coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

वनको जग्गामा थाउजेन्ड बिग बुद्धको सिलान्यास गर्दै सभामुख ओनसरी घर्ती मगर र थाइ राजसंस्थाका धार्मिक सल्लाहकार।

धरान– पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ ।

जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो । विदेशबाट दान उठाएर निर्माण गर्ने भनिएको उक्त बिग बुद्धको शिलान्साय मंगलबार सभामुख ओनसरी घर्ती मगर र थाइल्याण्डको राजसंस्थाका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभना संयुक्तरुपमा गरे।

सभामुख मगरले शिलान्यास गरेको वनको जग्गामा अघिल्लो दिन जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गएको टोलीले वन क्षेत्रमा नोक्सानी गरेमा दण्ड सजाय गर्ने चेतावनीसहितको ब्यानरसमेत राखेको थियो । तर, उपमहानगरपालिका र स्थानीय राजनीतिक दलले राजनैतिक पहुँच प्रयोग गर्दै मंगलबार सभामुख मगरलाई प्रमुख अतिथिको रुपमा ल्याएर सिलान्यास गराएको हो। वनको क्षेत्रमा डोजर प्रयोग गरी डाडा सम्याइएको छ भने त्यहाँका बोटविरुवा पनि मासिएको छ।

धरान २० मा पर्ने छोटिमोरङमा सुर्योदय बुद्ध बिहारले १ सय ७५ फिट अग्लो बुद्धको मुर्तिसँगै थाउजेन्ड बिग बुद्ध बनाउने भनिएको छ । स्रेस्ता अनुसार यो जग्गा राष्ट्रिय वन क्षेत्र हो । साथै, धरानको खानेपानीको मुहान पर्ने सर्दु जलाधार क्षेत्रमा पनि पर्छ । वन क्षेत्रमा कुनै ठुलो संरचना वा योजना निर्माण गर्नुपुर्व मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने जानकारहरु बताउँछन् । संरक्षण गर्नुपर्ने निकाय नै जलाधार क्षेत्रको भविष्य संकटमा पर्ने गरी भौतिक निर्माण गर्न लागेको भन्दै धरानमा असन्तुष्टी पनि चुलिँदो छ । बिग बुद्ध बनाउन धरानका राजनीतिक दल र उपमहानगरपालिकाले अनुमति दिने निर्णय गरेको छ । विगतमा भने सट्टाभर्ना पाइसकेर पनि लगतकट्टा नहुदा पुनः जग्गाधनीले अतिक्रमण गर्न थालेको भन्दै नगरपालिका र राजनीतिक दलहरुले संरक्षण गर्न भन्दै नागरिकस्तरमा आन्दोलन र अभियान चलाएको थियो ।

जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाका अनुसार उपमहानगरपालिकाले धार्मिक वनको रुपमा हस्तान्तरणको लागि सिफारिश गरिदिन पत्राचार गरेको थियो । तर, ठुलो भौतिक निर्माणको कार्य वन क्षेत्रमा गर्न नमिल्ने भएकोले सोही व्यवहोराको पत्रसमेत उपमहानगरपालिकालाई पठाएको उनले बताए । ‘राष्ट्रिय वन क्षेत्रको जग्गा हो, त्यहाँ सिलान्यास भयो भन्ने सुन्यौं । तर, हामीले वन ऐन विरुद्ध गएर कुनै पनि भौतिक संरचना निर्माण नगर्न भनेर जानकारी गराइसकेका थियाैं । सोमबार गएर चेतावनीको ब्यानर पनि त्यहाँ राखेका थियांै’–जिल्ला वन अधिकृत निरौलाले भने–‘सभामुख नै आएर सिलान्यास गर्ने भएपनि केही गर्न मिलेन । तर सुचनाअनुसार वन क्षेत्र मास्ने, भौतिक निर्माण गर्नेलाई कारबाही हुन्छ ।’

