७ वैशाख २०८१ शुक्रबार
खेल

सागको महिला क्रिकेट पोखरामा

पोखरा - पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ। कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षणपछि राष्ट्रिय खेलुकद परिषद्(राखेप)ले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो। पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधारसमेत मैदान मर्मत सम्भारको गृहकार्य सुरु गरिएको छ।

क्रिकेटका मुख्य प्रशिक्षक जगत टमटाले मैदान निरीक्षण गर्दै प्रारम्भिक चरणमा गर्न सकिने कामको मात्रै सरु गर्नुपर्ने बताए। ‘सागको तयारीमा छौं। चरणबद्ध काम गर्नुपर्छ। सबै काम साग अघि सकिँदैन,’ उनले भने,‘अहिले मैदानको लेभलिङ र विकेटको पिच तयार गरिनेछ।’ उनकाअनुसार नोभेम्बरको अन्तिम सातासम्म मैदान संरक्षण गर्न ८ फिट अग्लो इनर फेन्सिङ (तारजाली लगाउने काम) अघि बढाइनेछ।

तीन महिनाभित्रमा क्रिकेट पिचलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान संरक्षण गर्न तारजाली लगाउनुपर्ने खाँचो छ। त्यसैले पनि मैदान संरक्षणको पहिलो सर्तअनुसार तारजाली लगाउने र त्यसपछि मात्रै ड्रेनेजको काम गरिने तय गरिएको छ। डे«नेजभन्दा अघि सागको लागि अस्थायी चेन्जिङ रुम र शौचालय बनाउनुपर्नेमा प्रशिक्षक टमटाले ध्यानाकर्षण गराए।

‘खेलाडीलाई चेन्जिङ रुम र शौचालय अनिवार्य बनाउनुपर्छ।’ उनको भनाई थियो।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा सागअन्तर्गत महिला क्रिकेटसमेत आयोजना गर्ने सम्भावना रहेको उल्लेख गरे। ‘पोखरामा सात खेल आयोजना गर्ने तय गरिएको थियो। तर क्रिकेट(महिला) पनि थपिने सम्भावना छ,’ उनले भने,‘त्यसको लागि आवश्यक पुर्वाधार बनाउन फास्ट ट्र्याकमा काम गर्नुपर्छ।’

राखेप सदस्य गुरुङले काम ढिलाइले समस्या बढाउने भन्दै फास्ट ट्र्याकबाटै काम टुङग्याउँदै लैजानुपर्नेमा जोड दिए। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशाला क्रिकेट मैदान अन्तर्राष्ट्रिय खेलकुद भेन्यु बन्न सक्ने स्पष्ट पारे। पोखरा रंगशाला क्रिकेट मैदानको लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत राखेपले ३ करोड र गण्डकी प्रदेश सरकारबाट २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

‘छुट्टाइएको बजेटले क्रिकेट मैदानमा आवश्यक पुर्वाधार निर्माणको काम अघि बढाउन सकिन्छ,’ सिग्देलले भने,‘तर साग अघि पिचमर्मत र तारजाली बाहेक अन्य काम गर्न भने सकिने अवस्था छैन।’ उनकाअनुसार खेलकुदको इन्जिनियरकै सहयोगमा डिजाइन अनुसार नै काम गरिनेछ। मैदानलाई राखेपले गत आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो।

विनियोजित रकमबाट पोखरा रंगशाला फुटबल मैदान निर्माणको क्रममा निस्किएको ढुङ्गे माटो क्रिकेट मैदानमा हालिएको थियो। हालिएको माटोलाई सम्याउन उक्त बजेट खर्च गरिएको थियो। खर्च गरिएको बजेटबाटै मैदानको आकार केही फराकिलो बन्न पुगेको छ। निर्माणाधिन पोखरा रंगशालास्थित फुटबल मैदानमा महिला साग फुटबल हुनेछ। यस अघि नै ह्यान्डबल, भारोत्तोलन, आर्चरी, प्याराग्लाइडिङ र ट्रायथोलन पोखरामा आयोजना गरिने तय भइसकेको थियो। नोभेम्बरको अन्तिम सातासम्म मैदान संरक्षण गर्न ८ फिट अग्लो तारजाली लगाउने काम अघि बढाइनेछ। पहिलो सर्तअनुसार तारजाली लगाउने र त्यसपछि मात्रै ड्रेनेजको काम गरिने तय गरिएको छ।

प्रकाशित: १८ श्रावण २०७६ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App