६ वैशाख २०८१ बिहीबार
अन्य

लोक नाट्य जट–जटिनको सामाजिक सन्दर्भ

रामभरोस कापडि भ्रमर

पृष्ठभूमि
ऋग्वेद कालदेखि नै लोक शब्दको प्रयोग हामी पाउँछौं। अर्थ र प्रसंग फरक हुन सक्तछ तर पछि शिष्ट साहित्यको समानान्तर जनमानसमा सुरक्षित लोक साहित्य पनि विकास हुँदै गएको तथ्य हामी अनेकौं उदाहरणबाट हेर्न सक्तछौं।

लोक साहित्यलाई जनताको साहित्य भनिएको छ। शिष्ट साहित्य संस्कृत तथा शिक्षित व्यक्तिहरुको पृष्टपोषण गर्ने साहित्य ठानिएको छ। शिष्ट साहित्य लिपिबद्ध हुने गर्दछ, जबकि लोक साहित्यका रचयिता अज्ञात हुन्छन्।

वास्तवमा शिक्षित र बौद्धिक समाजले शास्त्रीय विधि–विधानको आधारमा आफ्नो उल्लास र चिन्तनको प्रदर्शन गर्न नाट्य विधालाई चयन गरेका थिए भने त्यही जनसामान्यले पनि आफ्नो प्रसन्नता, खुसी र विषय–वस्तुको स्वान्तः सुखाय प्रस्तुतिका लागि लोक अभिनय विधालाई उपयोग गरे। शास्त्रीय विधि द्वारा प्रतिपादित नाट्य विधा “नाट्य शास्त्र” को रुपमा विद्वत् वर्गमा समादृत हुन पुगे भने लोक भावनाको प्रतिनिधित्व गर्ने लोक प्रदर्शन कला “लोक नाट्य” को रुपमा कालान्तरमा उल्लेख गरिए। तर नाट्यका शास्त्रीय विधा जस्तो यसको लेखन हुन सकेन। यो विधा पठन–पाठनमा न आए पनि मौखिक र परम्परागत रुपमा ग्रामीणहरुको कण्ठमा निरन्तर जीवित रहँदै आजसम्म बाँची रहेको छ।

(शिष्ट) लिखित नाट्यहरुको प्रारम्भ १६ औं शताब्दीदेखि भएको इतिहास रहेको छ, तर लोकनाट्य वा नाचको परम्परा चौधौं शाताब्दीदेखि प्रारम्भ भैसकेको थियो जो ज्यातिरीश्वर ठाकुरले आफ्नो “वर्णरत्नाकर” मा “लोरिक नाच” को चर्चाबाट ज्ञात हुन आउँछ।

अहिले पनि नोकनाट्य र नाचहरु विभिन्न रुपमा जीवित छन्। तर उसको अवस्था आजको प्रविधिमैत्री समयमा कमजोर हुँदै गइरहेको छ, जो चिन्ताको कारण भने अवश्य छ।

आजको समयमा आफ्नो विशिष्टताका साथ जनजीवनमा बाँच्न सक्ने लोकनाट्यहरु मध्य “जट–जटिन” सबैभन्दा बढी लोकप्रिय रहेको छ। त्यो नागरी मंच होस् अथवा ग्रामीण परिसर–लोकजीवनका अनेकौं तीता–मीठा प्रसंगका साथ लोकानुरंजनको आफ्नो दायित्व निर्वाह गर्दै आइरहेको छ।

शास्त्रीय नाट्य लेखनभन्दा लोकनाट्यहरु बढी समयसम्म बाँच्न सक्ने क्षमता राख्छन्। र यो विशेषता यसको पारम्परिक गेय पक्ष नै हो। शिष्ट साहित्यमा नाट्य लेखनको इतिहास सोह्रौं शाताब्दीपछि नै देखिन्छ भने लोकनाट्य वा नाचको तेह्रौं शताब्दीभन्दा पूर्वदेखि नै समाजमा प्रचलित रहँदै आएको ज्योतिरीश्वरीको “वर्णरत्नाकर” मा उल्लेख भएको “लोरिक” नाचबाट सिद्ध हुन्छ।

