बन्धी तथ्य

अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याट पार्टीबाट फ्रेन्किलीन डी रुजबेल्टले अहिलेसम्म सबैभन्दा धेरै सन् १९३२, १९३६, १९४० र १९४४ गरी लगातार चारपटक निर्वाचन जिते । एकै व्यक्ति पटक–पटक निर्वाचित भएपछि बढीमा दुईपटक भन्दा बढी चुनाव लड्न नपाउने नियम बनाइयो । हालसम्मको इतिहास हेर्दा डेमोक्र्याट पार्टीले २४ पटक र रिपब्लिकनले २२ पटक राष्टपतीय निर्वाचन जितेको छ । अमेरिकी इतिहासमा सन् १८४० मा विलियम हेनरी ह्यारिसन तथा १८४४ मा ज्यारी ट्यालरले वीड् पार्टीबाट र अब्राहम लिङ्कनले दोस्रो कायकालका लागि नेसनल यूनियनको तर्फबाट चुनाव जितेकोबाहेक डेमोक्र्याट र रिपब्लिकनबाहेक अरु पार्टीले चुनाव जितेको इतिहास छैन । यसको मतलब अमेरिकामा अन्य पार्टीहरू भए पनि त्यति धेरै अस्तित्वमा छैनन् । अर्को महत्वपूर्ण कुरा के छ भने अमेरिका लोकतन्त्रको प्रचूर अभ्यास गर्ने देश हो । त्यहाँ राष्ट्रपतीय निर्वाचनको अभ्यास संसारकै लोकतान्त्रिक विधिअनुसार भएको मानिन्छ।  

प्राप्त मतको अवस्था

 सबैभन्दा बढी मत प्रतिशत ८१ दशमलव ८ प्रतिशत पाएर सन् १८७६ मा रुथरफोल्ड बी हायसले राष्ट्रपति जितेका थिए भने बिल क्लिन्टनले दोस्रो कार्यकालका लागि सन १९९६ मा सबैभन्दा कम ४९ प्रतिशत मत पाएका थिए । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा बढी ८१ प्रतिशत र सबैभन्दा कम ४९ प्रतिशत मतदान भएको इतिहास छ। राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालको चुनावमा ५४ दशमलव ९ प्रतिशत मत खसेको थियो। संसारभर छरिएका आफ्ना मतदातालाई संसारको जुनसुकै कुनाबाट पनि मतदान गर्न पाउने व्यवस्था हुँदा पनि मतदानको प्रतिशत कम हुने गरेको छ।

अमेरिकी राष्ट्रपतिको पहिलो चुनाव

अमेरिकामा पहिलोपल्ट सन् १७८८ मा जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित भए। उनी दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति निर्वाचित भए । त्यतिखेरसम्म अमेरिकी जनताले राजनीतिक हिसाबले यो वा त्यो पार्टीमा विभक्त नभइकन मुलुक निर्माणलाई महत्व दिएको पाइन्छ । राजनीतिक हिसाबले सन् १८०० तिर मात्रै डेमोक्र्याट र रिपब्लिकन पार्टीहरूले आफ्नो राजनीति सुरुआत गरेको पाइन्छ । त्यतिखेर छुट्टै पार्टी भए पनि जसको नीति राम्रो थियो उसैलाई दुवै पक्षका मानिसले मतदान गरेर छान्ने चलन थियो । पहिले मुलुक विकास गर्नु पर्दछ अनि मात्र राजनीति भन्ने मूलमन्त्रलाई आत्मसात गरेका अमेरिकीले सन् १८२८ मा मात्र छुटाछुट्टै पार्टीका रूपमा उम्मेदवार उठाएर राष्ट्रपति छान्न थालेका हुन् । त्यहाँका दुई पार्टीलाई पालैपालो जस्तोगरी अमेरिकी सत्ता सम्हाल्न जनमत प्राप्त भइरहेको देखिन्छ । सन् १८२० मा मात्रै एन्ड्रयू ज्याक्सनले डेमोक्र्याटबाट एकल राष्ट्रपति चुनाव जितेका हुन् । जब लोकतन्त्रको खम्बा बलिया भए, त्यसपछि मात्रै पार्टीगत राजनीति सुरु भएकाले अमेरिका आज संसारको समुन्नत राष्ट्र बन्न सफल भएको छ । संसारमै पहिले अन्तरपार्टी निर्वाचनको अभ्यास गरेर राम्रो मान्छे छानेपछि मात्रै विपक्षीसँग चुनावी मैदानमा उत्रिनुपर्दछ भन्ने मान्यताका कारण अमेरिकाले त्यस्तो अभ्यासको सुरुआत गरेका हुन । त्यसैले होला अन्य अविकसित मुलुकमा जस्तो नेताले जेलनेल भोगेको वा प्रहरी हिरासतमा बसेको कुरा अमेरिकाको राजनीतिमा खासै गणना हुन्न । त्यहाँ त जसको असल नीति हुन्छ, त्यही नेता बन्छ ।

जसको नीति, त्यही नेता

सन् २००४ सम्म चुपचाप कतै नदेखिएका बाराक ओबामा एक्कासि अमेरिकी राजनीतिमा सलहसरि छाए र अन्ततः दुई कार्यकाल राष्ट्रपति बनेर इतिहास लेखाए । पार्टीमा योगदान र लगानीको कुनै मूल्यांकन नहुने भन्ने पनि होइन, यसको लेखाजोखा पार्टीभित्र आन्तरिक रुपमा हुन्छ । जब विपक्षीसँग प्रतिस्पर्धाको कुरा हुन्छ, त्यतिखेर कुन नेताले मुलुकलाई समुन्नत बनाउन सक्छ, विश्वमै नम्बर एक बनाउन सक्छ, त्यही आधारमा उसको चुनावी एजेन्डालाई जनताले अनुमोदन गर्छन्।

अमेरिकामा जुनसुकै चुनाव हुँदा पनि उठ्ने मूल कुरा अमेरिकी अर्थतन्त्र, विदेश नीति, रोजगारी र लगानीमा देखिएको वातावरण, लागुऔषधको बढ्दो प्रयोगलाई नियन्त्रण, थप लगानी र आम्दानीका थप स्रोतको निर्माण हुन् । समानताका कुरामा तेस्रो लिंगीहरूको कुरा पनि जोडदार रूपमा उठ्ने मुद्दा हुन । मूलतः जसले मुलुकलाई सर्वशक्तिमान कायमै राख्न सक्छ, अमेरिकी स्वाभिमान र सर्वश्रेष्ठतालाई निरन्तरता दिनसक्छ । उसलाई छनोट गर्न आतुर छन् अमेरिकी जनता। यसपालिको राष्ट्रपति निर्वाचनमा कसले बाजी मार्लान् भन्ने भविष्यवाणी गर्नु अलि हतार होला।

 







यसमा तपाईको मत


अन्य समाचार

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...