८ वैशाख २०८१ शनिबार
अन्य

स्मार्ट डेकोरेटेड होम

ज्योति श्रेष्ठ

सुन्दर, आकर्षक र चिटिक्क परेको घर, बनाउने सपना प्रायः सबैको हुन्छ।  घर बनाउनुभन्दा पहिले घरलाई कसरी  सिंगार्ने र आकर्षक बनाउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुन्छ।  घरको बाहिरी शृंगार मात्र नभएर मानिसहरू अचेल इन्टेरियर डिजाइनमा समेत मानिस आकर्षित भइरहेका छन्।  यससँगै पछिल्लो समय मानिस आफ्नो घरको सुरक्षामा समेत निकै सचेत हुन थालेका छन्।  प्राकृतिक प्रकोपबाट घरलाई कसरी जोगाउने भन्ने विषयमा पनि मानिस धेरै नै चनाखो भइसकेका छन्।  केही वर्षयता स्मार्ट होमले पनि निकै चर्चा पाएको छ। 

स्मार्ट सिटी, स्मार्ट फोन, स्मार्ट गाडी हामीले सुन्दै आएका छौं।  पछिल्लो चरणमा सुनिएको शब्द होे– स्मार्ट होम।  कहीँ कतै स्मार्ट घर पनि देखिन थालेका छन्।  घर बनाउनुपूर्व अचेल मानिस स्मार्ट होमको बारेमा बुझ्ने गरेका छन्।  बैठक कोठा कहाँ राख्ने, कस्तो रंग लगाउने, किचेन, लिभिङ रुम, बेड रुम, स्टडी रुम कस्तो बनाउने जस्ता कुरा घर बनाउने तयारीमै योजनामा राख्ने गर्छन्।  यससँगै गार्डेन कस्तो बनाउने, कौसी खेती कहाँ बनाउने, स्टोर, ट्वाइलेट, बाथरुमका विषयमा धेरै जानकरी लिएर मात्र निर्माण सुरु गर्ने गर्छन्।  त्यसैले अहिले मानिसहरू वास्तुशास्त्र, होम डेकोरेटर र डिजाइनरसँग सल्लाह गरेर मात्र निर्माण कार्यलाई अघि बढाउँछन्।  तर, पहिले यो कुरामा मानिसहरूको ध्यान जाँदैनथ्यो।  केबल बाहिरबाट हेर्दा आकर्षक भए मात्र पुग्थ्यो। 

घरको बाहिरी शृंगार मात्र नभएर मानिसहरू अचेल इन्टेरियर डिजाइनमा समेत मानिस आकर्षित भइरहेका छन्।

स्मार्ट होम
स्मार्ट होमको बारेमा धेरै चर्चा भइरहँदा, नागरिकमा कसरी बनाउने स्मार्ट होम भन्ने कौतुहलता पनि भइरहेको छ।  स्मार्ट होममा हाम्रा घरमा भएका विद्युतीय उपकरणलाई रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ।  प्रविधिमा आएको नयाँ आयाम ‘अटोमेसन’ले घरलाई स्मार्ट बनाइरहेको छ।  अटोमेसनले फायर अलार्म किट, स्मार्ट क्यामेरा, डिजिटल डोर लक, भिडियो डोर फोन, अकुपेन्सी सेन्सर, स्मार्ट प्लग, वायरलेस स्मोक सेन्सर, वायरलेस ग्यास सेन्सर, मोटोराइज्ड कर्टेन, लाइटिङ अटोमेसन लगायतका स्मार्ट सुविधा छुट्टाछुट्टै तथा प्याकेज स्मार्ट फोनबाट लिन सकिन्छ।  डिभाइस जडान गर्ने र डिभाइसलाई ‘होममेट’ एपमा कनेक्ट गरेपछि सञ्चालन गर्न सकिने भएकाले एउटै स्मार्ट फोनबाट धेरै काम गर्न सकिन्छ।  हाम्रो घरमा प्रयोग भएका स्मार्ट प्रविधिले हाम्रो जीवनशैलीलाई समेत स्मार्ट, सुरक्षित र सहज बनाइरहेको छ। 

घरलाई सजाउन ठूलो ठाउँ र धेरै पैसा चाहिन्छ भन्ने हाम्रो मानसिकता छ।  यो मानसिकता गलत भएको इन्टेरियर डिजाइन एण्ड डेकोरेसन कम्पनी नेपालका प्रबन्ध निर्देशक चन्द्रप्रसाद हुमागाई बताउँछन्।  उनका अनुसार मानिसहरूको बुझाईमा स्मार्ट होम एकदम जटिल विषय र निकै महँगो हुन्छ।  तर, वास्तवमा मानिसले सोचेजस्तो जटिल र महँगो छैन।  सानो क्षेत्रफलमै पनि घरलाई सुन्दर र आकर्षक बनाउन सकिन्छ।  स्मार्ट होममा विशेष गरेर इन्टेरियर डिजाइन र डेकोरेसनका कुरा आउँछन्।  यससँगै हाम्रा घरमा भएका उपकरणलाई प्रविधिमैत्रि बनाउने मात्र हो।  बाहिरबाट हेर्दा मात्र आकर्षक भएर मात्र हुँदैन, भित्रका साजसज्जादेखि सबै कुरा व्यवस्थित हुनुपर्छ।  त्यसकारण घर बनाउनुअघि इन्टेरियर डिजाइनरसँग सल्लाह लिन हुमागाई सुझाउँछन्। 