तेह्रौं शताब्दीभन्दा पनि पुरानो मानिएका यी लोकनाट्यहरु आज पनि मैथिली समाज भित्र आफ्नो उपस्थिति विभिन्न रुपमा देखाउँदै आएको छ। तर समय र बदलिँदो डिजिटल प्रविधिको आगमनबाट अलि पछाडि परेको मात्र हो।

मैथिली लोकनाट्यमध्ये सामाचकेवा, डोमकछ र जट–जटिन प्रमुख रुपमा आज पनि दखाइने गरिन्छ। मात्र महिलाकै सहभागितामा सम्पन्न हुने यी लोकधर्मी नाट्यहरु गीति विनिमयको आधारमा संवाद स्थापित गर्ने परम्परागत यस्ता लोकनाट्यहरु छन् जसलाई समाजकी निम्न वर्गीय ललनाहरुले आफ्नो जिह्वा र कण्ठमा बसाएर सयौं वर्षदेखि मनोरञ्जन गर्दै आएका छन्।

लोकनाट्य जट–जटिन
मिथिलाञ्चलमा सबैभन्दा लोकप्रिय यो लोकनाट्य भोजपुरी, बज्जिका, मगही क्षेत्रमा पनि प्रचलित रहेको छ, तर त्यसको मौलिक रुपमा मैथिली भाषी क्षेत्रमा मात्र प्राप्त गर्न सकिन्छ।

केही विद्वान्हरु यसलाई स्त्रीहरुको मनोरञ्जन ( डा.जगदीशचन्द्र माथुर ) गीतात्मक लघु प्रहसन ( डा.श्याम परमार) भनेका छन्। तर वास्तवमा जट–जटिन गीतभित्रका वस्तुस्थिति र यसको प्रदर्शनको समयलाई गम्भीरतापूर्वक मनन ग¥यौं भने यस लोकनाट्यभित्र सामाजिक पक्षका अनेकौं तरंगहरु बडो सावधानीपूर्वक समाविष्ट गरिएको हामी पाउनेछौं, जसले सामाजिक लोक जीवनमा आउने तत्कालीन र दीर्घकालीन प्रेम, विरह, अवसादलाई बडो सटिक रुपमा प्रस्तुत गरेको देखिन्छ। सम्भवतः मिथिलाञ्चलमा प्रचलित अन्य लोक नाट्यभन्दा जट–जटिनको बढी ग्राह्यता र लोकप्रियताको कारण पनि यही होला जस्तो लाग्छ।

एउटा खास समयमा यसको प्रदर्शन र त्यसले मौसम र समाज दुवैलाई आफ्नो गीति संवाद र अभिनयद्वारा प्रभावित पार्न सक्ने क्षमताको प्रदर्शन गर्न सक्ने अवस्था सृजना हुनु मामूली कुरा होइन। असाढ, साउन र भदौ महिनामा खेती गर्ने कृषक जब पानीको अभावमा त्राहीमाम् गरिरहेका हुन्छन्, आकाशमा हाम्रा पुर्खाहरुको गुहारमा बल प्रदान गर्न एउटा लोकविधि अपनाइ इन्द्रलाई प्रेम वा दबाबले प्रभावित पार्ने एक थरीको अनुष्ठान गरिन्छ–लोकनाट्य जट–जटिनको प्रदर्शनद्वारा। हो त्यही अनुष्ठानले गाउँकी सामान्य वर्गकी महिलालाई जट–जटिन गीति नाट्यको प्रारम्भ गर्नुुभन्दा अगाडि भ्यागुतो कुटेर एउटा घैंटोमा गोबर, मलमूत्र सँगै हालेर कुनै झगडालु महिलाको आँगनमा फ्याँक्ने विधि सम्पन्न गर्दछिन्। त्यसपछि ती महिला जति ठूलो आवाजमा गाली गर्छिन्, इन्द्रदेव त्यति नै प्रसन्न भएर वर्षाको आदेश दिनु हुन्छ भन्ने विश्वास छ।

उता गालीको स्वर कमजोर हुँदै जाँदा यता तम्तयार भै बसेकी महिला मण्डली दुई ग्रुप बनाई जट–जटिनको रुपमा दुई युवती नेतृत्व गर्दै अगाडि–पछाडि झुम्मिँदै नृत्यात्मक मुद्रामा गीत गाई आंगिक र वाचिक दुवै हिसाबले एउटा मनोरञ्जनपूर्ण प्रस्तुति गर्दछिन्। यसमा पुरुष पूर्णतः बर्जित हुन्छन् तर बच्चाहरुलाई प्रदर्शन हेर्न छुट हुन्छ।

