६ वैशाख २०८१ बिहीबार
समाज

कृष्ण अधिकारी हत्या प्रकरण: फेरि पेशी सर्‍यो

चितवन–जिल्ला अदालतका न्यायाधीश अनुपस्थित हुँदा मंगलबार फैसला हुने सम्भावना रहेको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि चर्चित मुद्दाको फैसलाको दिन फेरि लम्बिएको छ। सो मुद्दाको नयाँ पेशी मंसिर १२ लाई तय भएको चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए।

फुजेलका कृष्ण अधिकारीको माओवादी सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा हत्या भएको थियो। सो सम्बन्धमा चितवन जिल्ला अदालतमा अढाइ वर्षअघि मुद्दा दायर भएको थियो।  सो मुद्दामा चितवन जिल्ला अदालतमा असोज ९, १० र ११ गते कानुन व्यवसायीले बहस गरेका थिए । तर फैसला हुने दिन अझै लम्बिएको छ।

‘जिल्ला न्यायाधीश टेकनारायण कुँवरलेज्यु विदामा भएको हुँदा पेशीकालागि मंसिर १२ गतेको नयाँ मिति तय भएको छ। मौखिक बहसकै आधारमा अन्तिम फैसला आउने प्रचलन रहे पनि यो मुद्दा संवेदनशील भएका कारण लिखित बहस नोट पनि माग भएको छ।

बहस सकिए पनि अदालतले अन्तिम फैसला नसुनाएर कानुन व्यवसायीलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको थियो। असोज ११ मा भएको सो आदेश अनुसार कात्तिक पाँच गते पक्ष विपक्षका कानुन व्यवसायीले अदालतमा लिखित बहस नोट पेश गरेका थिए। लिखित बहस नोट पेश भएपछि अदालतले कात्तिक २३ अर्थात मंगलबारलाई मुद्दाको पेशी तोकेको थियो।

‘जिल्ला न्यायाधीश टेकनारायण कुँवरलेज्यु विदामा भएको हुँदा पेशीकालागि मंसिर १२ गतेको नयाँ मिति तय भएको छ’, सूचना अधिकारी बरालले भने। मौखिक बहसकै आधारमा अन्तिम फैसला आउने प्रचलन रहे पनि यो मुद्दा संवेदनशील भएका कारण लिखित बहस नोट पनि माग भएको बरालको भनाइ छ।

सो मुद्दामा प्रतिवादीका तर्फबाट १३ जना, मुद्दा दिने निवेदकको तर्फबाट सातजना र दुईजना सरकारी वकिलले बहस गरेका थिए। अधिकारीको विंस २०६१ सालको जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो। मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

लामो समयसम्म कारवाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। उनीहरु अनशनसमा बसेका लामो समयपछि प्रहरीले विंस २०७० साल साउनबाट सो उजुरीका बारेमा अनुसन्धान सुरु गरेको थियो। उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि उजुरी विरुद्ध अनुसन्धान पूरा भइ विंस २०७० सालको चैत्र मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदातलमा सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए। सबैलाई जन्म कैद माग गरिएपनि प्रमाण नुपग्ने भन्दै अदालतले सो समयमा समातिएका दुईजनालाई धरौटीमा छाडेको थियो।

अदालतबाट आएको सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तहरु पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए। बयान दिन आएका मध्ये केही साधारण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए। सो मुद्दामा एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी भने अदालतमा अझैसम्म उपस्थित भएका छैनन्।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेश विरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमासमेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नु पर्ने आदेश भएको थियो। तर उनी पक्राउ भने परेका छैनन् । अनशनकै क्रममा कृष्णप्रसादका बुबा नन्दप्रसादको ज्यानै गएको छ। उनको हालसम्म दाहसंस्कार पनि भएको छैन्।    

 

प्रकाशित: २३ कार्तिक २०७३ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App