घरलाई कस्तो बनाउने भन्ने कुरा आफ्नो रोजाई र आफ्नो क्षमतामा भर पर्छ।  स्मार्ट होम डिजाइनरका अनुसार अहिले विशेष गरेर ट्रेडिस्नल, मोर्डन र फ्युजन गरी तीन डिजाइनका घर चलनचल्तीमा छन्।  ट्रेडिसनल होम हेर्दा जति आकर्षक देखिन्छ, त्यति नै एक्सपेन्सिभ पनि छ।  यो बनाउनको लागि समय पनि धेरै लाग्छ।  यस्ता घर होटल र रेस्टुरेन्टका लागि बढी प्रयोग हुने गरेका छन्।  त्यस्तै अहिलेको चलनचल्तीमा रहेको छ, मोर्डन स्मार्ट होम।  तुलनात्मक रूपमा यो छोटो समयमा पनि बन्ने र कम लागत बन्ने भएकाले अहिले बढी प्रयोगमा आएका छन्।  हेर्दा यो किसिमको घर निकै फेन्सी देखिन्छ।  त्यस्तै फ्युजन पनि एक प्रकारको स्मार्ट होम हो।  यसमा ट्रेडिसनल र मोर्डन दुवैको मिश्रित कन्सेप्ट भएकाले यसलाई फ्युजन भनिएको हो। 

कहीँ कतै पाहुना लाग्दा होस् वा कतै होटल र रेस्टुरेन्टमा जाँदा हाम्रो पहिलो नजर रंग र त्यहाँको साज्सज्जामा जान्छ।  अचेल घरका भ¥याङसँगैका भित्ताहरुमा फोटो राख्ने, वाल पेन्टिङ, वाल डेकोरेसनले सजाएको देखिन्छ।  तुलानात्मक रुपमा वाल पेन्टिङ र वाल आर्ट अलि महङ्गो हुने भएकाले टेकोक्चर पेन्टिङ गर्दा सस्तो मूल्यमा घरलाई सजाउन सकिने आर्कीटेक्चरहरु सुझाउँछन्।  बजारमा धेरै थरिका त्यस्ता पेन्टिङ भेटिन्छन्।  आफ्नो रोजाईका रङ प्रयोग गर्ने हो।  तर, क्वालिटी र टिकाउको हिसाबमा इटालिएन पेन्टिङ गर्दा राम्रो हुने बताइन्छ।  घरमा कलरमा लगाउँदा आफ्नो रोजाइको लगाउने गरिन्छ।  रङ छनोट गर्दा पनि धेरै कुरामा ध्यान दिनुपर्ने वास्तुकलाविद् बताउँछन्।  कुनै रङले मानिसलाई आक्रोस र उत्तेजित बनाउँछ, त्यस्तै कुनैले आँखा र स्वास्थ्यमा समेत असर पर्न सक्छ।  त्यसकारण पनि रङ प्रयोग गर्नुअघि विशेष ध्यान दिन विज्ञहरू सुझाउँछन्।  डार्क कलरभन्दा लाइट र सफ्ट कलर प्रयोग गर्दा आँखासँगै स्वास्थ्यको लागि राम्रो हुन्छ। 

घरका कति ठाउँ खाली देखिन्छन्, कसरी सजाउने भन्ने कतिपयलाई दोधार पनि होला।  खाली ठाउँमा जस्तै भित्तामा आर्ट गर्ने, फोटो फ्रेम राख्ने, वाल पेन्ट गर्न सकिन्छ।  त्यस्तै ह्यान्डी क्राफ्ट, सो केस र अरु घरायसी उपकरणले खाली ठाउँलाई सजाउन सकिन्छ।  लिभिङ, बैठक र बेड रुमसँगै किचनलाई पनि सजाउन सकिन्छ।  अहिले स्मार्ट होम मात्र होइन, स्मार्ट किचनको कन्सेप्ट पनि प्रयोगमा आइसकेको छ।  किचेनका सबै सामान एकै ठाउँमा राख्दा भद्रगोल देखिन्छ।  पोर्टेबल किचन जहाँ सामग्री तुरुन्तै फेरबदल गर्न सकिन्छ, त्यस्तै फेल्डिङ ¥याक र डाइनिङले किचनलाई सजाउनुको साथै व्यवस्थित बनाउँछ।  घरमा बस्दा दिक्क लागेको समयमा कहीँकतै गएर फ्रेस हुन मन लाग्छ।  त्यसको लागि टाढा जानै पर्दैन।  हाम्रै घरको गार्डेनमा गएर एक–दुई घण्टा समय बिताउँदा पनि रिफ्रेस भइन्छ।  ठूला ठाउँ नै चाहिँदैन, सानो कम्पाउन्डमा पनि चिटिक्क परेको गार्डेन बनाउन सकिन्छ।

प्रकाशित: १८ श्रावण २०७६ ०२:०७ शनिबार

डेकोरेटेड होम शनिबार