सामान्य रुपमा जट–जटिन गीति लोक नाट्यको प्रस्ुतति केही घण्टाको हुन्छ तर यसलाई महिलाहरु एक–डेढ घण्टामा समाप्त गरी आफ–आफ्नो घर फर्कन्छिन्। यसमा उनीहरु जट–जटिनको सिलसिलेवार गीतहरुको प्रस्तुतिको सट्टा केही खास मुखडा र गीतहरु मात्र गाउँछन् र त्यही घैंटोमा कुटिएको भ्यागुतासहित कसैको आँगनमा फ्याँक्ने गर्दछन्। यति गर्दा पनि यसको पूर्णता भने न भएकै महसुस हुन्छ। त्यस कारण पनि नाट्य प्रदर्शनलाई लम्ब्याइने गरिन्छ। यसको कारणमा जट–जटिन लोक नाट्य एउटा पूर्ण कथात्मक प्रदर्शन हो जसमा विवाह, आपसी असमझदारी, विदेशिने पतिप्रतिको मोह, र अन्तमा मधुर मिलनको संयोग। यसभित्र सामान्य घटनाचक्र देखिन्छ, तर वास्तवमा जट–जटिनका यही सादगीपूूर्ण अभिलेखले यसको स्तर र जीवन्ततालाई अरुभन्दा बढी लोकप्रिय बनाउँछ। र यो लोकनाट्य समाजसँग बढी जुड्ने प्रयास गर्दछ।

आज ग्रामीण सरजमिनमा यस्ता लोकप्रिय लोकनाट्य देखाउनेहरुको अभाव होला, तर मंचमा, पर्दामा आएर यसले डिजिटल प्लेटफार्ममा पनि सक्रिय रुपमा आइ सकेको छ। खासगरी नागरी रंगमंचमा आज जट–जटिन र डोमकछ जस्ता लोकनाट्य अधिपत्य जनाइसकेका छन्। कलाकारहरु आफ्नो अभिनय क्षमताको आधारमा निकै हौसिएका हुन्छन्। यस्ता प्रदर्शनबाट। संरक्षणको हिसाबले यो राम्रो देखिए पनि मौलिकतामा निकै भिन्नता हुन गएको कारण परम्परागत स्वरुप खण्डित हुन पुगेको छ।

जट–जटिनमा सामाजिकता
“जट–जटिन” लोक नृत्य को दुई पाटा हुन्छन्। एक पानीका लागि इन्द्रलाई स्तुति गरी मनाइने प्रवृत्ति र अर्को हुन्छ लोकजीवनको यथार्थ चित्रण गर्दै जट–जटिनको विवाह, ससुराली प्रसंग, पति–पत्नीबीचको अन्तर संवाद, मिलन, वियोग, एक–अर्काका लागि छटपटिनु र अन्ततः आफ्नो वैयक्तिक इच्छालाई फालेर एक अर्काप्रति समप्र्रित भै गृहस्थीमा सहभागी हुनु। यिनै प्रसंगहरु हुन् यस गीति नाटिकामा।

प्रथम पक्षमा विचार गर्दा हाम्रो परम्परागत आस्थाका केन्द्रमा रहेका देवीदेवताहरुको पूजा–अर्चना गरी घर परिवारको सुख सम्पत्तिको कामना गर्ने प्रचलन हाम्रो समाजमा परापूर्वकालदेखि नै चल्दै आएको हो। तर मुख्यतः यस्ता पूजा अनुष्ठान परिवारका श्रेष्ठ पुरुषजनबाट नै सम्पादित हुने गर्दथे। यस्तो अवस्थामा तत्कालीन सामाजिक आवश्यकता र सोचकै कारण पनि महिलाहरु स्वतन्त्र रुपमा यस्ता धार्मिक अनुष्ठानमा सहभागी हुने गर्दैनथे। शायद ठूला–बडाको स्वीकृति नभएर होला।