जिल्ला वन कार्यालयको चेतावनीसमेतलाई वेवास्ता गर्दै राजनीतिक दल र उपहानगरपालिकाले मंगलबार हतारमा सभामुखबाट सिलान्यास गराएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सिलान्यास गराउने चर्चा थियो ।

थाउजेन्ड बिग बुद्धको अवधारणा हाल हङकङमा रहने सुर्योदय बुद्ध विहारका अध्यक्ष प्रदिप थापा र संरक्षक भन्ते मेधंकरले ल्याएका हुन् । भन्ते मेधंकरको पहलमा थाइल्याण्डको राजसंस्थाका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभनाले बिग बुद्ध निर्माणमा आर्थिक लगानी जुटाउने भनिएको छ । तर, हालसम्म थाउजेन्ड बुद्धको कन्सेप्ट प्लान मात्र बनेको पाइएको छ । ठुलो संरचना बनाउनुअघि वनको जग्गा स्वामित्व हस्तान्तरण, वातावरणीय मुल्यांकन, माटो परीक्षण, डिटेल सर्वे, गुरुयोजनालगायत कामहरु थाती नै छ। योजना मुताविक थाउजेन्ड बुद्ध र बिग बुद्ध बन्न कति लागत लाग्ने र त्यसको भरपर्दो आर्थिक स्रोतबारेमा पनि स्पष्ट खाका छैन। सिलान्यास समारोहका संयोजक एवं उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा भने वनको जग्गा भएको स्वीकार गर्दै स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको बताउँछन्।

जलाधार क्षेत्रको जग्गा नपर्ने उनको दाबी छ । ‘वनले हाम्रो जग्गा हो भनेको छ, हामी मन्त्रीपरिषदबाटै निर्णय गराउने प्रक्रियामा छौं, उनले भने, ‘लागत यति नै छ भन्ने छैन, तर ठुलो लगानीको हो भन्नेसम्म छ । लगानी संकलन गछांै भनेको छ ।’ सभामुखबाट सिलान्यास मात्र गरेको र निर्माण थाल्नुअघि सबै प्रक्रिया पुरा गरिसक्ने उनको दाबी छ । थाइल्याण्डका राजसंस्थाका सल्लाहकार शोभनाले छिटो सिलान्यास गर्न चाहेकोले हतारिनु परेको उनको भनाई छ ।

बुद्ध बिहारका संरक्षक भन्ते मेधंकरका अनुसार १ सय ७५ मिटरको बिग बुद्धसहित साना दश हजार बुद्धहरु सबै दान लिएर निर्माण गरिनेछ । त्यसको लागि थाइल्याण्ड, सिंगापुरलगायत देशमा दाताहरु तयार रहेको उनले बताए । सिलान्यास समारोहमा पनि उनले दान गर्न आपिल गरेका थिए । धरानका पुर्वमेयर तथा नागरिक समाजका अध्यक्ष मनोज कुमार मेन्याङ्बो पनि आर्थिक स्रोतबारे शंका व्यक्त गर्छन् । ‘फलना देशबाट सहयोग हुन्छ भन्ने छ, तर ठोसरुपमा कहाँबाट के कसरी आउने हो भनेर स्रोतबारे शंका गर्ने ठाउ छ’–उनी भन्छन् ।

स्रोतका अनुसार पर्यटन विकास भन्दा पनि राजनीतिक दलका नेता र नगरपालिका भुमाफियाको प्रभावमा परेर बिग बुद्धको योजनालाई हतारमा कार्यान्वयन गर्न लागेका हुन् । बिग बुद्ध निर्माण स्थल नजिक सर्दु जलाधार क्षेत्रको जग्गा सट्टा भर्ना नपाएको भन्दै अतिक्रमण गरेका जग्गा धनीका आफन्त र भुमाफियाहरुले आफ्नो नाममा पारेका छन् । त्यही जग्गाको मुल्यांकन बढाउन हतारमा कुनै ठोस योजना विना र कानुनी प्रक्रिया पुरा नगरी सिलान्यास गरिएको हो ।

 

प्रकाशित: २३ कार्तिक २०७३ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App