८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

काठमाडौं– भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापी हस्तक्षेप नगर्ने बताएका हुन्।

रअ प्रमुखको नेपाल भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका बेला भााजपा नेता चाैथाइवालेले नेपाल आएर यस विषयमा प्रष्ट पारेका हुन्। ‘नेपालमा एकथरी मान्छे भारतको ठूलो डिजाइन छ भन्छन्, वास्तविकता त्यस्तो होइन,’ उनले भने, ‘नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैन।’

नेपाल सार्वभौम राष्ट्र भएकाले आफ्नो निर्णय आफैं गर्न सक्ने उनको भनाइ छ। उनले उत्तर एन्लान्टिक संघ (नाटो)का देशबीचमा पनि मतभेद् रहेको भन्दै नेपाल र भारतका बीचमा उतारचढाव आउनु सामान्य कुरा भएको बताए। ‘हामी नेपालसँग परस्पर र विश्वासका आधारमा सम्बन्ध बढाउन चाहान्छौं,’ उनले भने, ‘यो सम्बन्ध एकपक्षीय हुँनुहुँदैन, दुवैले लाभ लिने हुनुपर्छ।’

यस्तै उनले आफूहरु अखण्ड नेपाल (एक नेपाल)को पक्षमा रहेकाे बताए। 'पहिले केही भ्रम थियाे। भारतले मधेसबाट नेपाललाइ हेर्थ्याें,' उनले भने, 'अब काठमाडाैंबाट हेर्छ।' नेपाल र भारत सम्बन्धलाई धार्मिक पर्यटनदेखि विकास र समृद्धिसम्म जोड्नुपर्ने उनको भनाइ छ। साथै उनले भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिकतामा राखेको बताए। निकट भविष्यमै मोदी पुनः नेपाल भ्रमणमा आउने जानकारीसमेत उनले गराए।

नेता चाैथाइवालेले हिन्दू राष्ट्रका बारेमा साेधिएकाे प्रश्नमा भने, नेपालकाे भविष्य नेपालकै हातमा छ। उनले याे विषयमा भारतकाे कुनै चासाे नरहेकाे पनि स्पष्ट पारे। नेपालीले हिन्दू राष्ट्र बनाए भारतले स्वागत गर्ने उनकाे भनाइ छ।

कार्यक्रममा नेपालका भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपालसँग रहेको दशकौंदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताए। उनले नेपालको विकासमा भारतको सदैव साथ सहयोग रहने उल्लेख गरे।

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महतले नेपाल भारत सम्बन्धको मुख्य अजेन्डा आर्थिक विकासमा समृद्धि हुनुपर्ने बताए। उनले नेपाल–भारतको जनस्तरबाटै सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्ध रहेको भन्दै नेपालको विकास र समृद्धिमा सघाउन भारतलाई आग्रह गरे।

प्रकाशित: १७ श्रावण २०७६ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App