यस्तो अवस्थामा ग्रामीण महिलाहरु, जो सामान्य ः अशिक्षित नै हुन्थे र उच्च वर्गकी महिलाहरुको शिक्षित परिवेशले परिष्कृत विधि–व्यवहारबाट दुःखी पनि रहन्थे, तिनीहरु एउटा सहज बाटो आफ्नो भक्ति प्रदर्शनको निकाले। रात्रिमा सामूहिक रुपमा आध्यात्मिक तुष्टि हुने, सांस्कृतिक चेतनाको प्रवद्र्धन हुने खालका केही पर्व, उत्सव, अनुष्ठानहरुको थालनी गरे। यस्ता पर्व, सांस्कृतिक उत्सव, अनुष्ठानहरुमा छठ, चौठचन्द्र, सामा–चकेवा, डोमकछ र जट–जटिनजस्ता सामुने आए जसमा मात्र महिलाहरुकै एकल आधिपत्य हुन थाल्यो। यस्ता उत्सव, पर्वहरु पारिवारिक सुख–शान्ति र आत्म सन्तोषका लागि समाजलाई महिलाहरुको तर्फबाट ठूलो देन थियो। स्त्री र पुरुषबीचको सहकार्यको पारम्परिक लोक विश्वास त्यतिखेर निकै प्रबल थिए। आजको समयको महिला आरक्षणको राजनीतिक व्यवस्थाको त्यति बेला जरुरी थिएन, समाजले त्यतिखेर पनि महिलाको उपादेयतालाई शिशु जन्म र पालन अतिरिक्त पनि स्वीकार गरी सकेका थिए।

लोक जीवनको यस्तै अनेकौं प्रसंगलाई जट–जटिन लोकनाट्यले आफ्नो कथानकभित्र राखेको छ। अकाल हुने प्रबल सम्भावनाबीच गाउँका पुरुषहरु पूजा–पाठ, एकाह, नवाह, सत्यनारायण भगवान्को पूजा आदि अनुष्ठानहरु पुरोहितहरुको सहयोगमा गरिरहेका हुन्छन्। यस्तो विपदको बेला महिलाहरु बीच एउटा चिन्तनको विकास हुन्छ। यो चिन्तन समाजमा व्याप्त लोकधारणामा आधारित रहन्छ। यदि वर्षातका प्रिय जीव भ्यागुताहरुलाई कुटेर कुनै झगडालु महिलाहरुको आँगनमा गोबर, मलमूत्रका साथ फ्यांकी दियो भने ती महिलाद्वारा दिइने गालीको प्रभावमा वर्षा हुनेछ। यसैलाई आधार बनाइ यस्ता विधि अपनाइए र गीत गाउँदै मनोरञ्जक माहोलमा गाली खाने परम्परा नै बसाल। कार्यक्रमपछि कहिले काँही त साँच्चिकै वर्षात पनि हुने गर्दथ्यो। पङ्क्तिलेखक को लेखन–संयोजनमा जनकपुरधाममा भएको एउटा यस्तै प्रदर्शन पछि झमझम पानी परेको अनुभव धेरैले स्वयं महसुस गरेका छन।

अकाल अवस्थाको एक चित्र हे-यौं –
“ हरबो ने लगैछै, कोदारियो ने लगैछै
  चौकी उछटि आरि लगैछै हो राम।
हाली–हाली बरसु इन्नर देवता
पानी विनु पडलै अकाले हो राम।।”
तराईको फाँटदेखि हिमालको काँखसम्म। लेखकः  रामभरोस कापडि भ्रमर। साझा प्रकाशन। पृ.३४ )

( खेत बाँझो भै सकेको अवस्था छ। हलो पनि जोत्न सकिरहेको छैन, कोदालो पनि खन्न सकिरहेको छैन। यस्तो अवस्थामा इन्द्रलाई गुहार्दै छिटो पानी दिन आग्रह गरिदै। )

लोक आस्थाको यो जीवन्त प्रस्तुतिपछि रातिमा आफ्नो मनोरञ्जनार्थ थप केही गुर्न प¥यो भन्ने ठानेर पुनः महिलाहरु लोकपरम्परामा चल्दै आएको लोक गीतलाई संवाद सम्प्रेषणलाई अभिनयद्वारा प्रस्तुत गरेर जट–जटिन लोक नाट्यको स्वरुप निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेले। यो स्वरुप कहिलेदेखि र कसरी भयो–इतिहास छैन। र यसको कारण भयो –इतिहास लेख्ने “पढुआ” समाजको यी निम्नवर्गीय सामाजिक, सांस्कृतिक गतिविधिप्रति उपेक्षाभाव राख्ने प्रवृत्ति। तर पनि महिलाहरुले यसलाई समन्वयका रुपमा प्रस्तुत गरी यस लोकनाट्यको दोश्रो पक्षलाई सबल रुपमा समाजमा स्थापित गरे। यस खण्डमा महिलाहरु दुइ गुटमा विभक्त भइ आ–आफ्नो गीति संवादहरु खुट्टा र हात चलाउँदै बोल्न थाले। यी संवादहरु लोक जीवनका विविध पक्षको सटिक उपस्थापन हुने गर्दथ्यो। आज सम्म पनि जे जति रुपमा जट–जटिन लोकनाट्यको स्वरुप पाप्त हुन्छ, त्यो यो सत्यलाई सही प्रमाणित गर्दछ।

लोक जीवनका विभिन्न पक्षबारे सन्देशमूलक ढंगले “जट–जटिन” को जीवन चरित्रका पक्षहरुमा घटित घटनाले समाजलाई देखाउँछ। यथा–

मान–सम्मान
जटिन धनी घरकी हुन्छे। जब बिहे गरेर जटको घरमा आउँछ त्यति बेलादेखि नै उसलाई आफ्नो बुवाको घरमा प्राप्त दुलार–प्रेमको प्रदर्शन अरुबाट हुनु पर्ने यहाँ पनि अपेक्षा गर्छिन्। माइतीमा बिताएका क्षणहरुलाई ससुरालीमा जीवन्त गर्न चाहन्छिन्। तर जटको कमजोर आर्थिक स्थितिमा यो सम्भव थिएन। त्यसैले रोक्ने प्रयास गर्दछ–

“ जट–लिब कऽचलही गे जटनियां, लिबकऽचलही गे,
  धनमा मे सीस जइसन लिबही पडतउ गे।
  जटिन–नहिए लिबबौ रे जटा, नहिए लिबबौ रे,
  हम त बाबू के दुलारि धिआ, ऐंठ कऽ चलबौ रे।।”
          ( लोक नाट्य जट–जटिन। प्र.अभिनय पकाशन, पटना, रामभरोस कापडि भ्रमर। पृ.६४ )

नवविवाहितालाई मान–सम्मानबारे सचेत गर्ने प्रयास गरिन्छ। सासू, ससुरा अगाडि विनम्र हुनुपर्ने, धानको सीसजस्तै गर्धन झुकाएर सम्मान गर्नुपर्ने आग्रह जटा जति गरे पनि जटिन आपूm बुवाको दुलारी धीआ (प्रिय छोरी) भएकीले जसरी मन गरे हिन्ने भन्छिन्। यहाँ सामाजिक लोक व्यवहारका कुराहरु सामाजिक आदर्शका मन्त्र वाक्य थिए, जो घर–आँगनमा नै लोक रीतिद्वारा सिकाउने गरिन्थ्यो। जट–जटिनबीचको संवाद कहिले काहीँ विवादको कारण पनि हुने गर्दथ्यो। जो सामान्यतः घर परिवारमा हुने पनि गर्दछ। रिसाएर जटिन माइती जान लाग्दा जट मनाउँदै भन्छ –

“जट –चीनमा (एक प्रकारको खाद्यान्न ) बुनलियौ गे जटनियां, चीनमा  बुनलियौ गे।
     तु जाइछे नैहरबा चीनमा के कमइतै गे ?
 जटिन–मइया कमइतौ रे जटवा, वहिनियां कमइतौ रे, एमरी समइया
       जटबा नैहरे गमइबै रे। ”
                                                          ( त्यही पृ.–६५ )
चीन (एक प्रकारको अन्न) खेतमा छरेको र त्यो उम्रेपछि त्यसमा लाग्ने दाना काट्ने काम तिमी माइती गएपछि कसले गर्लान् त –भन्ने प्रश्न गर्दा जटिन बडो स्पष्टताले भन्छिन्–तिम्री आमा र बहिनी काट्नेछिन्। म त यसपाली माइती नै बस्नेछु।

यस प्रसंगमा सासू र बुहारीबीचको खटपटलाई इंगित गरिएको छ। यो सामाजिक विडम्बना नै हो सैयांै वर्ष पूर्वदेखि चल्दै आएको यो लोकगीतले देखाएको यो प्रसंग आज पनि त्यही रुपमा हाम्राअगाडि आउने गर्दछन्। सम्भवतः यसैलाई कालजयी आख्यान भनिन्छ। गीतहरुको यही विशेषता हुन्छ– ती सदैब सम–सामयिकताका विशिष्ट गुण आपूmभित्र समेटेकै हुनाले समाज त्यसलाई अपनत्व ग्रहण गर्न अपठ्यारो मान्दैनन्।

एउटा प्रसंग छ– आपसी खटपटमा परेर जटिन ससुराली त्यागी माइती गइन्। त्यसपछि जटले जुन असुविधा, खालीपन र अपठ्याराहरु सामना गर्नुपर्ने अवस्था आयो त्यसले दाम्पत्य जीवनको यथार्थलाई देखाउँछ। लोकनाट्यमा यो प्रसंग अत्यन्त मार्मिकरुपमा आएको छ।
 जट व्यग्र भएर आफ्नो पीडा पोख्छन् –
“तोरे बिनु अंगनामे दुभियाँ जनमी गेल, गे जटिन,
 सेजिया पर मकडा बिआय गेल गे जटिन, तोरे बिनु..।”
आँगनमा दुभो उम्रिसकेको, सुत्ने ओछ्यानमा माकुराको जालो छरपस्ट भएको– तिमी न भएर नै हो।
कर्मजीवी जटले आफ्नो सबै कामधाम छोडेर विरह वेदनामा छटपटिएर गाउँ–गाउँ घुमी आफ्नी श्रीमती (जटिन) लाई खोज्न निस्कन्छन्। अनि फकाएर ल्याउँछन् पनि।

आफ्नो सुखमय दाम्पत्य जीवनमा घर खर्च टार्न “विदेश” कमाउन जानुपर्ने बाध्यता जब जटिनलाई बताउँछन्, उनी त्रसित हुँदै “मोरंग” जान रोक्छिन्।

वास्तवमा जटिनको खर्च अली बढी नै भएकोले पनि परिवारमा सन्तुलन आउन सकेको हुँदैन। “दरोगा बुवा की छोरी” जटिनको फरमाइशहरु पूरा गर्दा–गर्दै जट परेशान रहन्छ। खासगरी “हँसुली” (चानीको गलामा लाउने गहना), मंगटिका ( सुनको गहना) आदिको माग बढेपछि जट बाध्यतावश त्यतिखेर यस जनपदको कमाइ गर्ने थलो “मोरंग” जान इच्छा व्यक्त गर्दछन् –

“मोरंग–मोरंग सुनियै गे जटिन, मोरंग हमरा जाय दही गे जटिन।
 मोरंङ से हंसुली लऽ अयबौ गे जटिन, तोहरा पहिराए हम देखब गे जटिन। ”
मोरंगको नाउँ सुनेपछि जटिन सिरिंग हुन्छे। मोरंगमा पानी लाग्ने गर्दथ्यो रे। त्यहाँ डाकनी, योगिनीहरु हुन्थे। मानिसलाई सुगा बनाएर घरमा राख्ने गर्थिन्। वास्तवमा यो जनधारणा तत्कालीन समाजमा निकै व्याप्त भएको देखिन्छ। लोकगाथा सलहेसको कथामा पनि मोरंगकी मालिनीहरुको प्रसंग प्रमुखतामा आएको छ –जसको जादु–टुनाबाट अनेकौं पटक सलहेसलाई अपठ्यारोमा पारेको थियो।

यसबाट जट–जटिनको प्रारम्भिक समयको आँकलन गर्न सहयोग पुग्न सक्तछ– त्यही छैटौंैं–सातौं शताब्दीदेखि बाह्रौं शताब्दीको बीचसम्म।
यहाँ प्रसंग जटको हो। पत्नी जटिन ठाडै अस्वीकार गर्छिन्–
“मोरंगके पनियां कुपनीयं छै हो जटा
 लागि जयतौ कोढ करेज हो जटा
 मोरंगके छौरी सभ जोगनियां हो जटा
 उलटियो ने आब देतो हो जटा..
 रहि जाहो रे जटा नैना के हजुर।”
     ( जट–जटिन, डा.मौन। महनार (वैशाली ) २००५ ई.)

एउटा असल दाम्पत्यमा रमेका जोडीको आपसी प्रेम र समर्पणको यो अत्यन्त घतलाग्दो उदाहरण हो। जब आफ्नो भविष्यप्रति वा आफ्नाप्रति, बालबच्चाको जीवनप्रति कतै संकटको भान भयो भने आफ्ना सबै इच्छा, सुख–सौन्दर्य सबै बिर्सेर आफ्नो सुखी पारिवारिक जीवनलाई बचाउन अग्रसर हुन्छन् पति–पत्नी। “जट–जटिन” लोकनाट्यको यो प्रसंग यसको सबैभन्दा सशक्त र अनुकरणीय प्रसंग हो।

आफ्नो पारिवारिक जीवनमा सुख–सुविधा भोगेकी जटिन जहिले पनि जटलाई आफ्नो सुख–सुविधाका सामग्रीहरु, गर–गहनाहरु ल्याइ दिन करै गर्दथे। तर जब “मोरंग” जान भनेपछि त्यहाँको पानी र जादु–टुनाको प्रकोपबाट पतिलाई बचाई राख्न सबै थोक बिर्सन्छिन् र भन्छिन् –भो मलाई अब केही चाहिएन। तपार्इं मात्र मेरो आँखा अगाडि बसिरहनोस्, बस।

सैयौं वर्ष पुरानो सामाजिक अवस्थामा व्याप्त यो चिन्तनको सटिक चित्रणले जट–जटिन लोक नाट्यलाई आज पनि जीवन्तता प्रदान गर्दछ। यसले अकालको समयमा, वर्षाको अभावमा जहाँ लोक रीतिद्वारा इन्द्रलाई प्रशन्न गर्ने प्रयास गर्दछ भने त्यही त्यती बेलाको पारिवारिक अवस्थाको मसिनो उतार–चढावलाई पनि आफ्नो गीतिशैलीको माध्यमद्वारा सार्वजकिन बनाउने काम गरेका छन्।

सारमा
लोकनाट्य जट–जटिन लोकजीवनमा सामान्यतः घटित हुने परम्परागत सामाजिक आहार–व्यवहारका जीवन्त दस्तावेज हो, जसले तत्कालीन सामाजिक मान्यता, विश्वास र विधि–विधानलाई गीति–संवादको माध्यमद्वारा मनोरञ्जनार्थ प्रस्तुतीकरण गरी महिला सशक्तीकरण र तिनका उपादेयताको मान्यतालाई स्थापित गर्ने प्रयास गरेको छ।

सन्दर्भ सामग्री
१. जट–जटिन÷सामा–चकेवा –श्री अनिल पतंग, बेगुसराय, २००१ ई.।
२. जट–जटिन–पं.राजेश्वर झा, विहार रिसर्च सोसाइटी, पटना १९७४ ई.।
३. हाली–हाली बरसु इन्नर देवता–(आलेख)ः भ्रमर। मथिला मिहिर, पटना, १७
   जुलाई १९७७ ई.।
४. लोकनाट्य जट–जटिन, विहार सांस्कृतिक विशेष अंक, जुलाई १९९७ ई.
५. पूर्वाञ्चलीय लोक साहित्य, चेतना समिति, पटना १९७४ ई.।
६. जट–जटिन –रामभरोस कापडि भ्रमर, अभिनय प्रकाशन, पटना २००७ ई.
७. तराईको फाँटदेखि हिमालको काखसम्म–रामभरोस कापडि भ्रमर,
   साझा प्रकाशन, २०६७ साल।
८. मिथिलाक सपूतः राजा सलहेस–भ्रमर, प्रकाशक भोर, जनकपुरधाम  
   २०७५ साल।
९. मैथिली लोक संस्कृति,–भ्रमर, जनकपुर ललित कला प्रतिष्ठान, २०६६
   साल।
१०. मिथिलाके पारम्परित लोक नाट्य–डा.मौन, गौहाटीमे पठित आलेख।
११. मैथिली संस्कृतिः विविध आयाम–भ्रमर, नेपाल प्रज्ञाप्रतिष्ठान, २०७५।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App